~सुको साइबर~
मैले कोरेको अक्षरको आँखामा
तिमी
निर्वस्त्र निदाउन सक्छ्यौ
मैले उघारेको आँखाको आकाशमा
बिनापखेटा रहर पुगुन्जेल
उड्न सक्छ्यौ
मैले लेखेर बनाएको
नलेखेको कागजमा
स्पर्श गर्न सक्छ्यौ
मैले लेखेको
शब्दको ओठबाट
शङ्ख बजाउन सक्छ्यौ
मैले लेखेको
अक्षरको औषधिबाट
तिमी
सारा नयाँ-पुराना
चोटहरू निको पार्न सक्छ्यौ ।
– निजगढ (बारा), ७
(कवि सुको साइबर – सुको अर्थात् सुदिप कोइराला)
(स्रोत : मधुपर्क २०६८ पुस)