~त्रिभुवनचन्द्र वाग्ले~
धेरै लामो बसाइ भएन जुम्लामा । यस क्रममा सिंजा, महत गाउँ, विष्टबाडा र नाग्मामा केही दिन बिते । एक्लै बिष्टबाडा जाँदै गर्दा निकै थकाइ लाग्यो । तिर्खा लाग्यो । एउटा सम्पन्न जस्तो लाग्ने घरमा पानी खान पसेँ र अनुरोध गरेँ । ‘घरमा कोही हुनुहुन्न, मैले दिन हुँदैन, ऊ त्यहाँ करुवा छ, आँफै पानी सारेर खानुहोस् अति शिष्ट र मधुर स्वरमा २५–२८ वर्षे महिलाले उत्तर दिइन् । किन दिन हुँदैन ? मैले सोधेँ । केही नबोली पूर्ववत आँगनमा सुकाएको सिमी कुट्न थालिन् उनी । सोचेँ, यहाँ धेरै उभिनु अशोभनीय हुन्छ । पानी खाउँ, नखाउँ दोधारमा परेँ । हैन, खानै पर्छ, निर्णय गरेँ । करुवा लिएर मझेरीमा पुगेँ । सरसर्ती हेर्दा काँस, चरेस र तामाका मस्काइएका सफा भाडा थिए चौकामा । पानीसहित बाहिर निस्कें । चिसो पानी पिएँ । आधा पेटसम्म पानी गएको स्पष्टै थाह हुन्थ्यो । निकै भोकाएको थिएँ । पहिला कै ठाउँमा करुवा राखेर मुख पुछ्दै बाटो लाग्नैलाग्दा उही मधुर युवती स्वर मेरा कानमा ठोकिए । मस्तिसकमा झन्किए । टक्क अढिएँ ।
‘पानी बाँकी छ ?’ सिमी कुट्दै गर्दा निउरिएको शीर उठाउदै उनले सोधिन् ।
‘छैन’ मलाई लामो संवाद बोल्न मन थियो तर कति छोटो उत्तर आउने प्रश्न गरिन् उनले ।
मलाई ‘पानी सारेर ल्याइदिनुहोस् न’ उनको शीर उठेको थिएन । सिमीमाथिको प्रहार छुटेको थिएन । फेरि पानी सार्न भित्र पसेँ । पानी ल्याएर दुई हातले करुवा दिएँ । उनले छुट्टै ग्लासमा पानी थापिन् । म बाटो लागेँ । पर सोझो बाटोसम्म करिव तीनचारपटक फर्केर हेरेँ उनलाई । एकोहोरो सिमी कुट्दै थिइन् । टाउको माथि उठेको होइन । क्रमशः उनी छेकिइन । उनको आँगन र घर छेकियो तर सिमी कुटेको आवाज आइरह्यो । किन उनले मलाई पानी दिइनन् ? किन छुट्टै ग्लासमा पानी थापिन् ? मैले सोध्नु पर्ने थियो । यो सन्दर्भले बेचैन बनायो । मनमा यति धेरै प्रश्न, उत्तर, अनुमान र सम्भावना मडारिएर आए कि केही दिनअघि जुफालमा अवतरण गर्दैगर्दा तिला र जवा पहाडमा जहाजको आवाज ठोकिएर आएको तनाययुक्त जर्गन महसुस गरेँ । काठमाडौमा रहदाँ पढेको थिएँ– मध्य र सुदूरपश्चिममा रजोवत धर्मलाई कठोरसँग पालना गरिन्छ । त्यसैकारण उनले मलाई पानी दिइनन् । बच्चाबेलाको स्मरण भयो– आमाहरू नछुने हुदाँ पिताजीको जुटो खानु हुन्नथ्यो । फलेका फलफूलका रूख छुन हुँदैन भन्नुहुन्थ्योे । चरेसका थाल कचौरामा खानुहुन्नथ्यो । मेरो मन निकै तरल भयो । मनोविज्ञानको विद्यार्थी भएकाले पनि हुनसक्छ मलाई यति सानो घटनाले यतिविधि रुमलेको । होइन, उनी त्यो घरमा बाहिरबाट मेला आएकी पनि हुन सक्छिन् वा उनी कथित तल्लो जातिकी (दलित) पनि हुन सक्छिन् । एकातिर बेचैन छु । अर्काेतिर बेचैनीको यही मनोसंवादमा बिस्टबाडाको उकालोमा थाकाइको अनुभव भएन । कहीं बसें । कहीं उभिएँ । देखिन्छ कि त्यो अज्ञात घर, ती चेली भनेर टोलाएँ । तल फाँटमा सम्भवतः हावाले उडाएको धुलो देख्दा पनि मलाई एक प्रकारको सन्तोष भयो– यो तिनै महिलाले सिमी कुट्दा उडेको धुलो हो ।
