~प्रमोद ढुङ्गाना~
तिमीसँग हिँड्दा यस्तो लाग्छ
पुग्नुपर्ने ठाउँ नआए हुन्थ्यो
यो यात्रा यस्तै चलिरहे सधैँ
जिन्दगी, जिन्दगी जस्तै हुन्थ्यो
भीडका नबुझिने हल्लाभन्दा टाढा
आवाजै आवाजको शून्यताभन्दा टाढा
आफ्नै पाइलाका आवाजहरू सुन्दै
आफ्नै ढुकढुकीका आवाजहरू सुन्दै
हिँडिरहन पाए कस्तो हुन्थ्यो
जिन्दगी, जिन्दगी जस्तै हुन्थ्यो
मान्छेले छेकिदिने कुहिरोभन्दा पर
मान्छे नै मान्छेको पहिरोभन्दा पर
आँखा आँखाले मिठा कुरा गर्दै
मनले मनका सारा कुरा सुन्दै
हिँडिरहन पाए कस्तो हुन्थ्यो
जिन्दगी, जिन्दगी जस्तै हुन्थ्यो ।