~मुक्तान थेबा~
तिमीले मेटाउन नसकेको बाँकी केही त
अवश्य छुटेकै छ मित्र !खोरको माउ तान्न आउने
बाघको गर्दन छप्काउने
बाघसिङ आँखेको– खुकुरी छ मसँग ।
खुसुखुसु करेसाको पिँडालु चोर्न आउने
वनसुँगुरको भाले ढाल्न
आप्पाले दर्जन थाप्ने गरेको– जोरनाले छ मसँग ।
दिन–दहाडै
जिम्बाल काजीको साँढेले छोप्दा
जुरो खसाल्ने
मेरी बज्यैकी– खुर्पा नि छ मसँग ।
रामनवामी मेलामा
प्रधानघरको ब्वाँसाले झम्टिँदा
जाँघमा लात्त हानेर उम्किएकी
आमा सन्चली डोल्मोको साहस पनि
उस्तै छ मसँग ।हरेकपल समयसित संवाद गरिरहने
मेरो आँगनको– दज्र्यु
झन्जोर–जोरले
फिर्लिङ–फिर्लिङ हम्काउँदैछ समय ।पेङदोर्जेले
डम्फु बजाउँदै डाँडापाखा सुनाउँदै हिँडेको
उत्पत्तिको गीत,
आफ्नै पसिनाको राग भरेर
ढाक्रेम्हेमेले
जिन्दगीको चौतारीहरूमा बजाउँदै हिँड्ने टुङ्ना,
भोम्बो म्हेमेले बजाउने ढ्याङ्ग्रो र
दुश्मनको प्रहार दुश्मनतिरै फर्काउन
तेस्र्याउँदै आएको–थुर्मा
आज पनि त उसैगरी झुन्डिरहेको छ–मूलथाममाहो, यिनै हुन् मेरो चेतनाले पहिलोचोटि
जबर्जस्त छापेको
सभ्यताको बाह्रखरी ।
जुन, सौन्दर्यका मानक बनेर
मेरा बिजातीय मानस्पानामाथि
आज पनि उसैगरी सल्बलाउँछन् ।
मैले ‘म’ हुनुको पहिलो ढोका
त्यहीँनेर उघारेकोे हुँ
तर, अचेल
कर्कस ध्वनिमा
एकोहोरो तिमी
मलाई ‘म’ हुनुको अर्थ त्यागेर
साझा ‘हामी’ हुन
उपदेश दिइरहेछौ ।म प्रेमले भन्न चाहन्छु
मेरो प्रिय शासक मित्र !
कि म
अँधेरोमा बलिरहेको उज्यालो निभाउँदै हिँड्ने
तिम्रो हामी हुनै सक्दिनँ
बरु
भुलेर पनि मसित कहिल्यै यो नसोध्नु कि
तिमीसँग के छ ? ’
म भन्न बाध्य हुनेछु–
तिमीले मेटाउन नसकेको बाँकी केही त
अवश्य छुटेकै छ मसित ।।
शनिवार, माघ ८, २०७३
(स्रोत : अन्नपूर्ण पोस्ट – फुर्सद)