कथा : बाहुबल उर्फ ‘काडर टिचर’

~केशव शर्मा~

आदर्श माध्यमिक विद्यालयका अनेक विशेषता छन् । प्रथम, यो गाउँमा अवस्थित छ, सदरमुकामदेखि करीव पन्ध्र बीस किमिको दूरीमा । दोस्रो, यहाँ दरबन्दी जम्मै प्राथमिक तहको मात्र छ । तेस्रो, प्रावि शिक्षकहरुले नै माध्यमिक कक्षाहरु पढाउँछन् र चौथो, एसएलसी परिणाम राम्रो आउँछ ।

आफू पनि सामुदायिक विद्यालयसँग सम्बन्धित भएको कारण यो विद्यालयको विशेषताहरुमध्ये चौथोले मलाई झट्ट आकर्षित ग¥यो । लाग्यो उनीहरु अनुकरणीय छन् । यस्ताको सत्संग गर्नु राम्रो । हाम्रो संस्कृतिमा सत्संगको ठूलो महत्व छ । सत्संग अर्थात् सज्जनहरुको साथ ।

उनीहरुसम्म पुगी भेट्ने, बुझ्ने मनसाय व्यक्त गरें सहकर्मीहरुमाझ । ‘अहँ, दुःख पाउनै पर्दैन’,– एक सहकर्मीले भने हल्का पारामा– ‘उनीहरु एक दिन यहीं आउँछन् तामझामका साथ । पर्खनोस् ।’ मानौ कि उनी जानकार छन् तिन्का बारेमा ।

तर त्यो दिन चाँडै आएन । कोठाको कसिंगर जस्तो दैनिकी बनेर के आउँथे त्यस्ता प्रतिक्षित दिनहरु ? दुर्लभ भयो त्यो, शिक्षण पेशामा सम्मान र त्यसभित्र सन्तोष जत्तिकै ।

मैले यस्तो मनसाय व्यक्त गरेको पूरापूर दश महिना बितिसकेको थियो । एसएलसी परीक्षाको ठीक अघिल्लो दिनको मध्यान्ह, म आफ्नै विद्यालयमा थिएँ । प्रवेशपत्र वितरणका लागि विद्यालय आफ्नो उदारमना हात फिँजाएर सेवारत थियो । सेवाग्राहीको उस्तो चाप थिएन । दुईतीन, चारपाँच जनाको समूह आउँथ्यो जान्थ्यो । शालीन र भद्र तवरले सेवामा पहुँच र प्रदान भइरहेथ्यो । उसै बेला मानव स्वरयन्त्रको सर्वाधिक सामथ्र्यबाट निस्किरहेको सामूहिक कर्कश ध्वनिसहित पूर्वबाट एउटा अजंगको बस विद्यालय तर्फ सोझिदै गरेको देखियो । आफ्नो तीब्रता पछाडिको उड्दो धुलो पनि आफूसँगै बोकेर आइरहेको उक्त बस हेर्दाहेर्दै विद्यालयको मूलगेटमा आइ अडियो अनि पोखिदियो आफ्नो भारी मूलगेटैमा, एउटा साँघुरो, सरल बाटोको बीचोबीच बडेमानको टिप्परले खसाएको एक थुप्रो गिट्टीसरह ।

मेरो मनभित्रको आकाशिँदो भय तब मात्र ओर्लियो जब गेटबाट भित्रिदै गरेको कोही धर्के ड्रेसधारीलाई देखें । एउटा पेशागत पोशाकले समान अर्को पोशाकको मन तान्ने ताकतको अगाडि म अपरिचितको केही लागेन । कुन साइतमा आफू बसेको ठाउँबाट जुरुक्क उभिएर उनको नाकैमा आफ्नो नाक जोडाउन पुगेछु, ‘सरको परिचय ?’

