~मनोहर काफ्ले~
आमा ले मलाई कहिलै ठुलो भएको देख्नु भएन । म ठुलो भैसकेको थिएँ । आमाको नजरमा जहिले पनि म सानो नै थिए । सायद आमाले मलाई कहिलै ठुलो भयेको देख्न चाहनु भएन । ठुलो यस मानेमा कि उचाई, लम्बाई, मोटाई आदि । आमाले सोच्नु हुदो हो म ठुलो भएँ भने काखमा अटाउदिन । मलाई सुम्सुम्याउदै मेरो कपाल कन्याइदिन पाउनुहुन्न । म रुदा मेरो आखाँसम्म आमाको हात पुग्दैन । म भाग्दा दौडदै मलाई भेट्नु हुदैन । रिस उठ्दा तथानाम गाली गरेको म पचाउन सक्दिन । सायद यिनै कारणहरुले होला आमा मलाई बढेको , हुर्केको, हेर्न चाहनु हुन्न । मलाई सानो नै भएको देख्न चाहनुहुन्छ, तेसैले त मेरो बोलाउने नाम नै ‘सानु’ राखिदिनु भएको थियो।
म जन्मिदा आमा पनि रुनु भएथ्यो रे । म जन्मिएको ले या औशिको रात मा जन्मिएकोले। खुशीले हो या बिस्मात ले। आमाको आशुको स्पर्श तेती बेला पनि पाएको थिएँ । अनुभूति भएको थियो, त्यही आमाको ओड्ने मजेत्त्रो बाट। मलाई नुहाइदियेर त्येही मजेत्रोले बेरेर संगै सुताउनु भएको थियो , छातीमा टाँसेर न्यानो पार्नु भएको थियो । बाहुनले न्वारन गर्नु भन्दा पहिले आमाले नाम राखी सक्नु भएको थियो । ‘सानु’ भनेर, बोलाउनु हुन्थ्यो फुलाउनु हुन्थ्यो, डुलाउनु हुन्थ्यो, र खेलाउनु हुन्थ्यो। मेरै नाम को गित रचेर गुनगुनाउनु हुन्थ्यो। मेरो बारेमा सोचेर होला टोलाउनु हुन्थ्यो, किनकि म औशीको रातमा जन्मेको थिए।
म कनिकुथी आमा भन्ने भएको थिएँ । आमाका आखा मा आशु थिए। लडी लडी उठ्थें , उठदै उठदै लड्थें । लोरी गाउनु हुन्थ्यो । घर को खाबो मा नाम्लोले बाधेर पिङ बनाईदिनु भएको थियो। त्यो नाम्लोको डोरीमा पुरानो तान्ना को चार कुना बाँधेर बनाएको पिंग मा म सुति सुति पिङ खेल्थें । आमा मिठो भाकामा गित गुनगुनाउदै सुताउनु हुन्थ्यो। आमाले ओढेको मजेत्रो ओढाई दिनु हुन्थ्यो । त्येही मजेत्रोको सुबासमा म सुत्थें । त्यहाँ आमाको आशुको स्पर्श थियो। म न्यानो महसुस गर्थे। मिठो निन्द्रा लाग्थ्य
म स्कुल जाने भएँ । मलाई स्कुल को लागि तयार गर्नु हुन्थ्यो । मुख धोई दिनु हुन्थ्यो। उहि मजेत्रोले मुख पुछी दिनु हुन्थ्यो। सिंगान आउदा पुछी दिनु हुन्थ्यो, पुछ्ने टालो मजेत्रो हुन्थ्यो। त्यही मजेत्रोले पिठ्यूमा बाधेर स्कुल सम्म पुर्याईदिनु हुन्थ्यो। फर्किदा पधेरो बाट पानीको गाग्रो लिदै फर्किनु हुन्थ्यो। त्यही मजेत्रोले कम्मर मा बाधेर गाग्रीको पिध अड्याउनु हुन्थ्यो। मजेत्रोले कम्मर मा बाधेकोले पानी बोकेर उठ्न, हिड्न आमालाई सजिलो हुन्थ्यो। खाना पकाउदा समात्ने टालो त्यही मजेत्रो हुन्थ्यो। टाउको दुख्दा टाउकोमा बाध्ने पनि त्यति थियो र चिसो हात पुछ्ने पनि त्यही थियो। म स्कुल बाट आयेर आगनमा दिशा गरिदिन्थे। आमाले तातो पानीले धोइदिएर पुछ्ने पनि त्यही मजेत्रो थियो। गाइ को बाच्छा डोर्याउन होस् या बाख्राको को पाठो भाकरोमा थुन्न, आमाको मजेत्रो नै प्रयोग हुन्थ्यो। आमाले नुहाएर भिजेको शरिर छोप्ने या चिसो कपाल पुछ्न र सुकाउन सबै मजेत्रो को नै भू’मिका थियो। जेठाजु, ससुरा , सङ्ग जम्का भेट हुदा कपाल छोप्ने या घास काट्न रुख चड्दा रुखमा अढिनलाई हाँगामा बाध्ने आमाको तेही मजेत्रो थियो। तेसैले एकछिन आमा सङ्ग बस्न पाउदा पनि खेल्दै कु कु हा भनि लुकामारी खेल्न प्रयोग हुने त त्यही आमाको मजेत्रो हुन्थ्यो। म आमाको मजेत्रोले ‘कु कु’ भनि मुख छोपथें र आमाले मजेत्रो तान्दै ‘हा, देखे’ भन्नु हुन्थ्यो।
मेरो गाउ को स्कुल मा केवल ४ कक्षा सम्म मात्र पढाइ हुन्थो। ५ कक्षा र त्यहा भन्दा माथि पढन करिब १५ किलोमिटर जति टाडा जानु पर्थ्यो। घर बाट सधै हिडेर त्यती लामो बाटो ओहोर दोहोर गर्न सम्भव थिएन। म र मेरा दुइ जना दाजुहरु ४ कक्षा बाट एकै चोटी ५ मा उत्तीर्ण भएका थियोउ रे । तर आमाले स्कुलको हेडसर लाइ भनेर मलाई चाही ४ मै फेल गरउन लगाउनु भएको रे किनकि म आमाको आखामा सानो थिए रे। आमाले मलाई आफ्नो आखाबाट टाडा राख्न नचाहनु भएको रे। तर यो बिषयलाइ लिएर म धेरै रोएको थिए। म पनि दाइ हरु संगै टाढाको स्कुल जान्छु भनेको थिए, आमालाई मुड्कीले धेरै कुटेको थिए। भूइ मा लडिबुडी गरेर हात खुट्टा चलाएको थिएं । आमाको सम्बेदंशिल अंगमा खुट्टाले कति आघात गरेको थिए। आमा मेरो आक्रमण सहि राख्नु भयो,प्रतिकार गर्नु भएन। सायद ग्लानि भएर पो हो की, केवल आशु खसाल्दै रुन्चे हासो हासी राख्नु भयो। मलाई बुझाउन कोशिस गरि रहनु भयो कि म सानै छु। म थाकेर रुदै आमाको काखमा निदाउन पुगेछु। आमाले त्यही मजेत्रोको छेउ पानी मा भिजाएर मेरो अनुहार पुछिदिनु भयो। मलाइ माया गरेर ओछ्यानमा सुताई दिनु भयो र झिंगाहरुले मेरो निन्द्रा नबिगारुन भनेर मजेत्रो ओडाईदिनु भयो।
