~सिमान्त लामिछाने~
खोला एकैनासले एकैतिर बगिरहेछ
फुल पनि हेरीरहेछु
कोपिला हुँदै लम्किरहेछन् झुप्पो हुन
त्यस्तै दौडिरहेछन्
साना साना बोटहरु रुख हुनलाई
हरेक क्षण
एउटा बेग्लै सौन्दर्य छ यिनमा
मिठो झंकार छ कुनै
लाग्छ हराउँ यिनमा आफुलाई
येत्तिकैमा सुने मैले मोटरको भू भू
अनि सम्झें
यिनको गति
घरि यता घरि उता
स्वचालित हुन् या परचालित
त्यो यकिन छैन
तर यी निरन्तर चलिरहेछन्
हुईकिन्छन् यी मूलबाटोमा
पटक पटक
घरि घस्रियेर
घरि लतारिदै
घरि रोकिएला जस्तो
घरि बेगसंग दौडेको जस्तो
अत्यास लाग्दो छ यिनको
चालढाल
आवाज
अनि रुप पनि
आज भोलि हरेक उषासंगै
जताततै यहि मोटरहरु भेट्छ म
अनि नपाएर मेलो
बनाउछ आफुलाई पनि
यिनको गतिमा सामेल
तर पनि मन खोलेर भन्नुपर्दा
यिनको चालमा
सजिबता छाम्न गार्हो परिरहेछ मलाई
फुलको गतिमा जस्तो
खोलाको गतिमा जस्तो
यिनको गतिमा नवीनता देख्दिन कतै
त्यसैले कहिले कहिले झस्किएर
आफैं हिड्ने गरेको छु
आफ्नै पैतालामा उभिएर
हावाको स्पर्स लिदै
माटोको सजिबता छाम्दै
तर जब बुझ्छु बाटोको लम्बाई
आत्तिएर
म फेरी उक्लिने गरेको छु त्यहि मोटरहरुमा
आफुलाई गति दिने निहुँमा
आफ्नो थकानलाई बहाना बनाएर
बिर्सिदै सजीवता अनि निर्जिवाताका कथाहरु
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )