~दिनेश अधिकारी~
युद्धविरामको घोषणापछि
भूमिगत तिमी –
जङ्गलबाट घर आएकी छ्यौ
म-
बिदा लिएर ब्यारेकबाट घर फर्केको छु
चार बीस उमेर खाएकी आमा
नकोरेको आफ्नै कपाल
र, वर्षो नमाझेका दाँतजस्तै घर कुरेर
हाम्रै सुर्तामा सुकिरहेकी थिइन्
तिमी आयौ,
म आएँ
हर्षले
तिमीलाई देखेर पनि उनी रोइन्
मलाई भेटेर पनि उनी रोइन्।
तिमी
मेरो काखमा खेलेकी
र, काँधमा चढेर
लेकबेँसी डुलेकी मेरी बहिनी !
कसरी सक्यौ होला
रातरातभरि भोकभोकै बन्दुकको लडाइँ लड्न?
झाडीझाडी र पत्थरिला बाटाहरु हिँड्न
कलकलाउँदो उमेरमा देख्नै नपाएको तिमीलाई
अहिले
फुस्रो अनुहारसँगै
भाँचिएको तिम्रो हात देखेर
मनभरि म आफैँ भाँचिएको छु,
छियाछिया तिम्रा कुर्कुच्चा देखेर
चर्चरी !
मनभरि म आफैँ चिरिएको छु।
बहिनीकै मन न हो तिम्रो पनि
धेरै वर्षपछि भेटिएको
र, आफूले पूजा गरेको दाजुको
दाहिने आँखा नदेख्दा
जति नै दबाउन खोज्दा पनि नसकेर
बलिन्द्रधारा आँसुसँगै बगेको
तिम्रो पीडा पनि मैले बुझेको छु।
मायामा प्रायः ओठ बोल्दैन
केही नभनेरै
पटकपटक तिमीले
मेरो कपाल सुमसुम्याउनुको अर्थ पनि मैले पहिल्याएको छु।
अहिले युद्धविराम भएको छ र त ठीकै छ
कहीँ फेरि युद्ध छेडियो भने
हुन सक्छ, चाहेर
हुन सक्छ, नचाहेर
हामी फेरि आआफ्ना मोर्चामा फर्कनेछौँ
र, आआफ्ना शत्रुहरुलाई सखाप पार्न
जुनसुकै उपाय अवलम्बन गर्नेछौँ,
मलाई डर लागिरहेछ मेरी बहिनी !
मैले –
तिम्रो हात भाँचिएको जानकारी पाएको छु
र, हुन सक्छ
तिम्रो त्यही कमजोरीलाई आफ्नो निसाना बनाउनेछु
तिमीले मेरो दाहिने आँखाले काम नगर्ने वास्तविकता बुझेकी छ्यौ
र, हुन सक्छ
मेरो अर्को आँखा फुटाउन सके आफ्नो जित सुरक्षित हुने देखेर
तिमी आफूलाई त्यही उद्देश्यमा अगाडि बढाउनेछ्यौ
कहीँ फेरि युद्ध छेडियो भने?
………………………………
म असाध्यै डराएको छु !