~केशव प्रसाद पाण्डे~
प्रचण्ड ! प्रचण्ड ! प्रचण्ड !
के प्रचण्डबाहेक कोही छैनन् ?
–ट्रम्पले अमेरिकी राष्ट्रपतिको चुनाव प्रचण्डबाट सिकेर जिते ।
–प्रचण्डले गर्दा देशले फुटबल जित्यो ।
–प्रचण्डको पालामा चन्द्रमा पनि नजिक आएर ‘सुपरमुन’ भयो यसलाई संयोग मात्र मान्न सकिन्न ।
क. बादल, विप्लव, किरण र हाम्रो भूमिका कहाँ छ ?
यतिसम्म ठूला बनाउँछन् बनाउनेले । ऊ भन्दै गयो, म सुन्दै गएँ । सवालजवाफ आवश्यक लागेन । हामीजस्ता इमानदार कार्यकर्ता कहाँ छन् अहिले ? नेतृत्वलाई तिनको साथ कहाँ छ ? ऊ आवेशमा आयो ।
भालेको डाको अगावै ओछ्यान चिस्सिइसक्छ । मिर्मिरे बिहानीमा गाईवस्तुको धन्दा सकेर खुट्टा खुम्च्याउँदै एक भारी घाँस पल्टाइसक्दा बल्ल घामका किरणले धर्ती स्पर्श गर्दै हुन्छन् । ‘पूर्णे’ अर्थात ‘पूर्णबहादुर विश्वकर्मा’ । नाम पूर्णे भए पनि उसको उजाड, कष्टकर र सङ्घर्षरत जिन्दगीको अपूर्ण कथा साढे चौध वर्षको जिन्दगीबाट सुरु हुन्छ । उसलाई त्यो जिन्दगीको गुनासो न त भाग्यलाई दिनुछ, न भगवानलाई ! त्यही परिवर्तन खोज्ने लालसिपाही थियो ऊ ।
उसैमाथि दलित, समाजले छोइछिटो भए सुनपानी छर्केर चोख्याउँछ । ठूलाठालुले हेप्छन्, चेप्छन, कहिल्यै उकासिन दिन्नन् । यही देख्यो, भोग्यो । मान्छेमान्छे बीचमा कोही शुद्ध, कोही अशुद्ध कस्तो ? पाँच कक्षामा पढ्दासम्ममा यो प्रश्न मनमा सल्बलाइसकेको थियो । २०५८ साल फागुन हुँदो हो । कमरेड डीएमलगायतको भूमिगत माओवादी जनसेनाको टोली कम्ब्याट ड्रेसमा बन्दुक भिरेर कक्षामा छिरे । त्यसपछिका दिन धेरै कमरेडहरुले स्कुलका कक्षामा जनयुद्धका कार्यक्रममा गराउन थाले ।
जनआकर्षण माओवादीमा बढ्दो थियो । वर्गविहीन समानताको समाजको कल्पनाले उसलाई दिनरात चिमोटिरह्यो । सङ्कुचित समाज बदल्ने मनसाय ज्वारभाटासरी उर्लिन थालिसकेका थिए । आर्मीजस्तो कम्ब्याट ड्रेस र गोल्ड स्टार जुत्तामा लडाकु र मिलिसियाका निडर भएर बोल्ने र जनतामा भिज्ने शैलीले तानिरह्यो । हिजोसम्म टाउको झुकाउने सामन्तीहरुका अघि शिर ठाडो पारेर हिँड्ने दिन सुरु भयो । डरैले पनि समाजमा अब तल्ला र माथिल्ला वर्गका मान्छे हुन छाडे । हिजोसम्म ढोकाबाट चिहाउने घरमा कसैले भित्र किन छिरिस भन्ने आँट गर्न सकेनन् ।
२०५९ साल वैशाखको पहिलो लगनमा तल्लो टोलकी पुतलीसँग उसको विवाह भयो । उसको समुदायमा त्यस्ता कोही पाउन मुस्किल पथ्र्यो, जो ६ कक्षामा भर्ना भएका र १५ वर्ष पुगेर बिहे गरेका । उसको पनि त्यही भयो उमेर अगावै, न जिन्दगी बुझेको थियो त्यस बेला, न पढाइको महत्व । कक्षामा प्रथम स्थान हासिल गरेर ठूला जातलाई टक्कर दिने तेज दिमागको पूर्णेलाई त्यसै दिनबाट पढाइ बोझ भयो जुन दिन माओवादीले यो बुर्जुवा शिक्षाले गरिखान दिँदैन । हाम्रो सत्ता आएपछि वैज्ञानिक शिक्षा लागू हुन्छ, त्यसका लागि लडौँ भनेदेखि ऊ मानसिक रुपमा माओवादी भइसकेको थियो । उसलाई मर्नुमा पनि अब डर रहेन । देशका लागि लड्नु र शानको मराइमा लोभ लाग्यो ।
अब पूर्णे पुरापुर माओवादीमा लाग्यो । घर परिवार आफन्त कसैलाई सुनेन । २०६० सालको सुरुवातिमा ऊ माओवादी छापामार भयो कम्ब्याट ड्रेसमा बन्दुक बोक्ने सपना पूरा भयो । सुरुताका माओवादीभित्रको कठोर फौजी जीवन उकुसमुकुस लागे पनि ऊ विचलित भएन । अब रहरको बन्दुक बोकाइ काँधमा पट्याउने गरी बोक्नु र भिडन्तमा सहभागी हुनु दैनिकी बन्यो । यसबीचमा उसका घरमा शाही नेपाली सेनाको टुकडी धेरै चोटि पुगे । घरमा दुःख दिनुसम्म दिए । बुबालाई बेपत्ता बनायो सेनाले । यही पीरले आमाको स्वर्गवास भयो । तर पनि ऊ काजकृयामा सहभागी हुन सकेन । शोकलाई शक्तिमा बदल्ने र क्रान्तिमा अझै कटिबद्ध भएर लाग्ने अठोट गर्यो र लागिरह्यो निरन्तर । यसबीचमा उसका हातबाट धेरै सेनाका मान्छे मरे । सर्वसाधारण र सुराकीका नाममा पनि धेरै मरे । युद्ध यस्तै हो । कठोरै हुन्छ, मर्न र मार्नु सामान्य लाग्दै गयो । ऊ बालबाल बचेका धेरै सम्झना छन् । सेनाले लखेटेर गोली हान्दा लागेको गोलीले खुट्टा खोच्याउनुपर्छ अझै ।
युद्धले देशभर चर्को रुप लिँदै थियो, कैयौंको घरवार ध्वस्त बने । २०६२ फनगुन महिना ३ गतेको मध्यरात हुँदो हो, शाही सेनाको फौज पूर्णेको घरमा पस्यो र चुपचाप पुतलीलाई उठाएर लगे । विचरीको चित्कार सुन्ने पनि कोही भएनन् । कराइस भने मार्दिन्छु भन्दै पारि चिहान डाँडामा बलात्कार गरेर ढुकढुकी सास बाँकी छँदै खाल्डोमा पुरियो रे । तल्लो टोलको सेते दमाईलाई मध्य रातमा उठाएर लगेछन् । कोदालो बोकाएर ! तलाई पुर्न चाइने खाल्डो खन भन्दा बूढाले रोइकराई गरेर जीवनको भीख मागेछन् । अन्तमा गाउँकै चेलीको जिउँदै पुरिएको स्तव्ध साक्षी बनेर फर्केछन । सेतेले डरले कसैलाई सुनाउन सकेनन । भोलिपल्ट रेडियो नेपालमा समाचार आयो चिहान डाँडाको भीडन्तमा एक आतङ्ककारीको मृत्यु, सयौंको हाताहाती त्यसपछि समाचार आगोसरी फैलियो । एक वर्षको दूधे बालक उत्तरबहादुरलाई पछि मामाघरमा लगेर बचाइयो । पुतलीको हत्याले मर्माहत पूर्णे उस्तै कथा बोकेका सहयोद्धाको साथले हत्याको बदला लिइछाड्ने अठोट लिएर प्रतिकारमा निरन्तर होमिइरह्यो । एकसरो ज्यान थियो देशलाई दिनसक्ने ।
सात दलको सम्झौताबाट जनयुद्धको बलमा १९ दिने जनआन्दोलनले देशको व्यवस्थामा परिवर्तन आयो । अब जनसेना शिविरमा थन्कियो । ऊ चितवनको शक्तिखोर शिविरमा पुग्यो । शिविर व्यवस्थापनका नाममा विभिन्न रुपमा रकम आउन थालेपछि हिनामिना बढ्न थाले । जसको विरोध पूर्णेलगायतकाले समूह बनाएर गरे तर उनीहरुलाई गोली ताकेर दवाइयो । त्यतिबेला ऊ झस्किसकेको थियो । आजको डरलाग्दो स्थिति सोचेर । सेना समायोजन प्रकृयामा गएपछि अयोग्य घोषित भएर फकिँदा पाएको रकम बराबरको उसको नामको चेक पार्टीले जफत गर्यो । ऊ खालि हात फर्कियो जिन्दगी साटिएको पैसामा उसलाई नमज्जा अवश्यक लाग्यो । तापनि बिग्रेको बाँकी घर र जिन्दगी सम्हाल्नुथियोे । युद्ध सधैँ युद्ध भइरहने कुरा पनि थिएन ।
त्यसरी फर्केको पुर्णे पार्टी गतिविधिमा कहिल्यै लागेन ।न माओवादिको जितमा खुसी हुनु थियो । न हार्नुमा दुःख मनाउनु ! उजाड जिन्दगीमा उहीँ पुरानो पेसामै फर्किरह्यो छोराको आमा र बुबाको अभिभावकत्व निभाउनुबाहेक अरबका मरुभूमि सोचेन मनले ।
मङ्सिर ५ गते विस्तृत शान्ति सम्झौताको एक दशक पुग्यो । उसका बुबाआमाले ऊमाथि रोपेका सपना छोरा उत्तरबहादुरमा फुलाउनु मात्र छ । माओवादीको पतनसँगै उसले हत्यारा र ज्यानमाराको आरोप ठूलो स्वरमा सहनुपर्यो । छोराले स्कुल टप गरेर अबिरमय भएर आउँदा बहुमूल्य हर्षमिश्रित आँशु टिल्पिलाएर ठूलो युद्धमोर्चा जितेको झल्को आउँछ, उसलाई । जिन्दगीप्रति उसमा अथाह छट्पटी चल्छ ।
परिवर्तनका लागि लडेका योद्धाको अवमूल्यन ठीक लाग्दैनन् र अस्ति पेरिसडाँडामा घेर्न जाँदा प्रचण्ड सरकारले पुलिस लाएर पक्रिएको पूर्वलडाकुमा ऊ पनि पथ्र्यो ।
मङ्सिरको सुरुमा घर गएको थिएँ । सबेरै उसको घर पुग्दा छोरालाई स्कुल पठाउने चटारोमा थियोे । उसै कालो ऊ आरनमा फलामको रापले अझै थपिएको कालो अनुहार, सेता चाँदीजस्ता दाँत फिस्स टल्काएर लोपोन्मुख हाँसोले स्वागत गर्र्यो । अङ्कल भन्दै उत्तरबहादुर स्कुल लाग्यो । १२ वर्षको भइसकेछ ऊ पनि ! हामी दुई बालसखा आँगनीको डिलमा ऊ पारी कामीडाँडा (युद्धकालीन आधार इलाका) टहलाउँदै शान्त तलाउमा ढुङ्गा हिर्काएर तरङ्गित बनाए जसरी नचाहँदा नचाहँदै ती विगत नुनचुकले घाउ बल्झेजसरी स्मृतिमा आए । उसले सहयोद्धा तथा सहिद साथीहरू र अझै बेपत्ता बुबा सम्झियो । त्यै कठोर युद्धको एक सिपाहीले आँशु इन्कार गर्न सकेन । उसको अनुहार चोरेर हेरेँ, मन निचोरिँदै आयो । अन्त्यमा भयो, क्रान्तिका भावना बीचमै बिसर्जन गर्ने असफल नेतृत्वको वर्तमानबारे कुराकानी । “वरपरका चैते माओवादी जसले यिनै योद्धाहरुको भूमिका र गुनासोको बेवास्ता गर्छन्, प्रचण्डलाई यसरी देवत्वकरण गर्छन” ।
मन गहुँगो हुँदै आयो र उही स्तब्ध बिदाइको अर्को शृङ्खला दोहोर्याउँदै फर्किए । बल्झिरह्यो त्यो अतीत वर्तमान बनेर । बाटामा पुतलीको चिहान पथ्र्यो ! कमरेड डीएमको हत्या भएको ठाउँ पथ्र्यो । कहाँ पुगे ती उपलब्धि ? मन, मस्तिष्कभरि चलिरहे बन्दुकहरु । जलिरहे घरहरू । ढलिरहे सिपाहीहरु जनसेना र शाहीसेना बनेर । बलात्कृत भइरही पुतली । टुहुरो भइरह्यो उत्तरबहादुर । हराइरहे पूर्णेका बुवाहरु । परिवर्तन भइरहे नेताहरु । हो समय अवश्य फेरियो तर खै हत्केलोमा ज्यान राखेर लड्ने अथक योद्धाको देश फेरिएको ?
२२ अौँ-जनयुद्ध दिवश विशेष
फाल्गुन १, २०७३ मा प्रकाशित
(स्रोत : हाम्रोदमक डट कम)