~अरुणबहादुर खत्री “नदी”~
कार्यालय सहयोगी कर्मचारी धने र श्यामे सधैँ कार्यालय समयमा नै पुग्ने गर्दथे । कार्यालयको छुट्टी भएपछि मात्रै उनीहरु आफ्नो घर फर्कन्थे । उनीहरुले कार्यालयमा गर्नुपर्ने कामकाज इमान्दारीताका साथ पूरा गर्ने गर्दथे । अरु शाखाका कर्मचारीहरुले काममा अनुरोध गरे पनि गाह्रो नमानीकन गर्दथे । कहिलेकाही कार्यालय समयदेखि बाहिरी समयमा पनि कार्यालयको कामकाज गर्दथे ।
उनीहरु काम गर्ने कार्यालयको वार्षिकोत्सवको दिन कार्यक्रम भएपछि उत्कृष्ट कर्मचारीलाई पुरस्कार दिने घोषणा गर्दा उनीहरुको नाम परेन । पुरस्कार पाउन नसकेपछि उनीहरु दुबैजना साह्रै निरास हुन पुगे ।
उनीहरुको अनुहार फरक देख्दा आज कार्यालयको वार्षिकोत्सवमा किन तपाईहरु दुबैजनाको अनुहार साह्रै निन्याउरो देख्छु नि एकजना हाकिमसाहेबले सोधे । उनीहरु केही बोल्न सकेनन् । एकजना उनीहरुको कामको प्रशंसा गर्ने कर्मचारीले आज उनीहरु दुबैजनाले पुरस्कार पाउन नसकेर अनुहार बिगारेको हुनुपर्छ सर भन्यो । यो वर्ष उनीहरुले पुरस्कार नपाए पनि अर्को वर्ष पाइहाल्छन् नि हाकिमसाहेबले हाँस्दै भने । अर्को वर्ष उनीहरु दुबैजना सरुवा भएर अर्कै मन्त्रालयमा गए भने यस कार्यालयबाट कसरी उनीहरुले पुरस्कार पाउन सक्छन् र हाकिमसाहेब ? उनीहरुको कामको प्रशंसा गर्ने कर्मचारीले उनीहरुले गरेको कामको सिफारिश गर्दै भने ।
– सामाखुसी मार्ग, ९३५/५४,
काठमाडौं (नेपाल)
(स्रोत : पल्लव साहित्य प्रतिष्ठान )