~निर्मोही व्यास~
छ यो मेदिनीसङ्ग नाता पवित्र
यही स्वर्ग मेरो, यही पुण्य तीर्थ
नखाऊँ कसैको कहीँ गाँस खोसी
सकेमा अरूको बसूँ प्राण पोसी
म आस्था बिसाऊँ सधैँ पात्रतामा
र बाँचूँ म निष्पाप–निर्लोभितामा
उचालूँ मनुष्यत्व, बुद्धत्व ढोगूँ
गरी नित्य सत्कर्म सौभाग्य भोगूँ
नखोजूँ म कैल्यै कुनै सम्प्रभुत्व
नबोकूँ म दासत्र्व बिर्सेर स्वत्व
न रोजूँ म ऐश्वर्य, रोजूँ शिवत्व
र देखूँ सबैमा म सत्–सुन्दरत्व
नखुम्चूँ म सङ्कीर्ण सिद्धान्त पाली
बनूँ खालि मान्छे म जातित्व फाली
पचाएर निन्दा, प्रशंसा सँगाली
जिऊँ जिन्दगी जिन्दगी झैँ सम्हाली
सिकूँ ज्यूँन आँधी–हुरी लाख खप्तै
सयौँ सिर्जना–राग नौला अलाप्तै
सदा स्वाभिमानी शिरै यो उचाली
चढूँ नित्य आत्मीयताको उकाली