कविता : चराहरुको रुख

~रुमानी राई~rumani-rai

मलाई असाध्यै मन पर्छन् चराहरु
र,मन पर्छन् चराका आवाजहरु
चराहरु,
जो मान्छे जस्तो रुखो हुँदैनन्
चराका आवाजहरु,
जो मान्छेको जस्तो कर्कश हुँदैनन् !

मलाई लोभ लाग्छ,
चराहरुको स्वच्छन्द जीवन
र,इर्ष्या लाग्छ
त्यो खुल्ला आकासमा
उनीहरुको निश्चिन्त उडान
जहाँ मान्छेलाई जस्तो बन्धन हुँदैन
जसलाई कुनै बाधा-व्यवधानले छुदैन !

चराहरुको आफ्नो देश हुँदैन
र,कुनै क्लेश हुँदैन
देश नभएपछि
कुनै क्लेश नभएपछि
सिमानाको कुरै आएन !

निर्वन्ध चराहरु
एकाएक गायव भए गाउँबाट
जो,मेरो घर छेऊ
झ्याम्म परेको हरियो रुखमा बसेर
स्वतन्त्रताको गीत गाइरहन्थे
एकताको प्रीत बाँडिरहन्थे
र,प्रेमको रीत साटिरहन्थे !

तिनै चराहरु
जो,घामले भुइँ नटेक्तै
चिरबिर धुन उरालेर गाउँवस्ती ब्युँझाउथे
अनि,बांटिन्थे आ-आफ्नो भोकतिर्खा बोकेर
प्रत्येक साँझ
चिरबिर चिरबिर संगीत भरेर रुखमा
दिनभरको थकान मेटाउंथे
र,रातभर जूनतारासंगै निदाउँथे !

यति सुन्दर गाउँवस्ती छोडेर
यति हरियाली पुर्ख्यौली घर त्यागेर
साँच्चै,कहाँ पुगे होलान् ती चराहरु ?
चराहरु नभएपछि
चराका गीतहरु गुन्जिन छोडेपछि
अचेल उदास छ चराहरुको रुख
सुनसान छ गाउँ
र,अशान्त छ देश
सायाद चराहरुसंगै बसाई हिंड्यो देशको लच्छिन !

एकदिन अवस्य फर्कने छन् चराहरु
र,फर्कने छ देशको लच्छिन पनि
जो,मेरो घर छेऊ
झ्याम्म परेको हरियो रुखमा बसेर
स्वतन्त्रताको गीत गाउने छन् उसरी नै
एकताको प्रीत बांड्ने छन् उसरी नै
र,प्रेमको रीत साट्ने छन् उसरी नै !

मलाई असाध्यै मन पर्छन् चराका गीतहरु
र मन पर्छन् चराका स्वभावहरू
चराका गीतहरु
जो मान्छेको जस्तो विदीर्ण हुँदैनन्
चराका स्वभावहरू
जो मान्छेको जस्तो छुद्रो हुँदैनन् !

(स्रोत : रचनाकारको फेसबुकबाट सभार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.