~गोविन्दप्रसाद आचार्य~
मैले देश खोज्दै जाँदा अपराधीको मुठ्ठीमा छ
देशको नक्सा खोज्दै जाँदा अपराधीको गोजीमा छ
साझा देश खोज्दै जाँदा अपराधीको गुठीमा छ
स्वतन्त्र देश खोज्दै जाँदा अपराधीको कोठीमा छ
अति साह्रो दुख्छ देश सानो केश झर्दा पनि
कसको मन रून्न होला ? देशको गर्दन हान्दा पनि
खाने थाल र कोपरामा भिन्न किन नदेखेको ?
ज्यान माराले देश मार्न खिन्न किन नमानेको ?
असतीको मुखैबैरी स्वतन्त्र देश मार्छु भन्ने
बउलाएर खाने थालमा दिशा पिसाव गर्छु भन्ने
थुक्क मोरा बुद्धि कस्तो लाज पचेको जाली जस्तो
अराजक बाँदर जस्तो घरको छानो फाल्ने कस्तो
छानो फाल्दा बजाउँदा हुन् वन बाँदरले ताली
कहाँ बस्ला बाँदरले बस्ने थलो फाली
यै बारीको मकै मिठो यै खेतको धान
बाली भित्र बाँदर पस्यो किसान हो हान
बाँदरलाई केको माया वनबाट आयो
दुःख लाग्यो किसान हो हाम्रो खेती खायो
सगरमाथा माथमाथि असतिले टेक्ने
गासे बाँदर हाम्रो घरको छानो किन थुत्ने
यहाँ भन्दा के हुने हो हुनु क्षति भयो
खेती गर्ने किसानले बाँदर मालिक भयो
बाँदरले आगो लग्यो घरको छानामाथि
घर पोल्ने बाँदरले गर्छ भाँती भाँती
देश पोल्ने बाँदरलाई खान नदेऊ अन्न
लौरा मुङग्रा हात हातमा समाऊ बाँदर हान्न
देशभक्तका दरा लौरादेखि बाँदर भागोस
घर पोल्ने बाँदर खेद्न मेचीकाली जागोस्
घर पोल्नेले किन खाने देशको अन्न पानी
छुचो बाँदर जस्तो हुन्छ दलालको बानी
यो बेलामा जित्नु पर्छ तात्ने बेला आयो
होइन भने नेपाली हो बाँदरले देश खायो
दलालको बानी हुन्छ आदेशलाई मान्ने
देशभक्तका दरा हातले घर पोल्नेलाई हान्ने
देशभक्तको विवेकमा विर्को लाग्या छैन
देशघाती देशमाथि बस्ने हक छैन
देशघाती देशमाथि बस्दा चित्त दुख्यो
सगरमाथा आँखाबाट आँसु अति बग्यो
पशु कुकुर इमानदार हुन्छ तर घरमा
देशघाती नाँचे देशमा इसाराको भरमा
देशघातीलाई बचाउँदा सगरमाथा रोयो
यो देशको स्वतन्त्रता देशघातीले छोयो
देशघातीलाई छुट किन देश घात गर्न
देशघाती सत्तामाथि सकिएन हेर्न
सामन्तको नाइके गयो दलालको दाऊ
देश चिथोर्ने दुश्मनले पायो ठूलो घाऊ
दलालले लुट्नलाई माफी माग्न सक्छ
माफी होइन दलाललाई लौरा हान्नुपर्छ ।
गति छाडा पतितको पतन गराइदेऊ
अवसरवादी दलाललाई सिस्नु पानी लाऊ
हाम्रो के हो राम्रो के हो देशभक्तले जान
असती र अगस्तिलाई सत्ताबाट तान
२०६८÷७÷२८
(स्रोत : हाँक विक्ली – वर्ष २८, अंक ४५ – 19 Oct. 2011 – २०६८ कार्तिक २ गते, बुधबार)