~बाबुराम पन्थी ‘गुल्मेली’~
कार्तिक महिना दोपहरको समय । न गर्मी न त चिसोको अनुभूती । दाजुभाई भित्र मौरो परेकोले क्रियापुत्री लाई भेट्न पँधेरामा पुग्दा थुप्रै दाजुभाई नाता गोताहरूको जमघट थियो । सायद छठ पर्वको सार्वजनिक विदाको दिन भएकोले पनी दाजुभाई विचको यो उपस्थिती संभव भएको थियो होला । मानौ यो कुनै मातम भन्दा पनी मेला लागे जस्तै थियो । हामी पन्थीहरूको बाहुल्य बस्ती भएको प्राकृतिक सौन्दर्यले सजिएको तम्घास नगरीमा ।
समय व्यतित गर्नको लागी समुह समुहमा विभाजित भएर कोही समसामयिक राजनिति माथी आफ्ना विष्लेषण त कोही आसन्न हुन गैरहेको गणतान्त्रिक नेपालको पहिलो केन्द्रिय र संघिय निर्वाचनका संभावित उमेद्वारहरूको चर्चा गर्दै थिए भने कोही सुन्दर नगरी तम्घासको शिर तपोभूमी रेसुड्गा लाई पर्यटकिय स्थलको रूपमा विकास गर्नको लागी यो वा त्यो गर्नु पर्छ भन्ने छलफलमा थिए ।
उल्लेखित बहसहरू निकै पटक सुन्दा सुन्दा र काम केही नभएको देख्दा दिक्क भएको मेरो मन लाई भने नेत्र दाईको आवाजले आकर्षण गर्यो । अधिकांश दाडी कपाल फूलिसकेका सट पाईन्ट स्टकोट ढाका टोपी र गोल्ड स्टार जुत्ता लगाएका उनले हाम्रो नेपाली समाजमा मौलाउँदै गईरहेको अनेक सामाजिक विकृती माथी व्याड्ग्यात्मक रूपमा चोटिलो प्रहार गर्दै थिए । त कहिले उनले भोगेका भोगाईको बारेमा कलात्मक शैली बाट प्रस्तुत गर्दै थिए उनका रसिला र हँसिला व्याड्गात्मक कुराहरू सुन्न थालेँ ।
पहिले उठाएको विषयको विट मार्दै उनले अँगाडी नयाँ प्रसंगमा यसरी भन्दै गए ।
विक्रम संवत दुई हजार सत्ताईस साल तिरको कुरा हो । हाम्रा गाँऊमा मरासिनी माईला बा को छोरा टोपे लाउर बाट आँउदा एउटा रेडीयो लिएर आएको रहेछ । पहिलो पटक गाँउमा देखिएको त्यो रेडीयो हेर्नेको भिड हुन्छ भन्ने सुने पछी म पनी मरासीनी माईला बा को घर पुगें । त्याँहा पुग्दा रेडीयो लाई गुद्री ओछ्याएर दलानमा राखिएको थियो । हेर्नेहरूको जमघट थियो उनिहरू विच रेडीयोको बारेमा आ आफ्ना कौतुहत र टिका टिप्पणी हुन्थे । कोही भन्थे यती सानो डब्वा भित्र कती धेरै मान्छे अट्न सकेका ? कोही भन्थे कस्तो भोक प्यास लागे होला विचराहरू लगातार बोलीरहेका छन् गाई रहेका छन् लौ बाहिर बोलाएर केही खान दिनु पर्यो ।
म बाह्र तेह्र वर्षको थिंए मलाई पनी कौतुहल लाग्यो एउटा चारपाटे सानो कालो डव्वा भित्र यस्तो चर्तिकला ? कसरी संभव भए होला ? मैले रेडीयो लाई आठ दश पटक परिक्रमा गरे भित्रका ति बोलीरहने मान्छे देखीन्छ की भनेर । कोही देखीन अनी रेडीयोको अँगाडी बसें विच भागमा केही प्वालहरू परेको देखें कौतुहल जाग्यो मन मनै खुशी भँए अब त यी प्वालहरू बाट पक्कै ती रमाईलो गरिरहेका बोलिरह्का मानीसहरूको जमात लाई देख्ने छु । मेरो तिव्र ईच्छ्या पुरा गर्न रेडीयो को अँगाडी नजिकै सुतेर ति प्वालहरू बाट नियालेर भित्र हेंरे तर प्वाल बाहेक भित्र केही नदेखे पछी निरास भए तर पनी त्यो अद्भूत रेडीयो भने सुनीरहे ।