म कलेज पढने भै सकेको थिए, तर अझै पनि थिएँ सानु, केवल आमाको नजर मा । महिनादिन भन्दा १ दिन पनि धेरै आमा बाट टाडा बस्न सक्दिन थिएँ र पुगी जान्थें गाउ, आमाको काखमा, आमाको सामिप्य मा । लुटुपुटु हुन्थे आमासङ्ग, आमा आँशु खसाल्न थाल्नु हुन्थ्यो तर मेरो आखा छलेर, लुकेर मजेत्रोले आशु लुकाउनु हुन्थ्यो । मेरो आखा बाट त लुक्थ्यो तर त्यहि मजेत्रो को सुबाश मलाई धेरै मन पर्थ्यो । तानेर मुख छोप्थ्ये, सुघ्थे, टोक्थे, थाहा भई हाल्थ्यो लुकेको आशु। मलाई मन पर्थ्यो आमा रुएको , आशु खसाकेको र त्येही मजेत्रो को आशुले हात भरि मुख भरि स्पर्श गरेको।
म बिस्वबिद्द्यालय बाट छुट्टीमा घर जादा आमा बाटो हेरेर बसिरहनु भएको हुन्थ्यो। मेरो मन पर्ने काक्रो को खल्पी बोतलमा हालेर झ्यालको बाहिरपट्टि घाम लाग्ने ठाउँ मा नबिग्रियोस् भनेर सुकाउनु हुन्थ्यो र सानु लाइ मन पर्छ भनेर बारीमा फलेका अम्बा त्यही मजेत्रोको छेउमा बाधेर ल्याइदिनु हुन्थ्यो। म आमालाई हेर्दै कुपू कुपू खान्थे। आमा सन्तोष को सास फेर्नुहुन्थ्यो। खादा खादै हातबाट चिप्लिएर भुइमा खस्थ्यो। आमा तेही मजेत्रोले पुछेर फेरी मलाई दिनुहुन्थ्यो। आमाको मन राख्न भए पनि म खान्थे, बारीको किम्बु को रुखमा इस्कुश लटरम्म फलेको हुन्थ्यो। आमा मलाई इस्कुश टिप्न लगाउनु हुन्थ्यो। मलाई रुखमा चड्दा होसियारीका साथ चड ,मज्जाले दह्रो हाँगामा समात, कम्बर मा सुरक्क्षा को लागि यो बाध भनेर उही मजेत्रो थमाउनु हुन्थ्यो। उही बच्चालाइ अह्राएको जस्तै अह्राउनु हुन्थ्यो,गालि गर्नु हुन्थ्यो। म त्यही मजेत्रोमा इश्कुश जम्मा गरि बाधेर रुख बाट तल झारी दिन्थे ।
पल्ला घरकी पुरेतिनी आमै मलाई देखेर भन्ने गर्नु हुन्थ्यो ‘’ए सानु बाबु त कहिले आउनु भयो? हामी त सानु भनेर बोलाउछौ तर धेरै ठुलो भै सक्नु भयेछ’’। यो सुनेर सायद मेरी आमालाई रिस उठदो हो, पुरेतिनी आमै पट्टि अलि रिसाए जस्तै गरेर हेर्नु हुन्थ्यो। तर केहि भन्नु हुन्न थियो। सायद मेरी आमालाई म ठुलो भएँ भनेर कसैले भनेको मन नपरेर हो । आमा मलाई सधै सानु नै देख्न चाहनुहुन्थ्यो। उही काखमा लुटुपुटु गर्ने सानु। मैले कति चोटी मलाई सानु भनेर नबोलाउनु न ,अब म ठुलो भै सके भनेर नभनेको पनि होइन तर मलाई हातको इशाराले ‘चुप’ भन्नु हुन्थ्यो।
म सानो छदा साथीहरु सङ्ग कतै खेल्न गएँ भने गाउनै गुन्जने गरेर तिखो स्वर मा सा—–नु भनेर बोलाउनु हुन्थ्यो। एक दिन त म विश्वबिध्यालय मै हुदा खेरि पनि म घरमा नै छु जस्तो लागेर सबै ले सुन्ने गरि ‘’सा—-नु, भुटेको मकै खान आइज’’ भन्नु भएको रे, किन भने सानोमा मलाई भुटेका मकै असाध्यै मन पर्थ्यो र अझै पनि पर्छ। पछी म नभएको थाहा पाएर आशु खसाल्दै मजेत्रोले पुछ्दै भन्नु हुन्थ्यो रे, ‘’मकै भुटेको दिन त सानो यही छ जस्तो लागेर बोलाएछु पो’’ अरु हास्थे ,आमा पनि रुन्चे हासो हास्नु हुन्थ्यो अरे।
