~रुमानी राई~
ए क्यालेन्डर
हेर्दाहेर्दै
तिमी त बुढो भैसकेछौ
तिम्रो ठाउँमा नयाँ क्यालेन्डर
झुन्ड्याएँ है भित्तामा,
भित्ता सम्झेर
मन नदुखाउनु
नरुनु
विस्थापित भएँ भनेर
कहिल्यै नसराप्नु
बरु,आशिर्वाद दिनु चिरायुको
किनकि,
तिम्रो सिङ्गो आयुसित
मैले पनि त
मेरो अनमोल जीवनको
एउटा सिङ्गै वसन्त बाँचेको छु
मेरो उमेरको एक अंश
रुमानी वैंश उपहार दिएको छु
कृपया,
तिमीले यो गुण कहिल्यै भुल्नु हुन्न
तिमीले यसैमा चित्त बुझाउनु पर्छ
र,तिमीलाई
यो सत्य पनि थाहा हुनु पर्छ कि,
प्रतेक वर्ष
प्रतेक क्यालेन्डरसित
वैंश साट्दासाट्दै
एकदिन
म पनि त
तिमी जस्तै बुढो हुनेछु!
(स्रोत : रचनाकारको फेसबुकबाट सभार)