~साधना लामिछाने~
तिमी कतै सुरक्षित हुन सकेनौ
तिम्रो निर्दोष अनुहारहरुमा एसिड फ्याकिन्छन्
मर्द भन्नेहरुको ठुलै जमातहरु
तिम्रो अस्तित्वमाथि खेलवाड गर्छन्
तरपनि तिमी लाचार भएर बस्छौ
आखिर कतिसम्म सहन्छौ ?
निर्धक्क भएर तिमी कतै हिँड्न सकेनौ
गाउँबस्ती र शहरहरुमा
सिठ्ठि र अपशब्दले छेड्नेहरु भेटिन्छन्
तिमीलाई मनोरञ्जनको पात्र बनाउँछन्
तरपनि शीर निहुराउँदै तिमी आफ्नै बाटो लाग्छौ
आखिर कतिसम्म सहन्छौ ?
तिमी आफ्नै दाइ पिता र गुरुप्रति समेत
विश्वस्त भएर विश्वाश गर्न सक्दैनौ
किनकी उनीहरुको उर्लँदो रगतले
तिमी सँगको सम्वन्धको बन्धन भेटाउँदैन
तरपनि तिमी मनको डर लुकाउँदै बस्छौ
आखिर कतिसम्म सहन्छौ ?
तिमी आफु खुशी केही गर्न सक्दैनौ
इज्जत मेटिन्छ रे परिवारको भन्छन्
इच्छा नहुँदा नै तिम्रो सम्बन्ध पक्का हुन्छ बिहेको
त्यो पनि स्वीकाछ्र्यौ तिमी बुबाको इज्जतको लागि
तरपनि तिमी आत्मसान गुमाउँदै बस्छौ
आखिर कतिसम्म सहन्छौ ?
पराई घरमा तिम्रो चल्दैन मनमानी
बुहारी भनेर अपहेलना गर्ने भेटिन्छन्
सन्तान उत्पादन गर्ने मेशिन हुन्छौ तिमी
छोरा नजन्माएको भन्दै सौता तिमीमाथि नै हालिन्छ
तरपनि त्यही अन्यायलाइ सहँदै बस्छौ
आखिर कतिसम्म सहन्छौ ?
(स्रोत : तु खबर डट कम)