उहिले उहिले
पेन्सन पकाएर फर्किएको
लाहुरेले
आफ्नो स्मृति कथा सुनाउदा
क्रसफायरिङ्गका कुरा गर्थे
हामी केटाकेटी
रोमाञ्चक भएर सुन्थ्यौ
र सोध्थ्यौ
क्रसफायरिङ्ग भनेको के हो ?
उसले भन्थ्यो
मलायाको जंगलमा
ड्याम्म…डुम्म…आवाजसंगै
आगाका झिल्काहरु
माथि आकासमा देखिन्थे
उसले भन्थ्यो
वोर्नियोको जंगलमा
ड्याम्म…डुम्म…आवाजसंगै
आगाका फिलुङ्गाहरु
छेउ मै आईपुग्थे
उसले भन्थ्यो
मलाया र वोर्नियोको जंगलमा
क्रसफायरिङ्गले
धेरैले यो देश देख्न पाएनन्
धेरैले यो देश र्फकन पाएनन्
त्यसवेला
आफ्नो छातीमा झुण्डिएको
मेडल छाम्दै
उसको आखामा
मोती जस्तै आसु खसेको देख्यौ
हामी केटाकेटी
उ रोएको देखेर जिस्क्याउथ्यौ
हाम्रो अवोध मस्तिष्कमा
क्रसफायरिङ्गको
अर्थ खुलेन त्यसवेला
हामीले सम्झ्यौ
जंगलमा खेलिने आगोको खेल
र सोच्यौ साह्रै मज्जा हुदो हो
क्रसफायरिङ्ग
आज ती लाहुरे छैनन्
तर क्रसफायरिङ्ग
धेरै पछि
मलायाको जंगलवाट
वोर्नियोको जंगलवाट
यो देशमा सरेकोछ
वल्ल थाहा भयो
दशवर्षसम्म चलेको
क्रसफायरिङ्गमा
कति त्रास हुदोरहेछ
कति दर्दनाक हुदोरहेछ
कति विनास हुदोरहेछ
आज हरेक नेपालीलाई
थाहा भएकोछ
क्रसफायरिङ्ग भनेको के हो ?
अव हामीले
कुनै निवृत भएको लाहुरेको कथा
सुनि रहनुपरेन
कुनै उदाहरण
पेश गरी रहनुपरेन
किनकी हामी सवै
क्रसफायरिङ्ग मुनिको
लाहुरे भएकाछौ
र हाम्रो देश
मलायाको जंगल वनेको छ
वोर्नियोको जंगल भएको छ
अहिले यहि देशको
जंगलवाट
निवृत लाहुरे भएकाछौ
हामीसंग
हाम्रो छातीमा
कुनै मेडल छैन
तर क्रसफायरिङ्गले वनाएका
युद्धका घाउहरु नै
हाम्रा लागि
कहिल्यै नमेटिने मेडल वनेकाछन्
(स्रोत : कविता कुसुम)