~रुमानी राई~
मेरो,
जीवनको घुर्यानभरि
तिम्रा प्रश्नहरुको चांग लागेका छन्
म हैरान छु
तिम्रा प्रश्नहरुको प्रतिउत्तरमा……
घाम चरक्क चर्केको छ
तिम्रो कठोर हृदय जस्तै
र,पसिनाले खलखली छु म
जीवनका गर्तहरुमा !
हो,
यसरी नै मप्रति
तिम्रो त्यो हृदयमा
विक्षिप्त घृणाहरु उमारिरहनु
र,घृणा गरिरहनु मलाई सधैंसधें
म धूलो बनेर
मैल्याइरहनेछु तिम्रा सुकिला पाइतालाहरू
तिमी,
टक्टक्याइरहनु धूलोहरू
जीवनभर !
फेरिपनि भन्छु म
मेरा गल्तिहरु स्वीकार्य छन् मलाई
तिम्रा दोष र लान्छनाहरुलाई स्वागत छ
यत्ति हो,
मन भएर पनि
आफ्नै वचनसंग हारिरहेछु अझै
तिम्रो गुनको ऋण तिर्न असफल छु अझै
र,तिम्रो दृष्टिमा सायद
म लुच्चा सावित भएको छु अहिले,
मलाई थाहा छ
धैर्य गर्न नसके पछि
मूर्खहरू – मुख फोर्छन्
ज्ञानीहरु – तुक जोड्छन्
र,विद्वानहरु – दु:ख गोडछन्
हो,
तिमीले ठिक भन्यौ
म, म नै हुँ
सधैं म नै रहने छु
केवल म
तर,म हुनुको अर्थमा
कसैको परिश्रम र पसिनामा रमाउन सक्तिन म
कसैको आस्था र विस्वास निर्मम कुल्चेर
झुठो विपना सजाउन सक्तिन म
र,कुरूप रंगहरुले
यो सुन्दर जीवन रंगाउन सक्तिन म ! …..
(स्रोत : रचनाकारको फेसबुकबाट सभार)