~डा. बेञ्जु शर्मा~
कैयौँ वर्षअघिदेखि
मेरो कोठामा
झुन्ड्याइएको थोत्रो तस्बिर
कीरा–मुसाले खाइसकेको
झम्पाट तस्बिर
बानी परेको आँखाले मात्र
ठम्याउन सक्ने
एउटा थोत्रो आकार
ठिङ्ग उभिइरहेको तस्बिर
मेरी बज्यैले पूजा गर्दै आएको
यो तस्बिर
मेरी आमाले सगौरव झुन्ड्याएको
यो तस्बिर
आज,
मेरा आँखामा खड्किरहेछ
आस्थाको पनि
एउटा परिधि हुँदो रहेछ
विश्वासको पनि
एउटा सीमा हुँदो रहेछ
अब,
आगोको रङ्गले
पोतिदिन्छु यो तस्बिरलाई
चारै कोणहरू ढपक्क ढाकिदिएर
एउटा बल्दो सलाई
राखिदिन्छु बीचमा
बस, बीचमा ।