पोहोर साल आमालाई भेट्न जाने निधो गरें । आमासंग भेटघाट नभएको पनि १० वर्ष हुन लगेछ। फोन मा त कुराकानी भै नै रहन्थ्यो। तर सधै ‘’कहिले आउछस मलाई भेट्न’’? भन्दै आमा भाबुक हुनु हुन्थ्यो। मलाई थाहा थियो कि आमा आशुं खसाल्न लाग्नु भएको छ र मजेत्रोले आशु रोक्न खोसिस गर्दै हुनुहुन्छ। मलाई आफ्नै ब्यबहारले च्यापेर यतिका बर्ष सम्म आफ्नै आमालाई भेट्न जान नपाएको। नजिकै भए त भेट्न जान पनि त्यत्ति गार्हो नहुने थियो, तर हिढेको चार दिनको दिन मात्र गाउको घर पुग्ने हुनाले नभेटेको यत्तिका वर्ष हुन गएको। ‘’यो पालि चाही पक्कै आउनेछु, दशैं को जमरा राखे हुन्छ, एउटा खशी पनि ठिक्क पारे हुन्छ। म बुहारी र नाती नातिना गरि चारै जना आउदै छौ, पक्का यसपाली चाहि’’, मैले यता बाट फोन मा भनेको थिएँ । ‘’टिकेट कन्फर्म नगरी तेरो के भरोशा’’ आमाले उता बाट आशंका गर्नु भएको थियो।
आमाको आशंका मेट्नाकै लागि एक महिना अघिनै चार ओटा टिकेट बूकिंग गरेको थिए र दाइ हरुलाई हिड्ने दिन र आई पुग्ने दिन , समय सहित कन्फर्म गरेको थिएँ । अब त आमा साथै सबै दाजु भाउजु र आफन्त समेत हामी परिवार सहित आउने कुरामा ढुक्क थिए ।
आमाले नौ बर्षे नाती र ३ बर्षे नातिनी हेर्न उत्सुक हुनुहुदो हो। आमाको प्यारो सानु छोरा को पनि छोरा र छोरी। आमाले अहिले सम्म देख्नु नै भएको छैन। आमा सोच्नु हुदो हो ‘अहिले सम्म आफ्नु छोरालाई कहिले पनि ठुलो भएको देख्न नचाहने मेरी आमा छोराको पनि छोरा र छोरी देख्दा कस्तो हुदो हो ? आमालाई हाँस पनि उठ्दो हो। बुहारी लाइ भने आमाले एक पल्ट देख्न पाउनु भएको थियो । बिबाह गरेको बर्ष मैले बुहारीको अनुहार देखाउन लागेको थिएँ । त्यति बेला पनि आमाले मलाई सानो नै देख्नु हुन्थ्यो र सानु भनेर नै बोलाउनु भएको थियो । खाना खाई सकेर हात पुछ्न टावेल खोज्दा आफ्नो मजेत्रो को छेउ नै मेरो अगाडी बढाउनु भएको थियो। म त्यही मजेत्रोले मुख बिस्तारै पुछ्दै सुङ्धा ३९ बर्ष अघिकै आमाको सुबास थियो, त्यही आशुको चिसोपन थियो र आमाको ममता।
