कविता : नाकाबन्दी

~प्रथा~

********
हिउदको च्यादर ओढेर
हिमकन्याहरू जमिनमा झरेपछि
चौँरीगोठ बोकेर
सोनाम दोर्जे टुटुवान लेकतिर झर्दैछ !
थाहै पाइँनन् उनले
खै कतिखेर पग्लियो – मनको हिउँ ?
एकाएक मौन औँलाहरू
नाच्न थाले
छमछमी कुरुसको धागोसँगै
र आङफुटीले बुनिदिइन् – गलबन्दी !
……………….

उज्यालो जति बगेपछि
जमिनमा ओर्लियो अँधेरीरात !
बत्ती निभेर के भो र ?
पिरतीको दियो त जलेको छ !
अब हरेक साँझ
मान्छेहरूले खेल्न थाले टाइमपास खेल !
जनसङ्ख्या ग्राफ बढेर
डाँडाकाँडा ढाकिने खतरासँगै
हरेक नर-नारीले गरे – नश्लबन्दी !
………………

फूलका हरिया डालीबाट
वसन्त सबै लुटेर
जब दरबारको दुष्ट भवँराले
जमिनको छाती चिथोर्न थाल्यो
यो वनका वनचरीहरू
मुक्तिका गीतहरू गाउन थाले !
त्यही बेला,
सत्ताका हुचिलहरूले झम्टेपछि
गोलघरका पिँञ्जडाहरूमा
भुइँमान्छेहरू कैद भए – आस्थाका बन्दी !
………………

आकाशमा आगो सल्केर
जमिनमा खडेरी हिनहिँनाएपछि
जब माछाहरूले,
तलाऊको गहिराई नाप्न
स्वाभिमानको धरहरा ठड्याए
तब डिलमा बसेर
बल्छि थापिरहेका भ्यागुत्ताहरूले
थाहै नपाई,
पानीको मुहानमा गरिदिए – दुवालीबन्दी !
……………….

यो बन्दी नै बन्दीको टेलरभित्र
आज फेरि
एकाएक देखा पर्यो – मोदी भाईको नाकाबन्दी !
………………

गाडीमा तेल छैन
मजदुर जति ब्यस्त छन् – म्यारिजमा !
भान्सामा ग्यास छैन
श्रीमती डि.आई.डि. हेर्दैछिन् – टेलिभिजनमा !
स्कूल-कलेज निदाएका छन्
केटाकेटीहरू परिक्षा दिइरहेछन् – फेसबुकमा !
एकथरि भन्छन्
“सेट ब्याक इन्डिया” – बिस्तारवाद मुर्दावाद !
अर्कोथरि भन्छन्
“वेलकम इन्डिया” – मोदी सा’व जिन्दावाद !
……………….

यो हाहाकार !
यो अभाव !
र यो सन्त्रासले कुल्चिएपछि
जनै खटिरा कन्याउँदै
यदुनाथ पस्यो पोकलीको भट्टी
र कन्दनी चुँडिञ्जेल धोक्यो – तीनपाने !
गाम्चाले पसिना पुछ्दै
बब्लु पनि छिर्यो चुनरीको भट्टी
र चुर्रलुम्म डुब्यो – लोकल ठर्ररामा !
……………….

उहिल्यै वनपालेले छोडेको
सरकारी जङ्गलजस्तै
चिउँडाको ठेट्ने दाह्री मुर्सादै
कृपासुर लसक्कै लस्कियो डोल्माको भट्टी
र पिसाव झरुञ्जेल रित्यायो – अमिलो जाँड !
अनुहारमा लत्पतिएको
मार्करको जाइलेन मसी मेटाउँदै
म पनि सुटुक्क छिरेँ अँधेरी भट्टी
र ढल नफुटुञ्जेल घुट्क्याएँ – कान्छीको झोल !
…………………

बिहानै रेडियो ट्युन गर्छु
अनौठो धून बज्छ !
टि.भी.सेट अन गर्छु
अर्कै झण्डा पो लहराउँछ !
बालाजु जानुथ्यो
हतार-हतार बस बिसौनी जान्छु
सबै अपरिचित अनुहार !
गाडीबाट ओर्लन्छु र भाडा दिन्छु
तत्कालै खलासीले फर्माउँछ
“ओ भैया ! आई.सी. नहि है क्या ?”
………………….

म झसङ्ग हुन्छु
र ब्यूँझन्छु गहिरो निन्द्राबाट !
हैट ! कस्तो ज्यानमारा सपना देखिएछ !
……………….

याद राख्नुस् !
सपनाबाटै सुरु हुन्छन्
हामीले भोग्ने हरेक यर्थाथताहरू !

राजगढ, झापा ।

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.