~शर्मिला खड्का दाहाल~
प्राकतिक छटाले भरिपूर्ण एउटा स्थानमा असाध्यै रमणीय पोखरी थियो । त्यस सौर्न्दर्ययुक्त पोखरीमा एउटा माछाको परिवार र भ्यागुताको परिवार बस्दथे । त्यस पोखरीको सौर्न्दर्यपान गर्न धेरै टाढाटाढाबाट मान्छेहरू आउँथे । उनीहरू त्यस पोखरीमा आएर त्यहाँका राम्राराम्रा माछाहरू देखेर आनन्दविभोर हुन्थे । अनि माछाहरूलाई चारो किनीकिनी खुवाउँदथे ।
यसरी मानिसहरूले आफूहरूलाई मात्र माया गरेको देखेर माछाका परिवारमा घमण्ड बढ्दै गयो । त्यही पोखरीमा रहेको भ्यागुताका परिवारलाई कसैले वास्ता गर्दैनथे । माछाहरू भ्यागुताहरूलाई हप्कीदप्की गरेर सानसँग बस्न थाले ।
एक दिन बूढी भ्यागुतीको धैर्यको बाँध टुट्यो अनि पोखियो बूढो भ्यागुतामाथि- “हैन चेपाँगाँडाका बाउ, हेर न ती भुराहरू हामीलाई कसरी हेप्छन् † हामी कसरी बांच्ने यिनीहरूको हुकुमी शासनमा । यसरी चूप लागेर बसेर हुन्छ – केही त गर्नुपर्यो नि । “
खुम्चेको विवशता र बाध्यता फुकाउँछ बूढो भ्यागुतो “खै, के गर्ने मानिसहरू उनीहरूलाई मात्र माया गर्छन् । उनीहरू राम्रा छन् । मानिसहरूलाई मनोरञ्ञन दिन सक्छन् । हामी राम्रा छैनौ“ । सधैँ उनीहरूको आँखाबाट ओझलमा पर्र्छौँ । अनि के गर्नु उनीहरूको चारो खाएर बाँच्नुसिवाय अरू उपाय नै छैन । अनि कसरी विद्रोह गर्नु । “
“कसरी गर्नु भनेर हुँदैन, अब केही गर्नु पर्यो । वर्षौँ भयो यिनीहरूको शासन सहेको, हामी नकराउने हो भने पानी पर्दैन । पानी नपरे कसरी पोखरी राम्रो हुन्छ, अनि कसरी बाँच्छन् यी भुराहरू -“माछाप्रतिको रिस द्वेग यसरी उकेलिन् बूढी भ्यागुतीले ।
बूढाबूढी यसरी कराएको सुनेर भ्यागुताका सन्तानहरू सबै भेला भए । सबैले बूढी भ्यागुतीको कुरामा हो मा हो मिलाए । अब ती भ्यागुताहरूले मौन विरोध गर्ने निर्णय गरे ।
वर्षायाम सुरु भयो । भ्यागुताहरू कराएनन् । पानी पनि परेन । विस्तारै त्यो स्थानको सौर्न्दय लोप हुँदै गयो । खडेरीले गर्दा त्यो पोखरी सुख्खा हुँदै गयो र निर्जन बन्दै गयो ।
एक दिन त्यस ठाँउमा त्यस सहरका ठूला हाकिम घुम्न आए । त्यस्तो सुन्दर ठाउँ यति निर्जन र उराठलाग्दो भएको देखेर त्यस ठाँउको सरसफाइ गर्ने आदेश दिए । सरसफाइ गर्ने क्रममा त्यस पोखरीको पानी हटाउने भनियो । पोखरी सफा गर्दा भ्यागुताहरूले डिलतिर गएर ज्यान जोगाए । माछाहरू सबै मारिए । त्यस पोखरीमा फेरि सफा पानी हालियो र राम्रो बनाइयो । भ्यागुताहरूले अबका माछा राम्रा, असल र मिलनसार आऊन् भनी भगवान्सँग प्रर्थाना गर्दै कराउन थाले ।
(स्रोत : रचनाकारको ब्लगबाट सभार)