टिकट अनुसार म घरमा पुग्ने दिन दशैंको महाअसठमि भन्दा दुइ दिन अघि यानी पंचमी को दिन हुदो रहेछ। हामी हिड्नु पर्ने दिन भनेको घटस्थापना को अर्को दिन अर्थात् प्रतिपदा को बेलुका। घटस्थापना को २ दिन अघि सम्म आमा सङ्ग बोलेको थिएँ र भनेको थिएँ की ‘हामीले आउदा ल्याउने सबै समान किनी सकेउ। आमालाई बुहारीले सुतिको साडी, ढाकाको चोलो आदि किनेर प्याक गरि सकेकी छ, अरु सबैलाई केहि न केहि चिनो त लाउनै पर्यो’, आमा मख्ख हुनु भएको थियो, र भन्नु भयेको थियो ‘’तिमीहरु मात्र आए पुग्छ , मलाई केहि चाहिदैन, मात्र तेरो ,बुहारी र बच्चाहरुको अनुहार देख्न पाए हुन्छ’’।
घटस्थापनाको दिन दाइ को फोन आयो। दाइ भन्दै हुनुहुन्थ्यो ‘’आमा बिरामी हुनु भयो, हिजो बेलुका देखि केहि खानु भएको छैन। बोल्नु पनि भएको छैन। त छिट्टै आइहाल । म छक्क परें । मलाई बिस्वास नै लागेन। हिजो बिहान सम्म म आमा संगै बोलि रहेको थिएँ , आमा मोबाइलमा हिड्दै बोलिरहनु भएको थियो । आज अचानक के भयो? दाइ को फोन आइ नै रहेको थियो। ‘’केहि उपाय लाग्छ भने आजै बेलुका हिड। आमाको अबस्था राम्रो देख्दिन’’ । मलाइ भक्कानु छुट्यो। रिंगटा लाग्यो। केहि बोल्न सकिन । श्रीमतीले आफन्त लाइ फोन गरेर सुनाइछन । आफन्त हरु आए। यति बेला सम्म त आशु रोकी राखेको थिएँ । सबै आफन्तलाइ देखेर भक्कानो फुटेर पानीको भेल आएझै आशु खस्यो। बग्न दिई राखे। सबै मौन थिए। पर्सि बेलुकाको टिकट मा आज बेलुका जान पनि त नमिल्ने। त्यहा माथि दशैं को मान्छेको चाप । गाडीका सिटहरु एकमहिना अघि देखि सबैले बुक गरेका हुन्छन। जसो तसो मन सम्हाल्दै पर्सि बेलुका सम्म कुर्न सिबाय अर्को विकल्प थिएन।
श्रीमती र बच्चाहरु घुम्न जान पाउने भैयो भनेर धेरै हौसिएका थिये । तेस्तो समाचार ले निराशा तुल्यायो। २/३ घन्टाको फरकमा फोन गरि नै रहें । स्वास्थ्यमा सुधार आउने अपेक्षा गरेको थिए । यथास्थिति नै रहेको उताबाट जबाब आउथ्यो । डाक्टर बाट परिक्षण भै रहेको सूचना आइ रह्यो । मेरी आमालाइ यतिका वर्ष पछी भेट्न जादै थिएँ । हिजो सम्म आमा सकुशल हुनुहुन्थ्यो। आमाको हातको टिका थाप्न यति उमङ्ग बोकेर सपरिवार जादै थियौ । हिजो सम्म कल्पना गरि रहेको थिए ‘श्रीमती र छोरा छोरिको आखा छलेर आमाको काखमा सिरान लाएर सुत्ने छु र त्यही आमाको मजेत्रोले मुख छोपेर एकछिन रुने छु। यतिका बर्ष पछी आमाको मजेत्रो को सुबास तृप्त नहुन्जेल सम्म सुघी रहन्छु। म सङ्ग संगै आमा पनि रुनु हुनेछ र मजेत्रोले आशु पुछ्नु हुनेछ र पुछी दिनु हुनेछ’’।
