~दीपक कुमार ज्ञवाली~
मलाई मेरो राज्य चाहीएको छ
म राज्य बिहीन भै बस्न सक्दिन
मलाई मेरो सिमाना चाहिन्छ
मलाइ मेरो चौघेरा चाहिन्छ
म मेरो चौघेरा र सिमाना बिना बस्न सक्दिन
किनकि
तिम्रो लालदरवारमा पनि सिमाना छ, चौघेरा छ
तिम्रो चौघेराको रक्षार्थ सुरक्षा दस्ता छ
राज्यको दस्ता र आफ्नै दस्ता
किनकि
लाल दरबार सानो दुःखले आर्ज्याको होईन
प्रत्येक शहिदको प्राणले आर्ज्याको लालदरवारको जमिन
प्रत्येक शहिदका मांशपिण्डले जोडिएका लालदरबारका ईटाहरु
प्रत्येक शहिदका खुट्टाका हड्डीहरुले बनेका लालदरवारका पिलरहरु
प्रत्येक शहिदका करंगहरु छतमा ओछ्याईएका छन्
र
बलियो संग शहिदका अबयबहरुले ढलान गरिएकोछ
शहिदका रगतले लालदरवार रंगाईएकोछ
शहिदका नशाहरुले लालदरवारको वायरिंग गरिएकोछ
शहिदको आँखाको ज्योति लालदरवारको रोशनी बनेको छ
किनकि
तिमिले लालदरबार अरुलाई बस्न बनाएका होईनौ
तिमिले जनताको उन्मुक्तिको लागि कहिल्यै युद्ध गरेनौ
युद्धमा ति निहत्था भोका नांगा र घरबार बिहिनलाई निसाना बनायौ
तिम्रो सत्ता लिप्सा र लालदरबार निर्माण खातिर
मृत्यु बरण गरेका परिवारसंग
अनि
ति मृत्यु सैयाबाट जोगिएकासंग
गास छैन बास छैन अनि आंङ ढाक्ने कपास छैन
कठै
गरीबी माथी राजनीतिक अस्त्र अचुक हुँदोरहेछ
खान नपाएर मर्ने , गोली खाएर मर्ने
अज्ञानता अशिक्षा रोग, भोक र गरीबिमा
राजनीति फस्टाउँदो रहेछ
बिसौं हजारको शहादतमा
कुनै सामन्तिले गोली खाएको छ ?
मिथ्या लागे हेर्नु शहिदका सूचिहरु
तिमीले आफ्नो चौघेरा निर्माण गरिरहँदा
मैले पनि माग्ने बेला भएछ
तिमीले जस्तो जनउन्मुक्तिको नाममा
मानबलाई मृत्यु वरण गराई लालदरवार बनाउनु छैन
गरीबी माथी राजनीति गर्नु छैन
जहाँ रोग भोक र अशिक्षा र युद्ध नहोस्
राजनीतिले कहिल्यै पनि गरिबिलाई हतियार नबनावस्
सुन्दर शान्त र स्निग्ध चौघेरामा
सामन्तिको गिद्धे दृष्टिबाट ओझेलमा पर्न
अब मलाई मेरो चौघेराको आबश्यक भएकोछ ।
मलाई मेरो राज्य चाहिएको छ ।
दीपक कुमार ज्ञवाली
बुटवल ६ आदर्शनगर रुपन्देही
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )