~किशोर दहाल~
नेपालमा शरणार्थी शब्दले मूलतः भुटानी शरणार्थीलाई प्रतिबिम्बित गर्छ । तिनका सुखदुःख, विवशता, संघर्षका धेरै कथा छन् । तर, यो मुलुकमा उस्तै घटना, उस्तै संघर्ष (भाषा, धर्म, रहनसहन, भेषभुषा र परम्पराको फरकपनले अझै बढी) ले भरिएका तिब्बती शरणार्थी पनि थिए र छन् भन्ने कुरा धेरै कमलाई थाहा छ । तिब्बती शरणार्थी एउटा यस्तो मुद्दा हो, जसबारे स्वयं भुक्तभोगीहरू पनि बोल्न डराउँछन्, लेखकहरू लेख्न हच्किन्छन् । राष्ट्रियस्तरमा सचेततापूर्वक बहसमा नआएको यस मुद्दाको केही आयामलाई समेटेर श्रीभक्त खनालले पुस्तक लेखेका छन्, ‘अप्ठ्यारो बाटोः तिब्बती शरणार्थीको संघर्ष–कथा’ । पुस्तकमा तिब्बती शरणार्थीको राजनीतिक मुद्दालाई सकेसम्म कम छुने प्रयासमा उनीहरूको नेपाल बसाइको कठिन संघर्षहरूलाई अभिलेखीकरण गर्ने प्रयास गरिएको छ ।
पुस्तक मूलतः तिब्बतीहरू शरणार्थीको रूपमा नेपाल प्रवेशपछि उनीहरूले भोग्नुपरेको संघर्षसँग सम्बन्धित छ । तर, यसले उनीहरूको नेपाल आगमनका थोरै राजनीति, रणनीति र धेरै दुःखका बेहिसाब कथा पनि प्रस्तुत गर्छ । अर्थात्, यो शरणार्थीको पीडाले भरिएको पुस्तक हो । देशविहीन, पहिचानविहीन हुनु त छँदैछ, त्यसमाथि निरन्तरको निगरानीले सिर्जना गरेको डर र त्रासको जीवन बाँचिरहेकाहरूको जीवनकथाले पक्कै पनि पीडा नै प्रवाह गर्छ । पहिलो–दोस्रो पुस्ताका केही शरणार्थी अपूर्ण सूचना उल्लेखित कागजको चिर्कटो बोकेर बाँचे । सन् १९८९ पछिका सँग त त्यही पनि छैन । पढेर डाक्टर अथवा शिक्षक बन्ने नयाँ पुस्ताका शरणार्थीसँग अभ्यासको लागि अनुमति छैन । ती झन् बढी तनावको जीवन बाँचिरहेका छन् । कतिपय, कसैगरी विदेश पुगेका छन् र सीपबाहिरको काम गर्न बाध्य छन् ।
आफन्त र भूमि नै गुमाएपछि बाँकी के रहन्छ र ? शरणार्थीका कष्टसाध्य जीवनलाई सोनाम टासीको यो वाक्यले सारांशको रूप प्रदान गर्छ, ‘मानिसले सबैभन्दा दुःख पाउनु भनेको शरणार्थी हुनु रै’ छ (पेज ७९) ।’एउटा भनाइ छ, ‘शरणार्थीहरू आउँदा केवल झोली गुन्टामात्रै बोकेर आउँदैनन् ।’ यसले पक्कै पनि उनीहरूको सीप, संस्कृति, रहनसहनको प्रवेशलाई समेत संकेत गरेको हुनुपर्छ । नेपालमा तिब्बती शरणार्थीको यो पक्ष पनि निकै उल्लेखनीय छ । उनीहरू आएपछि नै नेपालमा मःमको व्यवसायिक विस्तार भयो, कुनै बेला गलैंचा उद्योग नेपालकै सबैभन्दा ठूलो उद्योगको रूपमा स्थापित भएको थियो । यस विषयमा टोनी हेगनको सन्दर्भ पुस्तकमा उल्लेखित छ, ‘तिब्बती शरणार्थीले नेपाललाई दिएको उपहार गलैंचा उद्योग हो । काठमाडौं उपत्यका वरिपरिका तामाङ जातिका मानिसले पहिलोपटक गलैंचा व्यवसायबाट नगद आम्दानी गरेका थिए (पेज १४८) ।’ पुस्तकले नेपालीसँगको शरणार्थीको अन्तर्घुलनलाई पनि धेरथोर प्रस्ट पार्न खोजेको छ ।
वैवाहिक सम्बन्ध, रहनसहन र भाषामा नेपालीपन मिसिएपछि उनीहरूमा पलाएको नेपालीत्व मोह धेरै ठाउँमा झल्किन्छ । पुस्तकमा नेपाली र तिब्बती शरणार्थीको दोहोरो सहयोग सम्बन्धका धेरै तथ्यहरू उल्लेखित छ । नेपालको आश्रय र भाषाले पारेको अप्ठ्यारो समयमा पनि गरिएको सहयोगप्रति शरणार्थीहरू निकै अनुग्रहित देखिन्छन् ।धर्म र राजनीति जोडिएको तिब्बती शरणार्थी मुद्दाको निकास सहज छैन । कतिपय धार्मिक व्यवस्था र मुख्यतः राजनीतिक रणनीतिक चालबाजीले तिब्बती शरणार्थीहरूको पहिचानलाई नै जटिल बनाइदिएको छ । पाँच दशकअघि नेपाल आएका कैयौं अभिभावकका बच्चा अहिले ठूला भइसके तर परिचयपत्र पाएका छैनन् ।
कैयौं पुराना मानिस छन्, जोसँग परिचयपत्रको नाममा फोटोसमेत नभएको सामान्य कागजी खोस्टा छ । दलाई लामासँग जोडिने शरणार्थीको धार्मिक लहरो र चीनको विरोधमा जोडिने राजनीतिक रणनीतिको लहरोले शरणार्थी समस्यालाई झन् बढी अनिश्चयतिर धकेलिदिएको छ । पछिल्लो समय तिब्बतसँग जोडेर चीनलाई दुःख दिने पश्चिमा रणनीतिको साझेदार केही शरणार्थी पनि बन्ने गरेको तथ्य खुल्दै गएपछि शरणार्थीहरू पनि निगरानीमा पर्ने गरेका छन् । एकातिर चीन ‘सुपरपावर’को रूपमा उदाउनु र अर्कोतिर कतिपय शरणार्थी पश्चिमा रणनीतको साझेदार पनि बन्न थालेपछि यो समस्या झन् पेचिलो बनिरहेको छ । कतिपय शरणार्थी त अब तिब्बती फर्किन पाउने कुरामा नै विश्वास गर्दैनन् । त्यसैले पनि पछिल्ला पुस्ताको पहिचानलाई लिएर अघिल्लो पुस्तामा चिन्ता बढ्दो छ । चिन्ताका भावहरू पुस्तकका पानामा महशुस गर्न सकिन्छ ।
शरणार्थीको जीवन जताततै अल्झेर जकडिएको भएता पनि लेखाइको गति भने कतै नअल्झिकन सलल बगेको छ । भाषाशैली निकै सरल छ । तथ्यगत बोझ छैन । पुस्तक पढिराख्दा कतै उपन्यास पढेजस्तो, कतै नाटकको संवाद पढेजस्तो र कतै लेखकको डायरीकै पाना पल्टाइरहेजस्तो हुन्छ । निकै अनौपचारिक लेखाइ छ, कतैकतै । जस्तो, खम्पा विद्रोहको एउटा समूहका सदस्यले अंगीकृत नागरिकता पाएको प्रसंग लेखिसकेपछि लेखक लेख्छन्, ‘कथा सकियो । १४ वर्षको युद्ध कथा एक सय ८४ शब्दमा सकियो (पेज १२१) ।’
पुस्तकमा केही कमजोरी छन् । लेखकले निकै स्रोत उद्धृत गरेका छन् । तर, सन्दर्भ स्रोतको स्पष्ट जानकारी भने धेरै ठाउँमा पाइँदैन । जस्तो : दलाइ लामाले सन् १९९२ मा भनेको एउटा वाक्य प्रयोग गरिएको छ, ‘जब हामी तिब्बत फर्कन्छौँ, म तिब्बतमा कुनै पनि पद लिन्नँ (पेज १७१) ।’ तर, लामाको यो भनाइको आधिकारिक स्रोत भने उल्लेख गरिएको छैन । पुस्तकमा धेरै व्यक्तिको भनाइहरू, पुस्तक तथा अन्य सामाग्रीबाट सन्दर्भहरू लिइएका छन् । तर, पुस्तकका कैयौं ठाउँमा कति सामाग्री स्रोतबाट लिइएको हो र कहाँबाट लेखकको भनाइ शुरु भएको छुट्याउनै मुस्किल छ । स्पष्टसँग नछुट्याइका कारण कति भनाइ लेखककै भनाइ हो वा कतैबाट उद्धृत गरिएको हो थाहा नै पाइन्न ।
यसले पाठकमा अलमल सिर्जना गर्छ । उदाहरणको रूपमा, दलाइ लामा र तिब्बत नीतिसँग सम्बन्धित प्रसंग उल्लेख भएको ‘अल्फा बिटा’ उपशीर्षकको सामाग्रीलाई लिन सकिन्छ (पेज १७२) ।जीवनलाई नजिकबाट छोएर यो पुस्तक लेखिएको छ । लेखकले शरणार्थीको शिविरमा गएरै प्रत्यक्ष प्रसारण गरिरहेका हुन् कि जस्तो लाग्छ । धेरै आधिकारिक स्रोतहरूलाई उद्धृत गरिएका कारण उनीहरूका संघर्षहरूको यथार्थ भोगाइको अभिलेख गर्न मद्दत पुर् याएको छ । शरणार्थीका भोगाइहरूलाई उनीहरूकै शब्दमा, आँशुमा र शैलीमा लेखिएको छ । पुस्तक पढ्नेहरूलाई शरणार्थीका पीडा महशुस गराउनसक्नु पुस्तकको सबैभन्दा ठूलो शक्ति हो ।
पुस्तक : अप्ठ्यारो बाटो : तिब्बती शरणार्थीको सङ्घर्ष कथा
लेखक : श्रीभक्त खनाल
प्रकाशक: साङ्ग्रिला बुक्स
मूल्य : रु. ३५०
(स्रोत : रचनाकारको ब्लगबाट सभार)