छन्द : स्वागता
अङ्ग-भङ्ग हुन गो गरिखाने
छैन चाहत उसै मरिजाने ।
भन्दथे जिजु सधैँ तर साने !
सत्यमेव जयते परिणामे ।।
मारकाट बल-बन्दुक छाने
क्रान्तिका गफ दिए जजमाने ।
खोसिए अब सबै नख-प्वाँख
सत्यमेव जयते परिणामे ।।
युद्ध-नायक थियो बलशाली
गर्जियो अभय-स्याल सिंगाने ।
फर्कियो समयको अब लाठी
सत्यमेव जयते परिणामे ।।
सास फेर्छ तर आश मरेको
आँसुमा बह बगाउँछ रामे ।
युद्धमा सब लुटे तर हेर
सत्यमेव जयते परिणामे ।।
जे थिए सब लगे धनमाल
झोपडी घर थियो बम हाने ।
खोल्छ रे नियतिले अब भेद
सत्यमेव जयते परिणामे ।।
युद्धको हरहिसाब कहाँ छ ?
घाउ पुर्नु कसरी म न जाने ?
आश भन्दछ सधैँ बन धीर
सत्यमेव जयते परिणामे ।।
छन्दः- स्वागता
लक्षण र सूत्र :- स्वागतेति रनभा गुरुयुग्मम् ।
गण-मात्रा :- रगण नगण भगण गुरु गुरु
SIS III SII S S
लय :- लालला ललल लालल ला ला
(स्रोत : रचनाकारको फेसबुकबाट सभार)