म हिड्ने दिन प्रतिपदा को बिहानै फोन गरें । जबाफ मा आमाको स्वस्थ्यमा सुधार नभई झन् सेलाइन पनि पास नभैरहेको अवस्था भन्ने जबाफ आयो।। म आत्तिएं । मेरो हंशाले ठाउ छोड्यो। आमाको अनुहार देख्न पाउदिन कि भन्ने लग्यो, म फोन मै भक्कानिएर रोयेछु। दाइ हरुले हौशला दिदै भन्नु भयो, ‘’जे हुने भै हाल्छ , अब बेलुका त हिडी हाल्छस , हामी जसरि पनि त आइ नपुगुन्जेल सम्म बचाउने कोशिस गर्छोउ । अरु त भगवानको मर्जी’’। अब त मेरो पनि आमाको मुख हेर्ने आश झिनो मात्र रह्यो।
म गलि सकेको थिए। आखामा धेरै आशु ओगटेर बसेको थिए, आमालाइ भेटेर सबै छता छुल्ल बनाएर बगाउछु भन्ने सोचेको थिए। ‘’कतै आमा??’’ आशंका पनि नभाएको होइन। तर मैलें आफैलाई नियन्त्रण गर्नु जरुरि थियो। मैले मेरो साथ पत्नी छोरा र छोरी लाइ लामो यात्रा तय गरि दुर्गम गाउ पुर्याउनु थियो। यात्रा ४ दिनको थियो, जसी गरेर पनि आमा रहे पनि नरहे पनि जानु त पर्ने नै थियो । मैले आफुलाई दह्रो बनाउनु थियो। मैले आफै सङ्ग भने ‘’आमा बित्नु भएको खबर हिडनु भन्दा अघि सुनियो भने बाटो मा खान पीन गर्न अप्ठेरो हुने, त्यसैले जे हुनुछ भई हाल्छ, यो सोचेर अब फोन पनि नगर्ने, र उता बाट आएमा पनि नउठाउने हिसाबमा तिनओटै मोबाइल साइलेन्ट मा राखेर लगेज को तल पट्टि राखे। बेलुका हिड्नु सट्टा दिउसै घर बाट निस्कीयौ । अब त हामीलाई फोन पनि आउने छैन र आफन्तले पनि भेटेर खबर सुनाउने छैनन्।
निर्धारित समयमा यात्रा सुरु भयो। सानु छोरीले उफ्रिदै र नाच्दै हास्दै र हसाउदै बाटो भरि पिडा बिर्साई दिईन। बाटो छोटो हुदै गयो, दिनभरि त बाहिर मान्छे हेर्दै , दृश्यहरु अबलोकन गर्दै,छोरी लाइ चलाउदै र हसाउदै गयो, राती चकमन्न भए पछी भने बिभिन्न आशंक र उपसंकाले घेर्दथ्यो। श्रीमती र म जसो तसो मन बुझाउदै यात्रा तय गरि रहेका थियोउ । यात्रा मा छोरा लाइ माछा या माशु अनिबार्य चाहिने। त्यै अनुसार हामी पनि खादै भुलिदै र जादै थियोउ ।
आज यात्रा को चौथो दिन। ४ बजे तिर गाउको घरमा पुगिन्छ। आमालाई भनेर श्रीमतीले हर्लिक्सको सिसि र केहि राम्रो खालको बिस्कुट सदरमुकाम मा किनी दीइन । ‘’अब अर्को गाडी चडेर ३ घन्टामा नै घरमा टुप्लुक्क पुगीन्छ, आमा सङ्ग भेट हुन्छ । यति बर्षको अंतराल पछी आमालाई भेट्दा अगालो हालेर रुन मन लाग्छ होला’’। सोच्न पनि नभ्याउदै आशु छचल्किने जमर्को गर्यो । हिड्ने अघिल्लो दिन दाइको छोराले भनेको याद आयो, ‘’काका सदरमुकाम आए पछी फोन गर्नु, हामी गाडी लिएर लिन आइ पुग्छोउ’’
तर फोन गर्ने आट आएन। मनमा त बिभिन्न आशंकाले घेरी रहेको थियो।
’ यदि आमा तल माथि हुनु भयको रहेछ भने तिनीहरुले बाटो मै सुनाइ हाल्छन, ३ घण्टा अगाडी सुन्नु भन्दा बरु उही गएर सुन्ने’’।
फोन नगर्ने निधो भयो। ‘’सर्प्राइज दिने पापा’’ छोरिले तोते स्वर मा भनि ,त्यसै गर्ने निधो भयो।
सदरमुकाम बाट एउटा सानो गाडी रिजर्व गरेर गाउ हिडीयो । बाटो भरि केटा केटि को मन बहलाउने निहुमा आफै मन बहलाउन कोशिश गरि रहें । छोरा छोरी नया ठाउ हेर्न पाएकोमा दङ्ग छन्, म भने भाब सुन्या अबस्थामा थिएँ । जति जति घर नजिक हुदै आउछ उति उति ढुकढुकी बढी रहेको थियो । श्रीमती पनि गुपचुप गडीको बाहिर पट्टि रुख हरु पछाडी कुदी रहेको हेर्दै थिइन् । कहिले मेरो अनुहारमा पुलुक्क हेर्थीन, सायद मेरै बारेमा सोचिरहेकी होलिन।
बाटोमा चिनेका मान्छेहरु भेटिए। परै बाट हात उठाएँ । टेम्पो रोक्ने दुस्साहस गरिन, मनमा तर्क बितर्क शंका आशंका ले डेरा जमाईनै रह्यो । बास झ्यांग र रुख बढेकोले घर छुट्याउन झन्डै हम्मे हम्मे भयो । परैबाट घरमा देखेको दृश्यले म अवाक भएँ , टेम्पो ड्राइभर गनगन गर्दै थियो, ‘’अघि काफ्ले को घर भनेको भए भै हाल्थ्यो’’। घरमा ३ जना दाजुहरुले सेतो लुगा लगाएर बाहिर बसिरहनु भएको रहेछ।
बाटै बाट डाको छोडेर रुन मन लाग्यो । म त सम्हालिए, आशु सम्हालियेनन, छोडी दिए बग्न, बगी रहे धेरै बेर। ‘’आज चार दिन भयो, फोन गरेको थियो त, तपाइँहरुले फोन नै उठाउनु भएन, तपाइ हरु हिड्नु भन्दा अघि नै आमा बित्नुभयो’’। भाइजु भन्दै हुनु हुन्थ्यो।
कपाल खौरियेर सेता कपडा मा क्रिया पुत्रि भएर बसियो, छोराले मोबाइल निकालेर ‘सबैमा ३०/३५ ओटा मिस्स्कल आएको रहेछ’ भन्ने सुनाउदै थियो। १३ दिनको काम सिद्द्याएर घर फर्कने तरखर गर्दा भाउजुले भन्नु भएको सुने ‘’आमाले प्रयोग गरेका कपडा हरु केहि छन, नाति नातिनी हरुलाई हुन्छ होला’’
म उत्सुक भएँ , मेरा नजरले आमाले प्रयोग गरेका कपडा हरु खोज्न थाल्यो। धेरै रहेछन। हेर्दै गएँ ,कपडा स्पर्श गर्दा आमा संगै लुटपुटिएको झझल्को आयो। अनुहार मा लगाएँ ,३९ वर्ष अगाडी को सुबास पाएँ । तर मैले खोजेको कपडा चाही पाइन। सायद भाउजु हरुले निकाली सक्नु भएछ क्यारे। त्यो थियो मेरी आमाले पर्योग गर्ने गरेको उही मजेत्रो। आशुले भिजेको, सिंगान पुछ्ने, आमाले बेरेको, ममता, कोमलता,स्नेह टासीएको उही पुरानो, मैलो आमाको मजेत्रो।
समाप्त
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )