~विनोदविक्रम के.सी.~
सडक किनारका खोरण्डा बिम्बहरूसँग ठोकिन्छ
(ऊ आफैँ पनि त प्रताडित प्रतीक हो यौटा)
त्यसो त कविताको मान्छे
जेमा पनि, जोसँग पनि ठोकिन्छन्
धेरैजसो चामल, पहाड र दाल पहरोसँग ठोकिन्छ
र, झ्¥याम्म फुट्छ
त्यसैले त अचेल अखबारहरू
कविताको मान्छेका डिप्रेसनका चोइटाहरूको भारी बोकेर
सकी नसकी तपाईंका आँखाका उकालाहरू चढिरहेका हुन्छन्
नरिसाउनुहोला महोदय,
अचेल कविताहरूमा फूलहरूको साम्राज्य हुँदैन
अचेल कविताहरूमा चराहरूको राज्य हुँदैन
किनभने कविताको मान्छे हिँड्ने बर्मूडाको किनारमा
उभिने गर्दैनन् क्राइस्यान्थिमम्हरू
भेटिइने गर्दैनन्, परेवाहरू
फेरि यो कङ्क्रिटको भद्दा इडेनमा
कोही हराउँछ भने, भावकुतावश हराउँदैन
वितृष्णावश हराउँछ, केवल वितृष्णावश
र वितृष्णामा
आँखाको डिलमै फुलेको फूल पनि फूल हुँदैन
अर्थोकै हुन्छ, एकदम तम्तमाइलो ।
अचेल कविताको मान्छे जूनसँग फूल सम्वाद गर्दैन ।
शब्द, शब्द महमा चोपेर शरद पनि गाउँदैन
अचेल कविताको मान्छे बजार भाउ मै रङमङिन्छ
हिंसा र बलात्कारका खबरहरूमै रङमङिन्छ ।
कलमको टुँडोमा चमेराहरूले डेरा जमाएका छन्
म सोचिरहेछु
कविताको मान्छेले कहिले गाउन पाउला
यिनीहरूको विस्थापन गीत कहिले ? ?
(स्रोत : हिमाल खबर)