विस्टबाडामा करिव दुई हप्ता बिताएर तल झर्दै थिएँ । सम्भवतः आजको रात चन्दननाथमा बित्ने छ । केही घुमाउरो भए पनि त्यही सिमी कुिटएको आँगनको बाटो भएर तल झर्ने निश्चय गरेँ । किन यस्तो निर्णय गरेँ ? आफैलाई चित्त बुझ्दो उत्तर दिन सकिरहेको थिइन । तिर्खा छैन तर त्यो घरमा पसेर पानी खाने विचार गरें । सोचेँ, आज उनी घरमा नहुन सक्छिन् वा परिवारका अन्य सदस्यसँगै होलिन्, जसले गर्दा मैले उनीसँग पानी माग्न र उनले दिन पाउने छैनन् । कति द्रविभूत हुन्छन् केटाहरू महिलाप्रति ? सम्भवतः ती केटीलाई अस्तिको घटना याद पनि छैन होला । को आयो को गयो । परबाट उनको आँगन निहालिरहेको थिएँ । आँखा बाटामा थिएनन् । आँगनतिर थिए । मन ठेगानमा थिएन । उडेको थियो । आँगनको डिलमा सुकाइएका लुगा हल्लिरहेका थिए । मान्छेको सङ्केत थिएन । म हिंडेको छु, रोकिएको छु, टोलाएको छु । कतै असामान्य त भएको छैन म ? होसियारी पनि गरिहेको थिएँ । आफूलाई तलदेखि माथिसम्म हरें । खासै केही परिवर्तन छैन । तगारोभित्र पस्दैगर्दा उनको पिठ्यू मच्कदै गरेको देखें । लामो स्वास फेरेँ । हराएको बहुमूल्य बस्तु फेला परेजस्तो भयो । पाइलाको चाल घटाएँ ता कि उनले यता हेरुन् र मलाई देखुन् । ममाथि उनको कस्तो प्रतिक्रिया रहने छ यो जान्न म अति आतुर थिएँ । अहँ त्यसो भएन ।
आँगनमा पुगेपछि म अस्वाभाविक भएँ कि जस्तो लाग्छ । सम्हेलिदै–नमस्कार भनेँ । उठेर दुबै हात जोडेर नमस्कार फर्काइन उनले । उठ्दा उनी, उनको कुर्तासुरवालमा रहेको गहुँको पिठो उँड्दै मसम्म आइपुग्यो । यतैकतै सर्टमा टाँसिए हुन्थ्यो पिठो, मैले कामना गरेँ तर त्यसो नभए पनि पिठोको बास्ना आइरह्यो । म अलि असभ्य भएँ क्यार,े नमस्कार भन्दा मैले हात जोडेको थिइन । उनको दृश्यले मलाई अन्यमनस्क बनायो । हत्तपत्त दुबै हात जोडेँ । उनले पनि हात जोडिरहिन । करिब चौथाइ मिनट यो क्रम रहेपछि उनैले पहिला हात झारिन् र जाँतोमा पूर्ववत गहुँ पिन्न लागिन् ।
‘पानी दिनुहोस् न’ बढी नै विनम्र स्वरमा म प्रस्तुत भएँ ।
कोठामा करुवा छ, सारेर खानुहोस् दुई हप्ताअघिकै स्वर र शैलीमा उनले भनिन् ।
मलाई पानीतिर ध्यान गएन । उनी पूर्ववत गहुँ पिनिरहिन् । अस्वाभाविक तरिकाले म आँगनमा उभिएपछि उनले उही मधुर स्वरमा भनिन् मैले पानी दिनुहुँदैन, आफै सारेर खानुहोस् । खासमा तिर्खा थिएन तर पानी माग्नुको औचित्य पुष्टि गर्न कोठाभित्र पसेँ । करुवा लिएर बाहिर निस्कन केही ढिला गरेँ ता कि उनको कोठा नियालेर हेर्न पाउँ । निहाल्दै गर्दा भित्तामा दीक्षान्तका दुईवटा तस्वीर देखेँ । दीवारानी शाही नाममा लेखिएका थिए ती स्नातक र स्नातकोत्तर तह मनोविज्ञान विषयका प्रमाणपत्र ।
‘मलाई मनोविज्ञान र समाजशास्त्र खुब मनपर्छ’ बोल्ने बहाना झिकें मैले । उनको टाउको हल्लिएको छ मेरो कुराले वा गहुँ पिन्दा, ठम्याउन सकिन ।
‘मलाई गहुँको रोटी खुब मनपर्छ ।’ आफू बोल्न र उनलाई बोलाउन फ्ल्प चलचित्रको सिकारु संवाद निर्देशकको शैली अपनाएँ । दोस्रो प्रयासमा उनको चेहरामा केही परिवर्तन देखिए । हाँसो दबाउन खोजेजस्तो । गालामा नजानिंदो खोपिल्टा परेजस्तो । हातको करुवा बलेसीमा राख्दै भनें– जान्छु । आशा लागेको थियो पानी माग्छिन् र दिन पाउँ । दुर्भाग्य, त्यस्तो केही भएन ।
दुईचार कदम हिंडिसकेपछि उनले सोधिन् ‘यता कति बस्नुहुन्छ ?’
हिंडाइको गति घटाएँ र भनेँ–‘केही हप्ता,चन्दननाथतिर ।’
‘भोलिदेखि क्याम्पस खुल्छ, म पनि दिनहुँ जानुपर्छ त्यता ।’ उनले बोलेको प्रस्टै बुझेको थिएँ तर आँगनको छेउतिरबाट उनी भएतिर फर्कने बहाना गरेँ ‘हजुर के भन्नुभयो ?’ क्याम्पस पढाउनुहुन्छ ?
‘हो’ उनको उत्तर आयो । उसरी नै उनको टाउको जाँतोतिर एकाग्र थियो ।
उनले मलाई पानी किन दिइनन् ? रातभरि निद्रा लागेन् । निश्चय नै नछुने भएर चाहिँ होइन रहेछ । नछुने भएको भए पनि करिव १० दिनमा त ऊ चोखिनु पर्ने । जसरी पनि यो सोध्नै पर्छ उनलाई । बिहानको तीन बज्दै थियो । कतिखेर आउने होलिन् क्याम्पस ? कस्तो लुगामा ? बाटामा एक्कासी यस्तो प्रश्न सोध्न होला र ? प्रश्न, अठोट, डर, अफसोच, आँट, निर्णयबीच उज्यालो भयो । आधा घण्टा क्याम्पसको गेटतिर रल्लिएपछि उनी देखिइन् । आज भने उनैले पहिला नमस्कार गरिन् । समय धेरै थिएन । घण्टी लागिसकेको थियो । अठोटका साथ सोधें–मलाई दुबै दिन किन पानी दिनुभएन ?
‘ए दुबै दिन तपाई नै हुनुहुन्थ्यो ? पहिलोपटकको त यादै भएन, चिया खाँदै गर्नुहोस् म पहिलो पिरियड लिएर आउँछु अनि भनौला’ भन्दै उनी क्याम्पसभित्र गइन् । ४५ मिनट कति लामो,.. मेरो अधीरता चिर्दै उनी बाहिर आइन् ‘आज पहिलो दिन विद्यार्थी आएनन् ।’ तपाईले मेरो हातको पानी खान पाउनु भएन ? अब घर आउनुहोस् पाउनु हुनेछ हाँस्दै भनिन् । भनिन्– द्वन्द्वका बेला यहाँका महिलालाई यस्तो कला सिकाइएको थियो । अपरिचित लोग्नेमान्छे घरमा आए नछुने भएको बहानामा यस्तो अभिनय गरियो भने सुरक्षित हुन सहयोग गर्छ रे । द्वन्द्वकालीन कोल्टी, जुफाल र मान्मा भीडन्तका दृश्य एकपछि अर्को गर्दै आए ।
भालिपल्ट बिहान अचानक होटलको ढोका बज्यो । खोलेँ । हातमा ए–फोर साइजको खाम लिएर उभिएकी दीवारानीलाई नमस्कार भनें । पिरियड लाग्न लाग्यो भन्दै खाम मलाई दिएर भनिन् ‘जुम्लाको उपहार’ मैले धन्यवाद भन्दैगर्दा उनी पर्किसकेकी थिइन् । हतारहतार गइन् । उनी छोपिइन् क्याम्पसको पर्खालले । उत्सुकताले खाम खोलेँ । गहुँका धेरै दानालाई उत्तानो पारेर सेतो कागजमा टाँसेर मुटुको ठूलो चित्र बनाइएको थियो । थप कहीं कतै केही लेखिएको वा सङ्केत गरिएको थिएन । यस्तो किन ? सोच्ने फुर्सद पनि भएन । नेपालगञ्ज झर्न एयरपोर्ट जान ढिला भइसको थियो । यत्नले उपहार झोलामा राखेर क्याम्पसतिर हेर्दै एयरपोर्ट हिडँे । एयरपोर्ट पुगेर जहाज कुर्दैगर्दा दीवाको उपहार पटकपटक हरेँ । किन यस्तो उपहार ? यसको अभिव्यक्ति के हो ? अरू मानिसले मलाई हेरिरहेका हुन्थे । अफसोचले उपहार झोलामा लुकाएँ । दिवारानीको घरतिर हेरेँ । धुलो उडेको देखिन्थ्यो । सोचेँ–दिवा सिमी कुट्दै होलिन् । आज त्यता जान पाएको भए उनको हातको पानी खान पाइन्थ्यो । चन्दननाथ उपत्यकालाई छिचोलेर तिला र कर्णाली हुँदै जहाज तल झर्दै थियो । दिवाको उपहार हेरेँ । राखेँ । अब भने दीवाको गाउँ, चन्दननाथ र सिङ्गो जुम्ला ओझल परिसकेको थियो ।
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )