~प्रकाश सुनुवार ‘निराकार’~
एउटा गीत
त्यस्तो होस्
जुन गीतले बिलाउँदै गएकाहरुको भाषा वुझोस्
उनीहरुको अक्षरको कुरा गरोस्
उनीहरुले वजाउने बाजाहरुको संगितलाई बुझोस्
उनीहरुको भेषभुषा पहिरिन सकोस्
उनीहरुको पिल्सिएको पिडाहरुलाई बुझोस्
उनीहरुको भावनाहरुलाई आत्मासाथ गर्न सकोस
उनीहरुको बेदनामा आँसुका थोपाहरु साट्न सकोस्
उनीहरुको वास्तविक इतिहास बोल्न सकोस्
उनीहरुको खुसीहरुमा रमाउन सकोस्
ता कि
वर्तमान सिंगो समाजमा
विद्यमान सवै रंगहरुले
एउटा प्रेमको तरंग फैलाउन सकोस् ।
समाज निर्माणको लागि
एउटा नयाँ उर्जाशक्ति भएर प्रस्तुत हुन सकोस्
म त्यस्तो गीत लेख्न वसेको छु ।
त्यस्तो गीत
जुन गीतले
पहाडको खोंचहरुमा
दिनको उज्यालोमा हराएर वसेकाहरुको गोठहरुमा
एक अन्जुली उज्यालो पस्कन सकोस् ।
विश्वभरिवाट फुलका रसहरुको संकलन गरेर
भीरहरुमा बच्चा हुर्काउँदै गरेका
पौरखी भीरमौरीहरुको परिश्रमको कदर गर्न सकोस् ।
कुट्टो कोदालोले खोर्सेर
माटो मलिलो वनाउने
हातहरुमा उठेको पानीफोका फुटाउन सकोस् ।
म त्यस्तो गीत लेख्न वसेको छु ।
र, म त्यस्तो गीत रचना गर्नेहरुको
सुन्दर वस्ती वसेको कल्पना गरिरहेछु ।
(२४ जुन २०१६, फार्नवोरो)
(स्रोत : रचनाकारको ब्लगबाट सभार)