~अमर त्यागी~
बिरानो शहरमा बन्धक छन् जीवनका सुखचयन मेरा
वर्षा ऋतुको जलकुण्डझैं छचल्किरहन्छन् यी नयन मेरा ।
परिस्थिति र प्रकृतिनै वेदना र आनन्दका अनन्त स्रोत हुन्
वाह ! काँढैकाँढाले बनेका छन् फूलहरूका यी शयन मेरा ।।
स्वयंको सुख नमेटेसम्म अरूको दु:ख मेटिन्न हजुर !
धनले मात्रै मनको सुख र शान्ति कहिल्यै भेटिन्न हजुर !
सत्य,निष्ठा र कर्मले सधैं उज्यालो बन्छ जीवन हाम्रो,
श्रमको जलले नसिंचेसम्म सृजना सुन्दर देखिन्न हजुर !!
सबै महान् गुरू बन्छन् चेला बन्नै गाह्रो हजूर !
टल्कने त्यो काँचलाई हीरा भन्नै गाह्रो हजूर !
समुद्रको भ्रम पाली कुवाभित्रै रम्दा धेरै,
पानीमाथि ओभानो त्यो बाटो खन्नै गाह्रो हजूर !
जस्तै चोट पीडामा नि मेरो दिल रुन्न
जस्तै शोकसुर्तामा नि कहिल्यै उदास हुन्न
परिस्थितिले नै मलाई यस्तो बनाई दियो
जस्तै घात आघातले पनि छँदै छुन्न…..!!
ढाँटी,छली र ढोंगीकै धुर्त्याइँ छ जहाँ पनि
निमुखा र सोझालाईनै कज्याइँ छ जहाँ पनि
ठगिएकै हुन्छ सधैं सज्जन र इमान्दार
बेइमानी र स्वार्थीकै रजाइँ छ जहाँ पनि ।
हेल्लो प्रिय ! सपनाको देशतिर कस्तो छ जिन्दगी
सुनेको छु एकोहोरो एकलकाँटे सस्तो छ जिन्दगी
असुरक्षा, अस्थिरता, अभावमा बाँचेको छु म सधैँ
यहाँ आफ्नै देशभित्र शरणार्थी जस्तो छ जिन्दगी !
बुझ्दा समयकाल भक्कानो फुटेर आउँछ
हेर्दा देशको हाल भक्कानो फुटेर आउँछ
जसलाई आफ्नो सम्झी दिल दिएथेँ उसैले
चाल्दा निष्ठुरी चाल भक्कानो फुटेर आउँछ
पराईको के कुरा भो आफन्तैले धोका दिन्छन्
जता स्वार्थ सिद्ध हुन्छ त्यतैतिर लहसिन्छन्
जोखिमको अवस्थामा छ मान्छेको जिन्दगानी
सम्पत्तिका निम्ति आफ्नै सन्तानले ज्यान लिन्छन् !
आँखाभरि बर्सात छ मुटुभरि बाढीपहिरो
पारेको छ समयले यै मुटुमा घाउ गहिरो
वेदनाले भक्कानिंदै हिक्का जति छोडेपनि
सुन्दैन रे आर्तपुकार भएको छ खुशी बहिरो
कोपिला जो नफक्रँदै भमराको नजर लाग्छ
निठुरी त्यै नजरकै डसाइको जहर लाग्छ ।
अरूकै आनन्द निम्ति शोभा बनी प्रतिपल
काँढैकाँढाबीच फुल्नु जिन्दगानी अकर लाग्छ ।।
पूर्वः गजलगुँड,
कलैया, बारा,