मरासिनी माईला बा को घरमा मेला लागे जस्तै हुन्थ्यो । लाहुरे टोपेले घरमा एक दिन रेडीयो खोलिदिएर लाहुर बाट ल्याएको साथीको पार्सल पुर्याउन अर्घाखाँचीको डिवर्ना तिर लागेछन् । गुल्मीको सिमीचौर बाट हिंड्दै डिवर्ना पुगेर साँझ फर्किन संभव थिएन। दिन भर रेडीयो सुन्नेको भिड भए पनी साँझ माईला बा को परिवार भन्दा अरू कोही भएन । रेडीयो लाउरे टोपे ले नै बन्द गर्ने र खोल्ने गर्दो रहेछ। रात छिपीदै गयो टोपे आज घर फर्किने संभव नै थिएन । माईला बा लाई त्यो रेडीयो कसरी बन्द गर्ने भन्ने पिरले सताउन थाल्यो । सधै राती टोपे सुत्ने बेलामा रेडीयो बोल्न छोड्थ्यो ,सायद उ पनी टोपे सुते पछी सुत्छ होला भन्ठानेर साँझको खानपिन पछी माईला बा ले रेडीयो लाई विस्तारा लगाएर आफू संगै सुताएछन् तर रेडीयो सुतेन बोलिरह्यो । माईला बा लाई झन् चिन्ता लाग्यो विचराहरू दिन भर बोलीरहदा कती थाके होलान कुनै पनी हालतमा सुताउनु त पर्यो , फेरी सुताउन सकिएन भने भोली छोरो टोपे घरमा आएर के भन्ला ? गाँउमा यो रेडीयो लाई सुताउन सक्ने अर्थात लाहुरे टोपे भन्दा अरू कोही छैन । माईला बा लाई आपत पर्यो । माईला बा ले चिने जानेका सबै लाहुरेहरू लाई एक एक गरी सम्झिदै जाँदा केहीदिन पहीले भेट भएको पारी गाँऊको सिमलारूखे कान्छोको याद भएछ ।
माईला बा ले रेडीयो लाई आफू संगै साथ लिएर जाने आँट गर्न सकेनन् । रेडीयो घरमै छाडेर रेडीयो बन्द गर्न सहयोग लिनको लागी सिमलारूखे कान्छो लाई लिएर आउने निधो गरे । पालीमा सिउरिएर राखीएको केही फोस्राको सिठाहरू सल्काए र राँको बाले भने केही सिठाको मुठो पारी फर्कीदाको लागी जोहो गरी घरबाट निस्किए छन् । पल्लो गाँऊ पुग्न खहरे तरेर जानुपर्ने अंधेरी रात राँकोको साहारामा कान्छो आएर बन्द गरीदिने हो की होईन वा उ पनी अंजान छ ? यसो भो भने मेरो हिडाई फगत दु:ख मात्र हुनेछ । र भोली छोरो घर फर्कीदा रेडीयो लाई केही भयो भने के दवाफ दिने ? माईला बा यस्तै मनोभाव बोक्दै कान्छोको घरमा पुगे छन् ।
लाहुरे कान्छा ? सिमलारूखेको आँगनमा पुगेर माईला बा ले टाठो स्वरमा बोलाएछन् । सबै जना सुतीसकेको कुरा एकिन गरे माईला बा ले घरका झ्याल ढोकाहरू बन्द थिए भने उज्यालोको रोसना घरमा कतै देखिएन । माईला बा फसादमा परे अब के गर्ने ? सुती सकेका लाई कसरी उठाउनु ? नउठाँऊ भने मेरो रेडीयो कसरी नबोल्ने गराउनु ? दुविधामा रहेका माईला बा ले जे सोंचे पनी सोंचुन उठाउनै पर्यो भनी ढोका ढक ढकाएछन् ।
भित्र बाट महिलाको आवाज आयो को बोल्नु भो यो रात विखयमा ?
