~भिम बहादुर थापा~
उनको सर्वोच्चता
नलेखोस् कसैले,
बचपन देखि
चाउरिएको गाला बीच
लुकेका व्यथाहरु
नकोट्याओस् कसैले,
पिठ्युँभरी नून बोक्दाका
भैंसे र ठोरीका कथाहरु
नसुनुन् कसैले,
ढुङ्ग्री, माड्बरी र बुलाँकीका
विशुध्द मौलिकताहरु
उजागर नगरुन् कसैले,
आखिर
कविताका एक, दुई पाउहरुभित्र
शालिनता
छेकिएर के भो त,
परिवर्तनशिल रहेछ
आखिर यो समय,
हाकाहाकी
मौलिकताभित्र पस्दोरहेछ
यो समय,
दूर-दराज भेट्दोरहेछ
यो परिवर्तन,
सकल स्वीकार्य रहेछ
यो परिवर्तन,
अनि, पुरातन चिर्दोरहेछ
परिवर्तन।
**
चलेकै हुन्
घडी र पला,
उदय र अस्त
गरिरहेकै हुन् सूर्यदेव,
तर, ढल्किँदोरहेछ यो सोह्र वर्ष
गोधुली झरेर
आउने रहेछ अनौठो बिहानी,
त्यसैले,
करौंतिले छियाछिया
बूढी आमाका
कठोर हातहरु,
परिवर्तनको उच्छ्वास चुम्दै
क्यामरा र दूरबिनका
तालहरु सुम्सुम्याउँदैको
आजको परिवेश,
फगत, नलेखोस् कसैले
केवल,
बुढ्यौलीको रहर
अभिशाप यो समय
रुप फेरिएको समय
शैली फेरिएको समय,
आखिर, यो त
परिवर्तनको संवाहक समय,
बस्ती-बस्तीका
वेदना बिर्साउने समय,
छातीभरी आशाका
फूल फुलाउने समय,
रोमाञ्चक समय,
बिन्दास
एउटा जिउँदो समय।
** **
भिम बहादुर थापा
वासिङ्टन, अमेरिका।
(स्रोत : रचनाकारको ब्लगबाट सभार)