हास्य र व्यंग्य भनेको जेरी र स्वारी जस्तै हो । स्वारी मात्रै देख्यो भने जेरीको याद आइहाल्छ, जेरी मात्रै देख्यो भने स्वारीको याद आउँछ । हास्य र व्यंग्य भनेको अलिअलि हामी ‘मह’ जोडी जस्तै पनि हो, मदन कृष्णलाई एक्लै देख्यो भने हरिवंश खै त भनेर सोधिहाल्छन्, हरिवंशलाई एक्लै देख्यो भने जोडी किन छुटेर हिँडेको भन्छन् । हास्यव्यंग्यको जोडीचाहिँ आजकल नेपालमा सँगै हिँडेको देख्नै छाडिसक्यो, जताततै व्यंग्य व्यंग्य मात्र देखिन्छ, हास्यचाहिँ कतै देखिँदैन । बाटामा हिँडेको मान्छेको मुहारमा हास्य देखिन्छ कि भनेर हेर्यो सबैको मुहार मलीन देखिन्छ । कसैको मुखमा हास्य देखिँदैन । कर्मचारीको मुखमा हास्य देखिन्छ कि भनेर हेर्यो भने नातावादले गर्दा होला एक दुईजना भ्रष्टाचार गर्ने कर्मचारीको मुखमा बाहेक अरू कसैको मुखमा हास्य देखिँदैन । व्यापारी, उद्योगपतिका मुखमा हास्य देखिन्छ कि भनेर हेर्यो भने अपहरण, चन्दा आतंक, हडतालले गर्दा होला एक दुईजना काला व्यापारीका मुखमा बाहेक कसैको मुखमा हाँसो देखिँदैन । कति उद्योगपति, व्यापारीहरू हाँसो खोज्न पलायन भइसके विदेशतिर, बुद्धिजीवीहरू हाँसो खोज्न विदेश पलायन हुँदै छन्, देशमा हजारौंहजार युवा हाँसो खोज्न अरबतिर पलायन हुन्छन् तर ती युवाहरूले अरबतिर पनि हाँसो भेट्दैनन् ।
हाँसोले नेपालीलाई पछ्याउनै छोडिसक्यो । हास्यव्यंग्यको जोडीमा जताततै व्यंग्य देख्नु हास्य कतै देखिनुले मनमा साह्रै चिन्ता लाग्यो । चिन्तित भएर सुतेँ । सपनामा वासुदेव लुइँटेललाई देखेँ, भैरव अर्याल केशवराज पिँडाली पनि सिंगै हुनुहुँदोरहेछ । मैले वासुदेव लुइँटेललाई सोधेँ, हास्य र व्यंग्यको त्यस्तो राम्रो जोडी आजकाल त नेपालमा जताततै व्यंग्य मात्र देख्छु । तपाईं, भैरव अर्याल, केशवराज पिँडाली त हास्यव्यंग्यका अग्रज व्यक्तित्व हुनुहुन्छ तपाईंहरूलाई थाहा छ नेपालबाट हास्य कता गयो ?
वासुदेव लुइँटेलले भन्नुभयो, हेर हरिबाबु हास्य भनेको अति संवेदनशील हुन्छ, जहाँ सुख, सम्मृद्धि, राजनीतिक स्थिरता, शान्ति हुन्छ त्यहाँ मात्रै हास्य बन्दछ रमाएर । नेपालमा शान्तिसुरक्षा छैन । जताततै आतंक, राजनीतिक अस्थिरता अनि हास्य बस्न सकेन भाग्यो नेपालबाट । मैले भनेँ, हास्य र व्यंग्यको त्यस्तो अमर जोडी त्यो हास्य त बेइमान रहेछ व्यंग्यलाई एक्लै छोडेर आफू भाग्न हुन्छ त ? व्यंग्यलाई पनि सँगै लिएर जान पर्दैनथ्यो ? भन्दा भैरव अर्यालले भन्नुभयो, हेर बाबु हास्यलाई सबै देशले स्वागत गर्छन्, हास्यलाई एयरपोर्टमै भिसा दिन्छन् तर व्यंग्यलाई कुनै देशले पनि भिसा दिन खोज्दैन, आफ्नो मुलुकमा छिर्नै दिन खोज्दैन, त्यसैले हास्य विदेश पलायन भयो, व्यंग्य जान पाएन । मैले भनेँ, त्यसो भए हास्य त धोकेबाज रहेछ, त्यस्तो मिल्ने साथी व्यंग्यलाई एक्लै छोडेर आफू चाहिँ लुसुक्क विदेश भाग्न हुन्छ ? के ऊ पनि यहीँ बस्नुपर्छ ? वासुदेव लुइँटेलले भन्नुभयो, तिमीहरू ‘मह’ जोडीमध्ये कोही एक फुत्त विदेश भाग्न सक्छौ नि ? तिमीहरूलाई त ग्रिनकार्ड लिन सजिलो हुन्छ रे ? मैले भनेँ, हेर्नुस् आदरणीय अग्रजहरू, यो देश जति बिग्रे पनि जस्तोसुकै स्थिति आइपरे पनि हामी देश छोडेर भाग्दैनौं । दिमागले भ्याएसम्म शरीरले थामेसम्म नेपालमै बसेर तपाईंहरूले देखाउनुभएको बाटोमै हिँड्नेछौं । तपाईंहरूले जस्तै नेपाली भाषाको सेवा गरेर बस्नेछौं भन्दा वासुदेव लुइँटेल साह्रै खुसी हुनुभयो र भन्नुभयो, ल तिमीहरूलाई मेरो आशीर्वाद छ, तिमीहरूको जोडीलाई म एक लाख रुपैयाँको पुरस्कार दिनेछु । देशमा भ्रष्टाचार, अत्याचार, आतंक, राजनीतिक अस्थिरताको विरुद्धमा आवाज उठाइरहनु, बिदेसिएको हास्यलाई फेरि नेपालमा बोलाएर व्यंग्यसँग मिलाएर राख्नु भन्नुभयो, वासुदेव लुइँटेलले भैरव अर्याललाई पनि मह जोडीलाई तपाईं पनि केही दिनुहुन्छ कि भन्दा भैरव अर्यालले मैले पनि मेरो नामको पुरस्कार दिइसकेँ तिमीहरूलाई, अहिलेलाई आशीर्वाद मात्रै छ । नेपाल आमाको सेवा गरिरहनु बाबुहरू भन्नुभयो । मैले भनेँ, हस् अग्रजहरू, नेपाल आमाको सेवा गरिरहन्छौं ।
प्रकाशित: २०६७ कार्तिक १३
(स्रोत : Kantipur)