‘म बाहुबल । आदर्श माविबाट ।’ उनले आफूसँगैका थप तीनजनातर्फ औंल्याउँदै भने– ‘हामी एकै विद्यालयका सहकर्मी । प्रवेशपत्र लिन आएको । सेन्टर यहीं छ क्यारे ।’

‘ए……. ।’ बल्ल मैले मेरो चिरप्रतिक्षित दिन देख्तै रहेको कुरा बुझें । जिज्ञासा झन् चुलिएर आयो । सोधेँ– ‘अनि यो तामझाम ?’ ‘यो हाम्रो रीत सर । वर्षौंदेखि यस्तै गर्दै आइरहेका छौं । हामी विद्यार्थीलाई एकछिन पनि छाड्दैनौं ।’

‘मतलब ?’

‘मतलब अरुले टेन टु फोर पढाउँछन् । हामीले त्यसअघि र पछिको फोर टु टेन ।’

‘किन ?’

‘किन को त प्रश्नै छैन नि ! नम्बर एक, टेन टु फोरमा सेडु भन्यो, स्रोतकेन्द्र भन्यो, कहिले के पर्छ, कहिले के पर्छ, आउँदा जाँदै ठिक्क । नम्बर दुई, जो फोर टु टेनमा छ, त्यो टेन टु फोरमा कहाँ ?’

मैले उनको यो भनाइमा अर्थ खोज्न एकछिन मौनता साधें । केही क्षण मसँगै अडिएका उनी धेरैबेर अडिन भने सकेनन्, ‘आवासीय प्रबन्ध छ । करीब पाँच महिना हामी सँगै खान्छौ, सुत्छांै, उठ्छौं…. ।’

‘अनि खर्च ?’

‘त्यो सब विद्यार्थीले नै तिर्छन् । ट्युशन, खाना, आवास, प्लस यी यस्ता यातायात, सबैसबै हिसाब गरेर कसेर लिइन्छ । र, हाम्रो अर्को विषेशता पनि छ नि !’

‘के ?’

‘हामीले यस्तो आवासीय ट्यूशन कम्पल्सरी गरेका छौं । कोही पनि हामीबाट उम्केर जाने साहस गर्न सक्दैन किनकि गइहाल्यो भने पनि त्यो हाम्रो शुल्कबाट बच्न पाउँदैन ! एकाध हजारको मात्र कुरा भए पो ! अनि त कहाँ जान्छ मछली ?’

‘यो त जबर्जस्ती भएन र ?’

‘हैन, करीब आधावर्ष उनीहरुले हामीलाई यसरी शुल्क तिरेपछि बाँकी काम हाम्रो नि त ! एक प्रकारको ठेक्का नै भन्नुस् ।’

म फेरि घोत्लिएँ । म हराएको महसुस गरी उनले मलाई आफ्नो चोर औंलाले घोचेर झस्काए । जसै मैले उनको अनुहारमा हेरें, उनले आफ्ना दुबै आँखी भौं कुन्नी के मानेमा एकसाथ उँभो खुम्च्याइ तल झारे । यसो गर्दा उनको निधारमा उठेका उनेक गाढा क्षितिजीय रेखाहरुले उनका अनेक गुप्त विशेषताहरुलाई अन्डरलाइन गरेको देखें मैले ।

त्यसपछि बाहुबल म बाट टाढिए र अद्यापि मूल गेटमै रहेको विद्यार्थीको त्यो थुप्रोलाई प्रवेशपत्र वितरण भइरहेको झ्यालसम्म विस्तार गरिदिए । आफ्ना दुई सहयोगीलाई प्रवेशपत्र वितरण व्यवस्थामा ध्यान पु¥याउन अह्रयाए र आफू लागे अर्का सहयोगीको सहायतामा तिनीहरुको प्रवेशपत्रको क्रमसंख्या आफ्नो डायरीमा उतार्ने कार्यमा ।

यो कार्यको समाप्तिपश्चात बाहुबलले आफ्नो डफ्फालाई एकट्ठा गरे र एकखाले गम्भीर अध्ययनमा जुटे । बाहिरैबाट देखिने क्षितिजीय रेखामा ठडिएका बन्दकोठाहरुतर्फ आफ्नो चोर औंला सोझ्याए, ‘एक, दुई तीन, चार……….’ अनि उही औंला आफ्नो डायरीमा टिपोट गरिएको क्रम संख्याउपर ‘एकसट्ठी, बैसट्ठी, त्रिसट्ठी, चौंसट्ठी….’ अनि ‘युरेका’ ।

उनले त्यो डफ्फालाई विद्यालयबाहिर निस्कन आदेश गरे र त्यसलाई कम्पाउण्ड बाहिरको एक छेउ हँुदै विद्यालय भवन पछाडि ल्याइ उभ्याए । र, त्यहाँ पुनः शुरु भयो बाहुबलीय अध्ययन÷अध्यापनको अर्को अध्याय ।

उनले पर्खाल र कोठाको झ्यालबीचको दूरी आफ्नो दृष्टिले नापे । कम्पाउण्ड बाहिरको भूगोल जाँचे । खोल्सा खाल्सी, कान्ला कान्ली, रुख बुट्यान सबै–सबै र आफ्नो अध्ययनको निष्कर्ष यसरी सुनाएः ‘हाम्रो स्कूल यी यो पाँच नम्वरबाट शुरु भएर ऊ, त्यो नौ नम्वरसम्म छ । यी यहाँनेर हाम्रा साथीहरु हुन्छन् । तिमीहरुले प्रश्नपत्र पाउना साथै पाँच नम्बरबाट एउटाले त्यसको पहिलो आधा र ६ नम्बरको एउटाले अर्को आधा यी यहाँबाट सुट्ट फालिदिनू । हाम्रा साथीहरुले ऊ त्यहाँ बसी काम गर्छन्, अनि यी यो यो बाटो हुँदै माल भित्र जान्छ । अनि त अट्याक दनादन । बुझ्यौ ?’ ‘एस सर ।’

द्वन्द्वको समाप्तिताका छापामारको भिडियो हेरिएथ्यो । कमाण्डरले सिकाउँथे भूइँमा लेखेर पहिलो सेन्ट्री यहाँ छ, यसरी भत्काउने । दोस्रो यहाँ, त्यो यसरी । अनि भित्र पुगिन्छ । त्यसपछि आसल्ट विथ एलएमजी र एसएलआर, बुझ्नु भो काम्रेड ? एस सर ।

राज्यामाथि दश वर्षसम्म गरिएको त्यो आसल्टकै सिको अभ्यास लाग्थ्यो यो, शिक्षामाथि र पूरापूर ‘काडर–टर्नड्–टिचर’ लाग्थे बाहुबल । विद्यार्थीको स्कूले जीवनको अन्तिम कालखण्डसम्म पनि यसरी विद्यार्थी सँगै रही अध्यापनरत बाहुबलले अन्ततः आफ्नो पाठ्यवस्तुको अन्तिम अध्याय यही भवन पछाडि टुङ्ग्याए र भोलि बिहान फलाम ढोके यो किल्लामाथि धावा बोल्ने खुला चुनौती लोकजनलाई दिई हुइँक्याए करीव सत्तरी जनाको आफ्नो डफ्फा, मानव स्वरयन्त्रको अन्तिम सामथ्र्यबाट निस्कने उही कर्णकटु ‘हे…….हा……. हु…..’ का साथ ।

भोलि सखारै त्यो डफ्फा उही बसमा उसैगरी आयो । बाहुबलले विद्यार्थीलाई मूलगेट भित्र प्रवेश गराई आफ्ना सहयोगीलाई भवन पछाडि खटाए । किल्ला प्रमुखको सक्रियताले प्रारम्भमा त्यहाँ कुनै बेथिति हुने संकेत नदेखिएबाट आजित बाहुबलले फोनमार्फत आफ्नो थप शक्ति झिकाए । ‘कडाई गर्न पाइँदैन– यस्तो प्रमुख चाहिँदैन’ नारावाजी शुरु भयो । त्यसपछि ढुंगामुढा । केही समयको ढुंगामुढा, लाठी र नाराको वर्षातपछि सेन्ट्री पोष्टहरु बाहुबलको कब्जामा आए । भित्रका गार्डहरु त सदाकै आत्मसमर्पणकारी । बरु किल्ला प्रमुखले पनि किल्लामाथिको आफ्नो वश गुमाए । हिँजो बाहुबलले प्रशिक्षण गरेकै शैलीमा त्यहाँ धुवाँदार आक्रमण भयो । नीति, नियम, विवेक, अनुशासन, कर्तव्य, मर्यादा सब खरानी भए । ऐन कानूनबाट बर्जित किताब, गाइड, गेसपेपर सबका सबले किल्लारुपी राज्यभित्र आफ्नो दरिलो उपस्थितिमात्र जनाएनन्, आफ्नो अभिमतसमेत लेखाए जबर्जस्त । राज्यका पानापानामा, सुनौला अक्षरले ।

