~राम श्रेष्ठ~
चम्किलो त्यो सूर्यको किरण,
फेरि अन्धकार रातमा हराउन पुग्छ,
अनकन्टार त्यो कहालि लाग्दो दहमा,
निर्मल यि भावनाहरु डुब्न पुग्छ,
कठैबरा यि भावनाहरु चर्किन खोज्छ,
यि मनहरु त्यसै-त्यसै अतालिन पुग्छ,
आँखाहरु सुस्ताएर बन्द हुन खोज्छ,
बिश्वाशको धागो फेरि चुंडिएको जस्तो लाग्छ,
तर….., तर हे बिचलिएका भावनाहरु,
अतालिदै रोएको तिम्रो मनहरु,
सुस्ताएर अचल भएका आँखाहरु,
अनि अन्धकारमा हराएका दिनहरु,
पिर नगर,
ति हिमाल छुने सूर्यका किरणहरु,
भोलि फेरि फर्केर आउनेछन,
रात्रि त केवल मार्ग हो गन्तब्यको,
दिन भोलि सूर्य फेरि टक्र्याउने छन,
सपनिहरु फेरि किन भत्किन खोज्छन?
पाईलाहरु डगमगाई किन ढल्न खोज्छन?
आशाको दियोहरु बिस्तारै निभ्दैछ,
अनि आँशुका थोपाहरु परेली कै बाटो किन रोज्छ?
तर…..,तर हे भत्किएका सपनिहरु,
डगमगाई लर्बराई रहेका पाईलाहरु,
निभ्न लागेका दियोको अन्तिम किरणहरु,
अनि आँशुले भरिएका प्रिय परेलीहरु,
किन चिन्ता गर्छौ, किन पिर मान्छौ,
के बगेको अनमोल आँशुहरु नरोकिएला त??
किन निराश हुन्छौ, किन हरेस खान्छौ,
के भत्किएका सपनिहरु फेरि पुरा नहोला त???
13 May 2008
(स्रोत : रचनाकारको ब्लगबाट सभार)