~नाकारा ~
सागसँग विष पाक्छ
गोलभेडासँग जिवाणु अचार बन्छ
प्याजको पत्रपत्रमा पिरो गन्ध जाग्छ
जोगिनुपर्छ काठमाडौँमा !
सडकमा प्राणघातक धुवाँ र धुलो उड्छ
गल्लिगल्लिमा बौलाहा कुकुर डुल्छ
चोकचोकमा सन्काहा गोलि पड्किन्छ
जोगिनुपर्छ काठमाडौँमा !
घरभित्र घाम निस्सासिन्छ
जुनको टुसा सटरले किच्छ
झ्यालको सिसाले अक्सिजन बार्छ
जोगिनुपर्छ काठमाडौँमा !
हो, खुब जोगिनुपर्छ काठमाडौँमा !
शितलनिवासमा, मधेस बिल्छ
बालुवटारमा, मुन्धुम जल्छ
रत्नपार्कमा जङ्गे – लाउरा लिला देख्न सकिन्छ
जोगिनुपर्छ काठमाडौँमा !
साँझ पर्नपर्न आँटेदेखि
पजेरो बौलाउन थालेको हुन्छ
कार मात्न थालेको हुन्छ
सडक त झन बेहोसिएको हुन्छ
जोगिनुपर्छ काठमाडौँमा !
हो, खुब जोगिनुपर्छ काठमाडौँमा !
थानकोटबाट छिरेपनि
बनेपा हुँदै भित्रिए पनि
चिसापानिबाट झरेपनि
या त आकाशे मार्ग भै अवतरण गरे पनि
न्यानो हावा ठिहिरो बन्छ
जागिनुपर्छ काठमाडौँमा !
हो, खुब जोगिनुपर्छ काठमाडौँमा !