यो खबर उसै मध्यान्ह हेडक्वाटरमा पुग्यो । भोलि त्यहाँबाट आउने भए यहाँ किल्ला निरीक्षण हेतु । बाहुबललाई एउटा चुनौती– उनीहरुलाई यहाँ आउनबाट कसरी रोक्ने ?

बाहुबलले आँखा चिम्ले र देशलाई सम्झे । बाहुबलका सामु निरीह देशले आफ्नो इतिहासको पानाबाट एउटा प्रयोगसिद्ध रणकौशल झिकी उसको स्मृतिमा राखिदिइन् । ऊ बेला पश्चिम हान्नु छ भने उसै रात पहिला पूर्वमा पड्काउनु पथ्र्यो स–साना पटाका । ओठ तालु सुकाउँदै जसै सम्पूर्ण शक्ति त्यता खिचिन्थ्यो, यिनका पालो यता हान्नु पथ्र्यो धुम कि धुम । वाह ! बाहुबलको दिमागको बत्ती बल्यो । मुस्कुराउँदै आँखा उघारे र उसै अपरान्ह हेडक्वाटर नजिकका केही केन्द्रहरुमा केन्द्र प्रमुखहरु सोही केन्द्रकै परीक्षार्थीका नातेदार भएको उजुरी दर्ता गरे ।

भोलिपल्ट हेडक्वाटरको ध्यान यही उजुरीको छानबिनमा केन्द्रित भयो । केन्द्र प्रमुख तथा अन्य कर्मचारीहरु ठाउँ कि ठाउँ ‘टर्मिनेट’ भए । यसले ठूलो विवाद र कचिङ्गल निम्त्यायो । लहरो तान्दा पहरो घर्किनाले हेडक्वाटर पर्सी र निको पर्सीसम्म पनि यस्तै छानबिन र कारवाहीमा भूलिरहँदा यता बाहुबलले दोस्रो, तेस्रो र चौथो दिनसम्म पनि आफ्नो धुवाँदार आक्रमण जारी राखे । उफ्, इतिहासले पनि के मात्र सिकाउँदैन !

पछिल्ला एकाध दिनहरुमा यहाँ कोही नआएका भने होइनन् । तर त्यो दश पन्ध्र मिनेट बाहुबलले यहाँ को बेथितिलाई स्वाट्टै बढारिदिन सक्थे र त्यसपश्चात त्यसलाई पुनः जागृत गराइहाल्न पनि । यसरी बाहुबलले पूरापूर नौ दिनसम्म आफ्नो कौशलको सफल प्रयोग यहाँ गरे । आफ्नो बाहु र बचनलाई आवश्यकतानुसार कहीं सलाम त कहीं फलाम बनाउँदै ।

अन्ततः परिणाम आयो । त्यहाँ नयाँ हुनु केही थिएन । उही आदर्श माविका विद्यार्थीहरु सर्वाधिक पास भए । मतलव उही बाहुको बल पुरस्कृत भयो ।

आ–आफ्नो विद्यालयका नतिजाप्रति फुङ्ग देखिने आम संगीहरुमाझ बाहुबल माड्साप कम्ति फुरुङ्ग देखिन्नन् आजकल । शिक्षाको बैठक, कार्यशाला, अन्तक्र्रिया र गोष्ठीहरु जहीँतहीं उनको खुबै चर्चा हुन्छ– हेर सरकारी शिक्षक नाथे, यो हो लगनशीलता र परिश्रमको फल । आखिर गरे हुन्न के ? देख्तैनौ दृष्टान्त बाहुबल ?

सुनिन्छ, बेसरमलाई यसवर्षको शिक्षा पुरस्कारको लागि सिफारिस भइसक्यो रे ।

(स्रोत : नयाँ युगबोध दैनिक – सौगात)

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.