~एम सि सुमित~
ज्योती मगर !
बनाएर तिमिलाइ आइसकृम
कसले चाटिरहेछ ल्यापल्याप
छुँदै डोब लाग्ने
तिम्रो भर्जिन छाला
र निर्दोश मुस्कान ।
यो हिमाली पाखामा
खोरिया फाँडेर आवाद गर्ने
तिम्रै हात हो
हिँउखोलाको चिसो पानीमा जाँगर तरेर
किनारकिनार बस्ती बसाउने
तिम्रै पाइला हो
कैले फकाएर
कैले छकाएर
यो माटोमा लागेको
तिम्रो पन्जाछाप चिथोर्ने
खुनि नङ्ग्राहरु कहाँबाट आए ?
बिर्स्यौ ज्योती मगर !
घाँटु वा कौराको गाथा
साकेला वा पालमको गित
सेलो स्याब्रुको नाच
धिमे वा उर्निको धुन
तिमिले नै रचेको हो पहिले
कुन कपटी सम्बन्ध
वा कुन जाली संझौताले खोस्यो
शीरको सिलदुम्री
गलाको वाच्छैमाला
हातको चौँरिको चमर
वा , गुजुरगानाको चोप
सिरुका पातके यारी हान्दै टिपेको
समलासँग सम्बाद गर्ने भाशा !
तिमिले बुझ्नुपर्छ ज्योती मगर !
पुतली तर्सिने गरि
झिँगा भन्किने गरि
निचोरेर तिम्रो रस
बजार सर्वत पिइरहेछ
– तिमी आँशु ।
यो भुइँमाथी उठने
पहिलो झुल्के घामको वाफले
तिम्रै आङमा न्यानो छरेको हो
भाङ्ग्रा केस्राएर
कपास छोडाएर
हाकु र पटासी
आङ्गी र पाङ्देन
म्याख्ली र पेटानी
गादो र घलेक
पाँगा र फेँगा
तिमिले नै बुनेको हो पहिले
धोती- पाटा लाएर
कमण्डलु भिरेर आउनेहरु
छक्क परेका हुन
देखेर तिम्रो सभ्यता ।
तिमिले बुझ्नुपर्छ ज्योती मगर !
धोती उचाल्न लगाएर
वा चोली फुकाल्न लगाएर
कसले पोख्यो तिमिमा
उम्लिरहेको तिर्खा !
र घुम्टोभित्र लुकेर
हेरिरहेछ्न तिमिलाइ
– पाखण्डी ऐना ।
तिम्रो त्यो बाटुलो अनुहार
त्यही सोझोपना फाइदा उठाएर
झुम्राको पुतली बनाइ
चटकेले झैँ
आफ्नै शोकगितमा छमछमी नचाउँने
सनातनी छन्द कसको हो ?
ज्योती मगर !
तिम्रो भविष्यको गुलावी रङमा आउने
गहुँगोरो गन्ध कसको हो ?
(स्रोत : रचनाकारको फेसबुकबाट सभार)