कविता : हिटलरको दुर्भाग्य

~दिनेश अधिकारी~Dinesh Adhikari

रमाउनका लागि
खोलाको कलकल सुन्न धाउनु पर्दैन अरुले जस्तो
वसन्त पर्खेर
कोइली-स्वरकै प्रशंसा गाउनु जरुरी छैन
पोहोर-परारजस्तो
यो बेला
चन्द्रमालाई कसैको पोको पारेरै लगे पनि
सायद मलाई पछुतो हुने छैन
यो बेला
शरद्को छाती सम्पूर्ण हिमपातले ढाकिए पनि
सायद उजाडताले मलाई छुने छैन
यतिखेर
भर्खर-भर्खर बामे सर्न थालेकी
म, मेरी सानी छोरीसँग खेलिरहेको छु

म जान्दिनँ
मैले जस्तो औपचारिकताका खित्काहरु छोड्न
ऊ जान्दिन
मैले जस्तो कुटिल शब्दहरु सोच्न
शब्दकोशलाई सधैँ एउटै मुस्कानले जितेकी छ उसले
सङ्लिन्छे जब ऊ आफ्ना कलिला ओठहरुमा
मडारिन्छन् मभित्र असङ्ख्य खुसीहरु
मायामा जताततै छताछुल्ल पोखिएको हुन्छु म
र, सुस्तरी जब छुन्छु
नौनी बिर्साउने उसका आंैैलाहरु
सयौं युद्ध बेहोरेर के भयो?
त्यस बेला एकाएक
मायाले नौनाडीहरुमा फत्रक्क गलेको हुन्छु म

के उब्जाउँछु भन्ने छ कोलाहल रोपेर कानभरि?
भैगो, म बजाउँदिनँ अब
मन्दिरमा बडेमाका घण्टहरु
भैगो, म सुन्दिनँ अब
सङ्गीतका कर्कश धुनहरु
धेरैचोटि बुद्ध ढोगेर अशान्त फर्केको म
काखमा राख्दानराख्दै
बा ! भन्न नसक्ने यो छोरीलाई
अविराम शान्तिको अनुभव गर्न थालेको छु
अटुट सुखले सास फेर्न लागेको छु
बेलाबखत सिँगान पछिदिँदै
बसालेर उसलाई आफ्नो काँधमा
अहा ! कति आनन्द हुन्छ यताउति टहलिनु
म्वाइँ खानु उसका सुकोमल हत्केलाहरुमा
र, उसलाई ताती गर्न सिकाउनु

यदि बिताउनुभएको छैन
एक छक्काल पनि कुनै शिशुसँग भने
ब्यर्थ छन् तपाईका यावत् यात्राहरु
सम्झनोस्
तपाईले अहिलेसम्म
आफ्नै घरको मूल ढोका खोल्नुभएको छैन
भैगो, किन धेरै बेलीबिस्तार लगाउनु?
म त भन्छु-
दुर्भाग्य नै हो यो उनीहरुको पनि
एकैछिन मात्रै पनि बच्चासँग खेल्न पाएको भए
मान्छे भुट्नुको अर्थमा
नेपोलियन पनि सायद विश्वबिजयपिट्ट लाग्ने थिएन
हिटलरले पनि बिश्वसम्राट सपना देख्ने थिएन !

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.