~ध्रुवचन्द्र गौतम~
उसको घर म यसअघि गएको थिइनँ । परिचय धेरै पुरानो हो । म यसलाई रेस्टुरेन्ट मित्र भन्छु । रेस्टुरेन्टबाहेक कतै भेटेको सम्झेर भन्नुपर्छ । मानिस ठीक थियो । हलुको
हास्यको । हलुको हास्यको अर्थ हो, केही व्यक्तित्वको हलुकोपन, केही त्यही हलुकोपनले उमार्ने हास्यरस ।
कहिलेकहीँ, कुरा लाउने बानी पनि थियो । उसलाई थाहा होस्, आज कतै पार्टी छ र म आमन्त्रित छु भने, अगिल्लो दिन फोन गरेर भनिदिन्छ, ‘भोलि चार बजेका लागि बधाई छ ।’
‘कुन चार बजे ?’ मलाई अचम्म लागेर सोधेँ ।
‘उही रञ्जनले दिने पार्टीको ।’
‘ए…हो त, तर तपाईंले कसरी थाहा पाउनुभयो ? तपाईं पनि आउने हो ?’
‘होइन ।’ ऊ भन्छ, ‘मैले फोन गरेको थिएँ, अनि तपाईंको नाउँ सुनिएको थियो, त्यसैले…।’
म भन्छु, ‘यस्तो बधाई त मलाई सधैँ दिए हुन्छ । मलाई त सम्झनसमेत गारो हुन्छ, अब त ।’
‘तपाईं भाग्यमानी हो दाइ ।’
‘खान पाएकामा ?’
‘होइन, यतिका जनाले मानेकामा ।’
‘ठीक छ, त्यस्तो भइरहोस्, तपाईंलाई धन्यवाद दिइरहन्छु ।’
कहिलेकहीँ ऊ आफैँ रेस्टुरेन्टमा उपस्थित हुन्थ्यो । अरूले दिएको पार्टीमा, मेरो सेवा गर्दथ्यो । मेरा लागि अर्डर गथ्र्यो । बेयराले ढिलो गर्र्यो भने, आफैँ पनि ल्याइदिन्थ्यो । यस्तो प्रकारले सहयोगी थियो ।
काठमाडौँमा त्यस बखत नयाँ आएको थिएँ । यहाँका मानिसको बानीबेहोरसित परिचित थिइनँ । यसैले बताएको थियो, ‘धेरै जना यहाँ पैसा बनाएर झार्नमा खप्पिस छन् ।’
‘पैसा बनाएर झार्नमा माने ?’ म सोध्छु ।
ऊ भन्छ, ‘तपाईं आफैँलाई पैसामा परिणत गरेर झारिदिन्छन् ।’
‘त्यो भनेको के हो ?’
‘त्यो भनेको के हो भने दाइ, तपाईंलाई युज गरेर, पैसा कमाउँछन् । त्यस अर्थमा तपाईं उसका लागि पैसा
बझ्नुभयो । झारिदिन्छन् भनेको, तपाईंबाट पैसा झारेपछि, तपाईं पनि त झर्नुभयो नि ।’
उसका कुरा हुन सक्छ ठीक होस् तर मलाई यस्ताको ज्ञान थिएन । त्यसकारण हलुकोसित लिएँ । अहिले त म आफैँ यति टाट थिएँ, मलाई आफू पनि पैसाको हैसियत राखेर झार्न सक्छु भन्ने कल्पनाले नै पनि गौरवको अनुभूति हुन्थ्यो । त्यति टाट दिन हुन्थे ती । विद्यार्थीकाल त्यस्तै हो भन्यो, सन्तोष गर्र्यो । आलुको तरकारीले भोक मार्र्यो । चना तारेको खायो । अरूको पैसा भयो भने मासुचिउरा बजायो, दिन काटियो ।
तैपनि कहिलेकहीँ, यसले मलाई डान्सबार पनि लगेको छ ।
म भन्थेँ, ‘त्यस्ता ठाउँमा जान्न।’
ऊ भन्थ्यो, ‘जानुपर्छ, अनि त अनुभव हुन्छ । अनुभव नगरी पढ्नु, विद्यार्थीजीवनको उपहास हो ।’
उसको तर्क ठीक पनि लाग्दथ्यो, बेठीक पनि ।
अन्त्यमा म जान्थेँ । जाँदा त बाध्य भएर जान्थेँ, तर गएपछि भने रमाइलै लाग्दथ्यो । ऊप्रति कृतज्ञ हुन्थेँ । मलाई यस्तो ठाउँ देखाइदियो, जहाँ म आफूँ त कहिल्यै जान्न थिएँ ।
एकदुई पटक भन्छु मात्र, बढी पतन नदेखियोस् भनेर, हुनचाहिँ बढी पटक नै हो, यसले मलाई वेश्यालय पनि लगेको छ । म अन्त्यमा गएको पनि छु । अन्त्यमा किन भनेँ भने, म आफ्नो नैतिक प्रवचन त पहिले नदिई के छाड्थेँ ? उसलाई पनि थाहा हुन्थ्यो, म जान्छु । मलाई पनि थाहा हुन्थ्यो, म जान्छु । बीचमा पन्ध्र मिनेट नैतिक प्रवचनका उसले सुत्र छुट्याएको हुन्थ्यो । मैले बोल्न छुट्याएको हुन्थेँ ।
नैतिक प्रवचनमा उही, हामी पढ्न आएका हौँ । यसरी बिग्रन थाल्यौँ भने हाम्रो अधोपतन निश्रित छ ।
ऊ भन्थ्यो, ‘यी सब स’यासी कुरा हुन् । एक्काइसौँ शताब्दीमा यस्ता कुराले अर्थ हराइसकेका छन् । अर्थ भए पनि, जसले मान्छ, त्यसलाई हो । तँ–हामी किन मान्ने ? हामी पढ्नमा कमजोर भएका छौँ र बिगार गर्छ ?’
‘राम्रो लाग्दैन । तिनको विवशताको फाइदा लिएजस्तो लाग्छ’, म भन्छु, ‘शोषण हो यो पनि । हामीले तिनको उद्धारक बन्नुपर्ने ठाउँमा, ग्राहक बनिदिनु अनैतिक हो ।’
‘यस्ता चुतिया कुरा नगर’, ऊ भन्छ, ‘उद्धारक, सुद्धारकले के गर्छ ? तिनलाई झन् विस्थापित गर्छ । रोजगार दिन्छ ? दिँदैन । बास दिन्छ ? दिँदैन । तिनीहरूको परिवारलाई शिक्षा–सुरक्षा दिन्छ ? दिँदैन । अनि यस्तो उद्धारको के अर्थ ? बरु हामी त तिनको छाक त टारिदिइरहेका छौँ । ती यही रोजगार गर्छन्, तिनलाई रोजगार दिनामा मदत गर्दछौँ । अनि ?’
म निरुत्तर त हुन्थेँ, तर मनमा एक प्रकारको अपराधबोध अवश्य हुन्थ्यो । पछि पश्चाताप पनि राम्रौ हुन्थ्यो । अविवाहित युवक । झुटो किन बोल्ने ? आनन्द पनि पूरै लिइन्थ्यो । त्यस बखत नैतिक प्रश्नले दुख पनि दिँदैनथ्यो । प्रश्न शान्त रहन्थे, अवयव उत्तेजित रहन्थे ।
खराबी त उत्पन्न हुन्थ्यो त्यसपछि । यो अलिक कस्तो खालको थियो भन्नु हराम खालको ।
यो पनि थाहा नभएको त होइन, तैपनि म बारम्बार फस्थेँ । त्यसको एउटै कारण थियो । आर्थिक व्ययभार यस्तोमा उसैले बेहोथ्र्यो । त्यसैले पनि नैतिकता निरुत्तर हुन्थ्यो । त्यसैले म आफूलाई सान्त्वना दिन भन्थेँ, अन्त्यमा मैले जानैपर्दथ्यो ।
मलाई थाहा थिएन, ऊ विवाहित थियो । ऊ त भन्थ्यो, एकदम भावुक किसिमले, ‘यी देहकर्मी भएर के भयो ? यिनको मनमाथि त कोही चढ्न सक्दैनन् । विवशताका कारण यस्तो काम गरेका हुन् । हामीलाई खाजा खाएनौँ भने छटपटी हुन्छ । यिनले खानै नपाउँदा कस्तो होला ? म त यिनकै केशको छायामा सिङ्को जीवन बिताइदिन तयार छु ।’
तिनीहरूसित उसको तालमेल पनि राम्रो बसेको थियो । ती उसका लागि भान्छा तयार गरेर बस्दथे । बेलाबखत सापटपैँचो पनि चलाइदिन्थे ।
ऊसित भएपछि ऊ, तिनीहरू खुसी हुने गरी थपेरै चुक्ता गरिदिन्थ्यो । धनी बाबुको छोरो थियो । पढ्नु उसको आवश्यकता थिएन, मेरो जस्तो, शोख मात्र थियो । नत्र ऊ आफ्नो ठाउँमा त निकै रबाफले बसेको थियो ।
काठमाडौँ आएपछि उसमा यस्तो परिवर्तन आयो, कसैले कल्पनै गर्न सक्तैनथ्यो । उसको हेयर–स्टाइलदेखि आउटफिटसम्म सारा बदलिए । सुन्थेँ, उसको जुत्ता नै पाँच हजारभन्दा कमको हुँदैनथ्यो । उसको शरीरबाट एक प्रकारको सुगन्ध प्रवाहित हुन्थ्यो, जसमा विदेशी सामानको हात हुन्थ्यो । पूरा अभिजात शैली थियो ।
त्यस्तो मानिस, वेश्याहरूसित सापट लिन्थ्यो भने मलाई लाग्छ, केवल देखाउनलाई वा तिनको मदत गर्नलाई ।
जे होस्, उसको खराबीको कुरो आफ्नै ठाउँमा छ ।
मलाई त त्यसैले मुस्किल पाथ्र्यो । शिर निहुराउनुबाहेक उपाय थिएन ।
जस्तो डान्सबारमा गएको भोलिपल्ट कलेज गयो, सारा साथी सोध्थे, ‘हिजो मजा आयो ? केटीहरूको डान्सले केही असर गर्र्यो ?’
म भन्थेँ, ‘तिमीहरूलाई कसले भन्यो, म त्यहाँ गएको थिएँ ? म त आफ्नो गाउँको एक जना…।’
सबै हाँस्न थाल्दथे, ‘साला, हामीसँगै ढाँट्ने !
कोहीकोही भन्थे, ‘गाउँको एक जना पनि त्यहीँ काम गर्ने होली नि त ।’
यही उसको खराबी थियो ।
एक पटक त बडो लज्जास्पद स्थिति भयो । वेश्याकहाँ लग्यो त्यसले । सङ्गोच मलाई तिनीहरूसित पनि लाग्दथ्यो । यद्यपि थाहा थियो, तिनले पैसा लिएका छन् । त्यो थाहा पाएर ऊ मलाई केही वाचाल वेश्या भिडाइदिन्थ्यो ।
त्यति मात्र होइन । कुनै कुनाको छिद्रबाट मेरो क्रियाकलापसमेत हेरिरहन्थ्यो । यो मोरोले पैसा बरबाद गरिदिने त होइन ? हुन सक्छ, यस्तो आशङ्गामा । कारण, ती अलिक महँगा र खानदानियाँ खालका हुन्थे र प्रायः भन्थे, यस्तो जीवनमा पहिलो पटक गर्दै छु । भर्जिनिटीको निस्साप्रमाण के हुन्छ ? तिनकै वचन । यसले मलाई केही पवित्रताको बोध गराओस् र म सक्रिय हुँ भन्ने त होला !
तर मलाई मुस्किलै पथ्र्यो । म असफल नै रहन्थेँ ।
एक दिन त भोलिपल्ट, साथीभाइले त भने नै ।
म झर्कें, ‘तिमीहरूलाई मेरो तस्बिर पाइएको छ ? कि भिडियो खिच्यौ ?’
तिनीहरू चुप लागे त्यस दिन । म त्यसपछि मेरो एउटा नातेदारकहाँ गएँ । खाना खान । बाहिरबाट, मेरी एक जना सानीमा आएकी थिइन् । तिनी त्यस दिन सरासर मनिर आइन् । सानीमाले सोधिन्, ‘बाबू, एउटा कुरा सोधूँ ?’
‘सोध्नुस् न ! मैले भनेँ ।
‘तिमी बिहे कहिले गर्ने ?’
‘पढाइ सकूँ अनि ’ मैले भनेँ, ‘किन र सानीमा ?’
सानीमाले भूमिका पनि बाँधिनन्, घुमाइफिराइ पनि गरिनन्, सोझै, सङ्गोचरहित भएरै भनिन्, ‘तपाईं हिजो रन्डीकहाँ जानुभएको थियो रे !
त्यस बखत पहिलो पटक मलाई अनुभव भएको थियो, मेरो शरीरमा प्रवाहित हुने सारा रगत सुकेको छ ।
प्रतिवाद त गरेँ, तर असत्यमा मान्छे, बाहिर टिके पनि भित्र टिक्नै सक्तैन । तत्काल ढलिहाल्छ । म ढलेको
थिएँ । सुकेको रूखझैँ । एउटै फरक थियो । सुकेको रूख लज्जित हुँदैन, म जीवनमा त्यत्रो लज्जित पहिलो पटक भएको थिएँ ।
त्यसै बखत मैले उसलाई जति भनेँ, त्यो पराकाष्ठा थियो । त्यसपछि भेटघाट, बोलचाल बन्द । कलेज समाप्त भएपछि कुनै सम्पर्क पनि बन्द ।
अब बीस वर्षपछि म ऊसित भेट्न जाँदै थिएँ । उसैले फोन गरेर भनेको थियो, ‘अब पनि पुरानो कुरा मनमा लिएर बस्छस् ? आइज न मेरो घरमा । तँलाई जग्गा चाहिएको छ भन्थिस् । अर्को साथीले बतायो । म त अचेल त्यस्तै कारोबार गर्छु । हाउजिङ पनि छ । तँलाई उचित किसिमले दिलाइदिन्छु ।’
‘तँ त यस्तो गर्नुपर्ने खालको थिइनस् । त्यत्रो सान थियो तेरो ?’ मैले भनेको थिएँ ।
‘ती सब अध्याय समाप्त भइसके । अब त मै ग्राहक पर्खेर बस्छु । ग्राहक आयो, काम चल्यो, आएन त्यस्तैत्यस्तै हुन्छ ।’
यसले मैले बुझेँ यतिकैले ।