~काङमाङ नरेश राई~
ऊ—
थुम
गढी
पुर
र किल्ला छोडी
मायाको लुकुनी ओढी
काँधमा थोत्रो झोलो बोकेर
झिसमिस नहँुदै
अगुल्टो हल्लाउँदै
सिमसिम पानी ओढ्दै
लालकिल्ला हिँडेको हो
विरक्तिएको स्वर निकालिरहे गाउँका कुकुरहरूले
रुँदै विदा गर्न पाएनन् छिमेकीहरूले
डोलिएर आएको युद्घको धावा
पड्किरहेको बन्दुक उसले सम्झियो
कहाँसम्म पुग्ने हो सिपाहीँको जिन्दगी ?
कसलाई कहाँ अभरमा पार्ने हो युद्घले ?
घरको याद आँखैमा बोकी
चिसो मौसममा
क्याम्प छोडी युद्धमा हिँडेको थियो
कतै घाइते पो भयो कि ?
कतै वीरगति पो पायो कि ?
२०० वर्ष भयो
कुनै खुटखबर केही छैन
उसको छाँया तस्विर आँखामा
एकनासले सधैँ खेलिरहन्छ
उसको याद र सम्झना
उसैगरी दोहोरिँदै आइरहन्छ
उसको लागि एक गज कात्रो
एक मुठी माटो
किन र कसरी
यो देशले दिन सकेन ?
२०११ अगष्ट ११
(स्रोत : एबिसिखबर डट कम)