म हो क्या साँईली बज्यै सिमीचौरे मरासीनी माईलो , एउटा जरूरी काम पर्यो के कान्छोलाई भेट्नु पर्ने ।
भित्रै बाट आवाज आयो एकै छीन पर्खिदै गर्नुस म कान्छो लाई उठाँऊँछु ।
भै हाल्छ नी बज्यै ।
केही बेर पछी दियालो बालेर आमा छोरा बाहीर निस्किदै सोधे
के काम परे होला कुन्नी यस्तो रात विखयमा दुख पाउनु भएछ ?
ए…. त्यो टोपेले एउटा रेडीयो लिएर आएको थियो बिहान उठेर पार्सल पुराउन डिवर्ना साथीकोमा गएको आज आउने कुरा भएन गाँउमा त्यो रेडीयो लाई नबोल्ने बनाउने मान्छे कोही भएन कान्छो त लाउराँ बसेर आएको उसलाई था भए सहयोग गर्थोकी भनेर आ’को ।
कान्छोले भन्यो रेडीयो लाई नबोल्ने बनाउन त जान्या छु माईला बा तर यो रात विखयमा कसरी पारी गाँऊ पुगेर आउन सकिन्छ र माईला बा ?
लौन बाबु यती सहयोग गरीदेऊ म बुढो मान्छे उती टाढा बाट आँए नाई नभनन !
बज्यैले टाठो श्वरमा भनिन् लौ यस्तो चकमन्न रातमा त म कान्छालाई पठाउन सक्दिन । कतै केही भैहाल्यो भने ?
होईन बज्यै कान्छो लाई सुत्न मेरो विस्तारा छाडी दिन्छु बरू अरू के गर्नु पर्छ गर्न तयार छु भन्नुस् ।
बाजे अरू त केही गर्न पर्दैन कान्छो लाई उतै सुताउनु हुन्छ भने पनी यो रात विखयमा ज्यानको बाजी लगाएर सुतेको मान्छे उठेर तपाईकोमा जानु परे पछी कमसेकम एउटा पर्मो त तिर्नु पर्छ है ! नभए जाँदैन कान्छो ।
ल…ल ठिकै छ एउटा पर्म तिर्ने भँए बज्यै !
लाहुरे कान्छोलाई रेडीयो नबोल्ने बनाउन घरमा ल्याउन पाएकोमा माईला बा खुशी थिए । उनीहरू माईला बा को घरमा पुग्दा पनी घरपरीवार रेडीयोको वरी परीबसिरहेका रहेछन् । माईला बा ले लाहुरे कान्छोको प्रशंसा गर्दै परीवारका सदस्यहरू लाई अब कान्छोले रेडीयो लाई नबोल्ने बनाउँछ भन्दै थिए यत्तिकौमा लाहुरे कान्छोले रेडीयोको अँगाडीको भागमा दाहीने पट्टी रहेको एउटा सानो ठेटोको टुक्रा जस्तै देखिएको लाई एस्सो घुमाऊँदा प्याट्ट मसिनो आवाज आयो र रेडीयो नबोल्ने भयो । माईला बा र उनको परिवार छक्क पर्दै लाहुरेकान्छो लाई हेरेको हेर्यै भए ।
बाबुराम पन्थी ” गुल्मेली ”
तम्घास गुल्मी
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )