~भेषराज रिजाल~
‘आफ्नै देशको कर्णाली नदेख्नेले परदेश कल्पेर किन लोभिने, देश निकाला भएको भए पो वाध्यता हुन्थ्यो परदेशको आश्रय’ परदेश मोह हुने साथीलाई भनेथेँ कुनै दिन मैले ।
२०६८ सालमा जुम्ला सदरमुकाम र आसपासका एकाध गाउँमा पाइला टेकेबाहेक मैले पनि कर्णाली देखेको थिइनँ । संयोगवश मिल्यो कर्णालीको प्रकृति नियाल्ने सुनौलो अवसर, त्यो पनि कहिल्यै नचढेको हेलिकप्टर चढेर । सहयात्री हुनुभयो हेम अर्याल ।
सम्बत् २०७० साल कार्तिक २८ गते एकाबिहानै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र छिरेथ्यौँ हामी । सुदूर र मध्यपश्चिमका केही जिल्लामा पु¥याउनुपर्ने निर्वाचन सामग्री लोड भएपछि भुइँकुहिरो जसरी थुम्काका
चुचुरोमा आत्मीय उच्छ्वास पोख्दै उडेथ्यो सेनाको स्काइ ट्रक । एकैछिनमा पोखरा उत्रिएर फेरि उचालिएथ्यौँ हामी ।
पोखरा छोडिएपछि फेवाको विशाल छातीले विदाइ गर्यो । कास्की, पर्वत र बागलुङका केही चिनेका गाउँबस्तीमा नजर परेथे । मोदी र कालीका नीला नागबेली छोडिएथे । आहा, आफू जन्मेहुर्केको गाउँ देखिएथ्यो ।
त्यो गाउँबाट झिसमिसेमैँ निस्केर हिँडिरहेको ठिटो मल्याङ्दी तर्यो, ज्ञादी पार गरेर ओरालो झरी मोदी तर्यो र उकालो लाग्यो । दुर्लङको उकालोको सल्लेरी छहारीमा कुश्माबाट भर्खरै किनेर ल्याएका पत्रपत्रिका र पुस्तक बिच्छ्याएर सारा संसार बिर्सेझैँ सुस्तायो धेरैबेर । एकदिनभर तड्केर हिँड्दा पुगिने क्षितिजमा टाँगिएको छ गन्तब्य भन्ने आभासले जर्फराउँदै उठेर हिँड्न थाल्यो फेरि । हलहले गाउँ छोडेर फेरि ठडियो संघर्षको उकालो जहाँ संसार भिजाउनेगरी पाइलापाइलामा रसाएको छ मेहनतको सहश्रधारा । फूलपाती चढाएको देउरालीको चौतारोबाट पूर्वतिर फर्केर जसै हेर्दछ, भक्कानिन्छ डहरेको लेकमुन्तिर दूर क्षितिजमा लमतन्न फैलिएको आफ्नो गाउँ देखेर । शायद सोच्दो हो प्यारो गाउँ छोडेर धेरै दिनको लागि जाँदैछु धेरै टाढा । धर्तीको अर्कै छेऊ जस्तो गाउँबाट डेढदुई महिनापछि फर्केर आउँदा तिनै डाँडापाखा देखेर फेरि रसाउँथे आँखा । यसैगरी बितेथे किशोर वयका कलिला दिनहरू । विछोडमा पनि, मिलनमा पनि हरदम आँखाका नुनिलो पानीले धोएर कञ्चन भई हृदयमा टाँसिएको त्यही डहरेको लेक र वरपरका गाउँबस्ती हेरेथेँ आँखा तानीतानी । मेरो बाल्यकालको पूर्वी क्षितिज थियो डहरे । त्यसलाई सम्झेर लेखेथेँ कुनै दिन–
आँगनबाट हेर्दा
थुम्काले सधैँ क्षितिज चुम्थ्यो
क्षितिजले थुम्कालाई काखमा राखेर
उसको हरित केश मुसाथ्र्यो
मलाई लाग्थ्यो –
यस्तै समर्पण नै प्रेम हो
यसको प्रत्यक्ष्य साक्षी सूर्य
मायालु चुम्बन छर्दै
दिनहुँ सुन्दर दिवसतर्फ उठ्न चाहन्छ
हजारौँ रश्मिपुञ्ज फ्याँकेर
धर्तीआकास ब्युँझाउन चाहन्छ
र त,
त्यही थुम्काबाट
हात पसारेर
सूर्य टिप्न
मन लाग्थ्यो मलाई !
ढोरपाटनको विशाल मैदान देखिएथ्यो हामीमुन्तिर । बर्खा गोठ बनाएर बस्दोरहेछ ढोरपाटन । हिउँदमा तुषारो परेका परेली लत्राएर उदासउदास झोक्राएझैँ लाग्यो ढोरपाटन । स्काइ ट्रकको एकोहोरो आलापसँगै क्यामराका पर्दामा देखिएको त्यसको उदासी मेरो मनमुटुमा पनि छोइयो । हात पसारे डाँडाकाँडा छुन सकिएलाझैँ गरी उडिरहेथ्यो जहाज । निर्जन चउरको फराकिलो एकलास सुस्ताएपछि देखिन थाले फाट्टफुट्ट बस्तीहरू । भर्खर पलाएका ठुटा दाँतजस्ता हिमचुलीहरू अजीर्ण चिसो हिमपात उँघिरहेथे ।
सुरूमा घाट्टिएका मात्र थिए, पछि सहनै नसक्नेगरी दुख्न थाले कान । घरि मुखबाट ठूलो सास फेरेर त घरि कानै बन्द गरेर लिइरहेथेँ सास । ‘आफै रोगी भएपछि स्वतः घट्दोरहेछ भोगप्रतिको चाहना’ कान थुन्दै आँखा चिम्लेर भनेथेँ मनमनै ।
धेरैबेरपछि अवतरण भएथ्यो सुर्खेतमा जहाज ।
पश्चिमी पहाडमाथि
दिउँसो चारसिटे सानो हेलिकप्टर उड्यो मङ्गलसेन पुगेर फर्कन । दुईजना ठिटा पाइलट छन् ककपिटमा । पछिल्लो चारसिटमा म एक्लै छु । क्षेत्रीय प्रशासकलगायतका अधिकारीलाई मङ्गलसेनबाट दिपायल पु¥याउनुपर्ने भएकोले छोडिनुभएको थियो हेम ।
होचो भएर उडिरहेछ हेलिकप्टर । निर्जन वन र नीलो नदी छ दायाँतिर । सुन्दर बस्ती छ बायाँतिर । क्षितिज ताकिरहेछ नदीले । नदीमाथि छ एक धर्सो बादल । देखिए काला पहाडहरू । ‘ती माथिबाट देख्दा जति काला देखिन्थे, तिनको गरिबी र विकटता पनि उत्तिकै भयावह होला’ सोच्छु खोजेँ मनमनै । पहिरोको धर्सा देख्दा मनको भित्तामा पनि दरफर्याउँदै काँडाले कोरेझैँ भयो ।
रातोमाटोले पोतेका घरहरू देखिए । सल्लोको दाह्री पालेका बूढा पहाडहरू छोडिए । डाँडामा कुप्री पर्दै लौरो टेकेर हिँडेको मान्छे रोकिएर हे¥यो हेलिकप्टर । युद्धकाल भए शायद छेलिँदो हो त्यो कतै । नदीले बनाएको बगरभन्दा कुरूप देखिए मान्छेले जङ्गल फाँडेर खुइल्याएका सिरिखुन्ने पातलहरू । हाँसेका हिमाल धेरै टाढा छन् मबाट जसरी मनमा छोइँदैन खुसी मेरा सुखहरूमा । घामले छड्के हेरेर उदासी पोखिरहेछ एकापट्टि । सल्लाको पाखामा हामी चढेको हेलिकप्टरको छाया दगुर्यो ।
पातला छन् बस्ती, घना छन् थुम्का, सफा छ आकास, सफा छन् हिमाल । प्रकृतिका अनुपम वरदान देखेर आनन्दको उन्माद पिएको छु मैले ।
घाम छड्के पर्नाले घुर्मैला देखिएका छन् पाखा । सिञ्चाइ नपाउनाले फुस्रा देखिएका छन् खेत । कतैकतै टीकाले सिंगारेका नारी मुहार जस्ता गोबरका थुप्रा पाँजिएका खेतबारी पनि देखिन्छन् । देउरालीमा देखिन्छन् पार्टीका झण्डा । कहिँकतै देखिँदैनन् राष्ट्रिय झण्डा । एकजुट हुनुपर्ने बेलामा गुटउपगुटमा छिन्नभिन्न आफ्नै सन्तानलाई देखेर मौनतामा रूँदा कति दुखेको होला नेपाल आमाको मन ? सोच्छु, झण्डाहरूको लाइनमा राम्ररी पहराउन नसकेको राष्ट्रिय झण्डा देखेर दुखेको मेरो मनजस्तै भएको होला उनको मन पनि ।
एकताका युद्धले नराम्ररी खाएको मङ्गलसेन युद्धविरामपछि पाखोमा निश्चिन्त लडिरहेको भेटियो । बाटोले जोडिए पनि अर्कै भूगोलमा कता हो कता हराएझैँ लाग्यो त्यसको रङ उडेको अनुहार ।
एकैछिन सुस्ताउन नपाउँदै हेलिकप्टर फेरि उड्यो दिपायलतिर । हेलिकप्टरबाट भर्खरै देखेथेँ उकालीओराली गरेको भित्तामा गुडुल्किएर टाँस्सिएको बाटोको डोब, तरेली परेका गराकान्लाको आकृति, थुम्काथुम्का उचालिएर थामिएको सगर, तुवाँलो छिचोल्दै आएको जस्तापाताको उज्यालो, बजारमाथि पातलिँदै गएको पहाडी जङ्गल । कसैले सोधे मैले भन्ने मङ्गलसेनको हुलिया यत्ति नै हुनेछ शायद, पर पुगिसकेको हेलिकप्टरबाट छेलिइसकेको मङ्गलसेनलाई हेर्दै सोचेथेँ मैले ।
डोल्पा र सेरोफेरो
अर्कोदिन बिहान डोल्पालगायत कर्णालीका विभिन्न जिल्लामा पु¥याउन हामीलाई उचाल्यो हेलिकप्टरले । डाँडाहरूको अनन्त श्रृङ्खला हेर्दाहेर्दै कम्प्युटरमा गेम खेलेजसरी ठूल्ठूला पहाडका खोचबाट उड्न थाल्यो हेलिकप्टर । अलिकति दायाँ वा बायाँ गए सकिन्छ गेम । हात पसारे छोइएलान् जसरी ठडिएका छन् अजङ्गका पहाडहरू । टेके भेटिएलाझैँ छ तल नदी । आकास कहाँ टाँगिएको छ थाहा छैन । घरिघरि हिमाल देखिन्छ पहाडको सिउर भएर । यस्तै दुर्लभ दृश्य हेरेर निकै रोमाञ्चक अनुभूतिमा डुबेको हुन्छु म । ती दृश्यसँग मिसिएर आएका अनुभूतिको टिपोट मनमनै बनाउन चाहेथेँ । उत्साहसँग उम्लनु मेरो मनको विशेषता हो । मेरा टिपोटहरू छरपस्ट पार्दिँदै मन बेतोडले हल्लिरहेथ्यो जसरी हेलिकप्टरले आकास र आसपासका वस्तुलाई थर्कमान पार्दै सोझै अगाडि देखा परेका पहाड छलेर गहिरो खोच भित्रभित्र हुर्रिइरहेथ्यो ।
मुन्टै मर्कलाजसरि घरि पछाडि फर्केर त घरि घाँटी तानेर अगाडिको झ्यालबाट हेर्न छोडेको छैन । विकट पहाडका अनुहार छरिएका छन् जताततै । बस्तीशून्य निर्जनता छरिएको छ सर्वत्र । केही खनजोत भएका खेत ग¥हा र घरहरू देखिन्छन् । ती अनुभूतिसँग साटेथेँ सामान्य दुखाई । ती दृश्य सम्झेर एउटा छुट्टै रमाइलो संसार सिर्जना हुन्छ मभित्र ।
हिमाल मसँग आत्मीय हाँसो हासे पनि यस क्षेत्रको गरिबीसँग भने उपेक्षाको हाँसो हाँसेझैँ लाग्यो । एडभेन्चरका लागि निम्ता दिइरहेथ्यो प्रकृतिले । अजङ्गका पहाड हेर्न लालायित विश्वलाई आकर्षित गर्न सरर गुड्ने पूर्वाधार चाहियो भनिरहेझैँ लाग्यो त्यसले ।
हिउँद लागेर होला, हिमाल वरपरका डाँडाहरूमा समेत हिउँ थपिएर झन् सुन्दर देखिएका छन् । झ्यालमा तेर्सिएका क्यामरामा देख्छु स्फटिक जस्तो स्निग्ध अनि चिसो र शान्त सुन्दरता ।
खसिरहेछ भीर, उठिरहेछ हिमाल र झोक्राइरहेछन् बस्तीहरू । प्रकृतिसँगको यो अनुपम मेल हृदयमा बज्रिरहेछ घरि सुखद त घरि दुखद अनुभूतिमा सङ्गालिएर । त्यसले दिएका अविच्छिन्न तरङ्गले छोइरहेछ मुटुका तारलाई झङ्कृत बनाउँदै ।
एउटा गाउँबाट अर्को गाउँ जोड्ने गोरेटो देखेर म स्तब्ध हुन्छु, कमिला हिँड्ने जस्तो साँघुरो देखिन्छ बाटो । ठाडो भीरले बनाइदिएको दुरुह पथ गरिबहरूको जीवन गोरेटोजस्तै लाग्छ मलाई ।
खोचमा एउटा बस्ती खसेछ, मेरो पछाडि । हिमालहरू बिलाएछन् खसेर सुख्खा मरुभूमिमाथि । जर्जर सुख्खापन अड्किन आइपुग्छ घाँटी निमोठ्नेगरी । तब, उर्लँदो खहरे जस्तो बन्छ हृदय र भत्काउन खोज्छ आस्थाका साँध सिमानाहरू । एउटा प्रश्नले रेट्न खोज्छ छाती– कसैले सबै लुटेर छोडे जस्ता कसरी बन्छन् यी बस्ती अनि कसरी थुप्रिन्छ सम्पन्नता सहरमा मात्र ?
मरुभूमि जस्तो पहाडको खोचैखोच उड्दै थियौँ हामी । अलि बाक्ला बस्ती देखिन थाले । डोल्पा जिल्लाको सदरमुकाम दुनै बजार देखियो । वरपरका पहाडलाई छुन सकिएलाझैँ गर्दै उडिरहेथ्यौँ, ओर्लिन थाल्यो उडान । हेलिकप्टर ओर्लियो छेउछाउका रुखविरुवा र धुले माटोमा चक्रवाती तुफान मच्चाएर । हामी ओर्लेको ठाउँ रहेछ सुलीगाड । एउटा सैनिक गुल्म रहेछ त्यहाँ ।
चारैतिर सुख्खाले निलेका डरलाग्दा पहाड देखिए । एकातर्फ हिमालको श्वेत चुचुरो देखिएको छ, अर्कोतिर सुसाइरहेछन् खोलाहरू । फोक्सुण्डोबाट निसृतः खोला र ठूलो भेरीको संगम छ नजिकै । एउटा पुल छ त्यहीँनेर । पुल पारिको अजङ्गको पहाडको फेदीमा भर्खरै ट्र्याक खोलिएको बाटो छ । पहाडबाट खसेका ठूल्ठूला ढुङ्गा थुप्रिएको बाटो देखेर मनमा त्यसैत्यसै विरह चलिरहेछ । त्यो बाटोमा अडिएको एउटा गाडी र केही मान्छेहरू देखे पनि सडक अस्तित्वप्रति आशंका छ मनमा ।
चिसो स्याँठले स्पर्श गरिरहेछ अलेली । खोला सुसाइरहेछ नेपथ्यमा । खुला चौरमा बसेर चिया बिस्कुट खाँदै थियौँ क्याप्टेन ले.क. किरण थापा, मेजर कुशल गुरुङ, मेजर सेनानी हिमकान्त पण्डित र म ।
मैले टिपोट बनाएको देखेका कुशल गुरुङले सुनाउनुभएथ्यो एकाध गीत गजल । बदलामा मैले सुनाउनुपरेथ्यो मरुभूमिजस्ता बस्तीका बारेमा भर्खरै लेखेका मेरा एकाध हरफ । अनायास हुने साहित्यिक परिचय पनि रोमाञ्चक यात्राजस्तै लाग्छ मलाई ।
भित्तामा घोडा डोर्याएतिर नजर डोरिए सबैका । बाटो देखिएको थिएन मरुभूमिको पहाडजस्तो भित्तामा । थाहा भयो, बाटो रहेछ त्यहाँ पनि । अरू हिँडेपछि मात्र देखिन्छ यो दुनियाँको जोखिमपूर्ण बाटो । हिँड्नेहरू धुलिसात् भएर पत्ता लागेको त्यो बाटो त्यसै पुरिएको र कुबाटोमा आरोपित भएको देख्दा मन पोल्दछ बेस्सरी ।
एउटा भनाइ सम्झेर चित्त बुझाउँछु ‘सिँढी चढ्नु थियो अँध्यारोमा, शिष्यले गुरुसँग मागेको बत्ती लिएर जसै सिँढी चढ्न थाले, एक सिँढी नचढ्दै गुरुले बत्ती निभाइदिए र भने ‘अँध्यारामा स्वयं बाटो खोज्नुपर्छ, बाटो खोज्न आफ्नै हृदयको बत्ती बाल्नुपर्छ’ ।
फोक्सुण्डोबाट फर्कँदै गरेको श्रीएअरको हेलिकप्टर देखियो । कुशल बोल्नुभो ‘हाम्रै पूर्व पाइलट हो नि त्यो हेलिकप्टरको क्याप्टेन । कीर्तिमानी पाइलट मदन के.सी.सँग बिहान भेट भएथ्यो सुर्खेतको होटेलमा । होटलदेखि एअरपोर्टसम्म सँगै आएथ्यौँ गफिँदै ।
सुलीगाडबाट रुकुमको सल्लीबजारका लागि उड्यो हेलिकप्टर ।
चोखो प्रकृतिको काख
भर्जिन प्रकृति । गरिब बस्ती । दुर्लभ दृष्य । उड्दा भीर पनि सुन्दर, भोग्दा मात्र कहालीलाग्दो । विकटता पनि सुन्दर हुँदोरहेछ भोग्न नपरी आनन्दले हेर्दा । ‘प्रकृति कुरूप हुन सक्दैन, त्यो जस्तोरूपमा भए पनि सुन्दर देखिन्छ’ भन्ने सिद्धान्त प्रमाणित भइरहेथ्यो । यहाँको जीवनस्तर सुधारेर विकटता जोगाउन सके यी ठाउँहरू विश्व कीर्तिमानमा दरिँदा हुन् । विश्वको पहिलो गन्तब्य हुँदो हो नेपाल ।
पहाडको छाया सूर्य रश्मीसँग मिसिएर दृष्यमा झिमिकझिमिक आइरहेथ्यो । आँखा टट्टाउनञ्जरी हेर्न लालायित थियो मनमस्तिष्क । त्यतिबेला मैले केही भावना उरालेथेँ हेलिकप्टरको चर्को स्वरजस्तै मनमनै ।
लेकाली थुम्काहरू घरिघरि मात्र हाराहारीमा छन् नत्र उचै लागिरहेछन् ।
उचा मरुभूमिका बीचबीचमा भासिएका गाउँहरूबारे सोच्दै टोलाएको हुन्छु, सल्लीबजार आइपुगेछ ।
भर्खरै पीच भएको एअरपोर्टमा टेकिनासाथ उड्ने तरखर गर्दै थियो हेलिकप्टरले साथै ल्याएको सामग्री जिल्ला निर्वाचन अधिकारी गोकर्ण पन्थीलाई बुझाएर हात हल्लाएको थिएँ मैले । बतासिँदो हावाका भोक्कासँगै विदा हुनुभएथ्यो उहाँ । क्षणिक भेटघाटले स्तब्ध भएथ्यो मन । एउटा अनुभूति सङ्गालेथेँ ‘छुट्टिइहाल्नुपर्ने मिलन नभएकै जाती’ ।
मनमा फेरि तर्क चलेथ्यो, ‘घात अन्तरघातमा फेरिइरहने मिलनभन्दा क्षणिक मिलन वेश । रङ र स्वाद फेरिएको मायाभन्दा क्षणिक माया वेश । त्यसैले त, क्षणिक बिसाउनी जस्तो जिन्दगीमा एकछिन भेटिएर छुट्टिनु वेश’ । दुबै तर्कसँग सहमत भएथेँ म । जीवन पनि त दुईपाटामा विभाजित छ सधैँ; मिलन–विछोड, हर्ष–विष्मात्, उल्लास–उदास, चिच्याहट–मौनता, … ।
झ्यालतिर फर्केको थिएँ, देखिन थाले धमिला धर्सा कोरिएजस्ता बस्तीहरू फेरि । धर्सा त हाम्रा ललाटमा पनि छन् जुन खुम्च्याउन र फैलाउन मिल्दछ । जसरी कोरिएका भए पनि ललाटका धर्सा कहिले धमिला त कहिले चम्किला हुन्छन् तर यी बस्तीका धर्साहरू ? कयौँ युग बिताए धमिलिएरै यिनले । न पुग्ने बाटो छ सजिलो । न खोस्रने माटो छ मलिलो । न हेर्छ राज्यले मायालु नजरले । भोक चपाएर बिरामी पचाएर केबल गरिबी बाँचेका छन् तिनले ।
ती धमिला बस्तीका उदासी बिर्सन अर्कैतिर नजर लगाउँछु, तल देखिन्छ धर्सै जस्तो नागबेली नदी । सङ्लो नदी बालुवा टल्काएर बगेको छ तलतल । नदी वर्षात्मा धमिलिए पनि प्रायः सङ्गलिन्छ तर बस्ती ! म विस्मित हुन्छु । यी बस्तीलाई कसले देखेको होला राम्ररी ? तिनकै प्रतिनिधि भनिने नेताले, स्थायी सरकार मानिने कर्मचारीले वा डलरको खेती गर्दै समाज सशक्तिकरण गरेको ठानिने एनजिओ आइएनजिओहरूले ? एक मनको सवालमा अर्को मनले जवाफ दिइहाल्यो तत्कालै ‘अहँ, सर्पका खुट्टा सर्पले मात्र देखिरहेछ ! अरूका दुःख पीडा देख्ने कोही छैन यहाँ !’
हाम्रो आकासेचरी जाजरकोटको सैनिक व्यारेकनेरको थुम्कामा ओर्लियो । उत्तरबाट आएको भेरी क्षितिजतिर हुन्हुनाइरहेथ्यो । कसैले भने ‘भेरीले छुट्ट्याएको छ रुकुम र जाजरकोट’ । ‘जोडेको पनि त छ होला नि ?’ मनमनै भनेथेँ मैले । डाँडाका ढाड पनि जोडिँदै उठ्दै गरेर वरपरबाट घेरेका छन् नदीलाई । मिलाएरभन्दा छुट्याएर हेर्ने र पृथक देख्ने प्रचलन छ दुनियाँमा ।
डाँडाबाट पारिपट्टि देखियो जाजरकोट बजार । बजारको टाउकामा देखियो जाजरकोटे दरबार जहाँ अहिले जिल्ला प्रशासन कार्यालय रहेछ । भर्खर कच्ची ट्र्याक खुलेको सुर्खेतबाट आउन लाग्छ रे पाँचछ घण्टा । जाजरकोटमा त्यसको छाया पर्ला जसरी नजिकै उभिएको थियो हिमाल । त्यो हिमालको नाम मैले पाइलट किरण थापालाई सोधेँ । चुलीको नाम थाहा छैन भन्ने जवाफ पाएँ । काठमाडौं नजिकको पाखामा पुग्दा ‘यीभन्दा धेरै सुन्दर डाँडाकाँडा कति छन् कति हाम्रो जाजरकोटमा’ भन्ने साथी चक्र बूढालाई सम्झेँ । उहाँले सातआठ वर्ष पहिले भन्नुभएको सम्झेँ ‘सिस्ने हिमालको फेदी हो जाजरकोट’ ।
म चिच्चाएँ ‘त्यो सिस्ने हिमाल हो’ । मेरो उत्सुकता देखेर नजिकिएका एकजना सैनिक बोले ‘खेतीपाती नै छैन चौरजहारीबाहेक आसपासमा के खाएर बस्छन् बिचराहरू’ । दुर्गम भूगोलमा जागिर, व्यापार वा अन्य आयस्रोत नभएका गरिब गाउँलेलाई नै भनेका होलान् बिचरा, मनमनै तर्क गरेथेँ र चित्त बुझाएथेँ ।
मेरा गाउँले साथी हरि शर्मा भेटिनुभयो त्यहीँ । सहायक प्रमुख जिल्ला अधिकारी हुनुहुँदोरहेछ जाजरकोटमा ।
‘के छ ?’ सेभ नभएको नम्बरबाट परिचितजस्तो स्वर सुनिएथ्यो मोबाइलमा ।
‘के छ र मसँग अरू ? एउटा आत्मविश्वास र केही भावनाहरू । ती भावनाले कहिले मर्माहत हुने गरी भित्रैसम्म चोट दिन्छन् त तिनैले दिन्छन् फेरि तुरुन्त निको हुनेगरी मल्हमपट्टि पनि । र त, अरूजस्तै सद्दे देखिएर हिँड्न सकेको छु’, भनिदिएथेँ ठट्टा गर्दै ।
सकारात्मक बुझे साँच्चै लाग्ने नभए बहुलट्टी सनक भनिदिए हुने मेरो झटारो कसलाई प¥यो थाहा नपाउँदै बन्द भएथ्यो मोबाइल ।
सुर्खेत फर्कन थाल्यौँ हामी । उक्लिरहेका र ओर्लिरहेका गोरेटाहरू हेर्दा कहाली लाग्छ । अपरिचित डाँडामा गुमनामजस्तै भएर फेरि उदाउँदैअस्ताउँदै गर्ने गोरेटो जस्तो जीवन कल्पेर रन्थनिन्छु । हेलिकप्टरले त्यो सबै वेवास्ता गर्दै उडिरहेछ निरन्तर । गड्गडाहटले टालिँदै र खुल्दै गरेका कानमा हल्का पीडासमेत थपिएको छ । मस्तिष्कमा चस्का दिने दुर्गम गाउँका दुर्लभ दृष्यहरू कैद गरिरहेछु क्यामरा र मनमस्तिष्कमा लगातार ।
फुस्रो पहाडमा कोरिएको बतासको पदचिन्हजस्तै, भोगेर पनि प्राप्तिहीन, देखेर पनि अदृश्य र छोइएर पनि अतित्वहीन भएर उभियो कर्णाली मेरो नजरमा । धन भएर निर्धन र जीवन भएर निर्जीव कसरी हुन सक्छ कोही । अरूले जीवनबुटी सबै ओसारेर शुष्क र जीवनविहीन बनेका उर्बर हिमशैलका कुनाकन्दरा बिझाइरहे आँखामा । वर्षेनी भत्किरहेको खण्डहर पहाडहरू दुखिरहे हृदयमा । परदेसिएको आफ्नो मान्छे वर्षौंसम्म नफर्केपछि रुँदारुँदै बेहोश भएका वृद्ध आमाबाबु जस्ता बस्तीहरू छटपटाइरहे छातीमा । म निरुत्तर हेरिरहेँ रमितेजस्तै भएर ।
स–साना खोलाखोल्सा नदीमा रूपान्तरित हुँदै गन्तब्य तय गरिरहेथे । हाम्रो उडानको सुरक्षित अवतरण भएथ्यो सुर्खेतमा । हेलिकप्टर अवतरण गर्दा छिप्पिइसकेको थियो घाम । जानु छ अर्को गन्तब्य, रोकिएको छैन अविराम जीवन यात्रा ।
अर्को संविधानसभा निर्वाचनमा खटिँदा लेक लागेर उद्दार गरिएका हुम्लाका एकजना कर्मचारी पनि हामीसँगै हेलिकप्टरमा चढेका थिए हुम्ला ओर्लिन । उनले क्याप्टेनलाई देख्नासाथ उठेर नमस्कार गरे । ती कर्मचारीको स्वास्थ्य अवस्थाबारे उनीहरूका आत्मीय भलाकुसारी भए । लाग्यो, सद्कर्मले हुँदोरहेछ चिनजान र आत्मीयता । हुन पनि क्याप्टेन उनका जीवनदाता रहेछन् । केही दिन अगाडि हिउँ परेको उचाइबाट उद्दार गरेर नेपालगञ्ज ल्याइएको रहेछ उनलाई ।
हेलिकप्टर उड्यो फेरि । उसलाई फर्कनु थियो कालीकोट, हुम्ला, मुगु र जुम्ला पुगेर, मलाई पनि फर्कनु थियो क्षितिज र आकास चुम्दै सम्झनाका कुँइनेटाहरूमा पुगेर ।
नयाँ बनेका सुर्खेती संरचना र समथर उपत्यका हेरेर रमाएँ एकैछिन । सहरबाट गाउँ पसेको मोटर बाटोको धर्सो हेर्दाहेर्दै बिलायो कतै, जसरी मेरो मनमा क्षणिक आनन्द भएर हराउँछ खुसी । एउटा सानो तर नीलो नदी दृष्टिगोचर भयो झ्यालमुन्तिर । कर्णाली वा त्यसको कुनै सहायक नदी हुनुपर्छ त्यो । क्षितिजमा हिमालका लहर उभिएका छन्, जसरी मुस्कान छर्दा देखिन्छन् नवयुवाका बत्तिसी । साँघुरो डाँडामा बजार देखियो, कालीकोटको सदरमुकाम मान्म रहेछ त्यो । हेलिकप्टरले एकफन्को लगाएर साँघुरो चौरमा जसै टेकियो मात्र, निर्वाचन कार्यालयका मणिजीका हातमा केही सामग्री पर्नासाथ त्यो फेरि हावासँग कुरा गर्दै आकास मार्गमा बेपत्ता भयो ।
खुइलिएका सुख्खा पहाडको सक्कली रङ मात्र देखिन थाल्यो । खोचमा बगेको नीलो नदी र शिखरको सफा हिमाल नभए कस्तो हुँदो हो यो भूगोल ? पैह्राले झन् उदेक लाग्दो बनाएको छ गाउँबस्तीका दृष्य, मानौँ यहाँको ललाटमा कोर्न मिल्ने एउटा श्रृङ्गार त्यही मात्र हो । खिच्दा सुन्दर देखिन्छ क्यामराका स्क्रिनमा तर आँखाले देख्छ उराठलाग्दो उजाड भूमि सर्वत्र । अझ मन लगाएर हेर्न थाल्यो भने मुटुमै बिझाउँछन् गेग्रेटाहरू ।
हावाले छुँदा धुलिसात् होलान् जस्ता देखिने ती जर्जर मरुभूमि पहाड कसरी ठडिन सकेका होलान् ? मनको प्रश्न सुनेर मनले नै उत्तर दियो ‘कडा चट्टान छ नि ती पहाडको भित्री चुरो’ ।
‘बर्खा लाग्दा पुलले नथाम्ने भेल र हिउँद लाग्दा सहनै नसकिने चिसो सिरेठो फैलाइदिन्छ मेरो छातीमा हिमालले । पर्वतराज बन्ने ध्याउन्नमा मलाई ओझेलमा पारेर निष्ठुरताको साम्राज्य फैलाएको छ यसले’ पहाडले विरह पोखेझैँ लागेर फेरि बिग्रियो मन ।
कतैकतै माटाले छाएका एकछाने घरहरू देखिन्थे । केहीबेरमा देखिन थाले हिमालभन्दा अग्ला डाँडाहरू जसका कापकापमा कहिल्यै हिउँ नपग्लने ओसिला हिमाली खर्कहरू छन् । ती खर्कको कुमारीत्वका प्रमाण जस्ता लाग्दथे सल्लोका एकाध रूखहरू जसरी कसिलो शरीर र रक्तिम गालाले वैँशालु देखिन्छन् युवतीहरू । आफ्नो सुगन्धको खोजीमा यस्तै खर्क र पहाड डुल्दो हो कस्तुरी । कस्तुरीको सुवासले लठ्ठिएर गुराँसे पाखाभर नाच्दो हो डाँफे चरी । तिनीहरूका पयरको सुवास पोखिएको माटोमा फुल्दो हो पाँचऔले, निरमसी, यार्सागुम्बा, … ।
हिमाली चिसो खाएर ध्यान तपस्याले अजर अमर बनेका शिव भेटिन्छन् कि कतै जिउँदै भन्दै प्रकृतिलाई अद्भुत रहस्यमय बनाएर विचित्रका रूपाकृतिमा कल्पिरहेको थिएँ मैले । बाल्यकालमा मरेका मान्छे लिएर हिँडेका मलामी देख्दा ठान्थेँ, म त मर्दिनँ कहिल्यै । शायद त्यस्तै मनोबल कायम रहने भए सयवर्ष त पक्कै बाँच्दो हो हरेक मान्छे जसरी यहाँको प्रकृतिमा युगौँयुग बाँचिरहेछ शिवत्व ।
एकदुई दिन हिउँ खेलाएर बसौँ जस्ता चौरहरू आइरहे । जडिबुटी र सौन्दर्यका ती अद्वितीय भण्डार राज्यको उपेक्षा सहेर पल्टिरहेछन् वर्षौँ वर्षदेखि यसरी नै ।
रसास्वादनमा लठ्ठ परिरहेका बेला हेलिकप्टर सिमकोटमा ओर्लियो । धन्य मेरा पयर, सिमकोटे भूमि छुन पाए । इटाकार नेपालको एउटा बिन्दुमा उभिन पाएकोमा गर्व र हर्षले आह्लादित भइरहेको थिएँ म । एअरपोर्टदेखि माथितिरका केही घरहरू, नीला जङ्गल, जङ्गलमाथिका हिमचुलीहरू दृष्टिगोचर हुनपाए क्षणिक सपनासरि ।
सिमकोट बजारलाई घेरेर उभिएका ती हिमाल, ती नीला वनेली छायाँहरूलाई अनिच्छापूर्वक हात हल्लाएँ मैले । सिमकोटमा हावा लाग्न सक्छ, धेरैबेर नगरी उडिहाल्नुपर्छ भन्नुभएथ्यो क्याप्टेनले पहिल्यै । मतदान केन्द्रतर्फ जाँदा यारीमा फसेका कर्मचारीलाई उद्दार गर्ने उहाँको योजना हावा लाग्ने डरले नै तुहिएको थियो । एउटा नामुद नाका ‘यारी’ दर्शन हुने भयो भनेर कम्ती खुसी भएको थिइनँ सुरुमा । त्यो खुसी चिरस्मृत हुन नपाए पनि त्यसको रोमाञ्चक उचाइले मनका भित्तामा एउटा रमाइलो झङ्कार दिएर छोड्यो । ‘अर्को दिन आउनुपर्ला बिहानै’ भन्दै हुनुहुन्थ्यो क्याप्टेन । एकाबिहान हावा नलाग्दै पुग्नु पर्दोरहेछ त्यस्ता उचा र हावादारी ठाउँमा ।
राराको जललहरी
हेलिकप्टरले मुगु पुग्ने बाटो पहिल्याउँदै थियो । खैरा पहाड र सल्लाको हरियाली आँखाबाट छिरेर मनमुटुमा वारपार गरिरहेथे, नीलो जलसागर टल्कियो । सास रोकेर हेरिरहेथेँ, सृष्टिको जम्मै सुन्दरता निचोरेर खन्याएछ प्रकृतिले त्यहाँ ।
रारा पो रहेछ त्यो । इन्धन रिफिल गर्न भन्दै राराको किनारमा रहेको सैनिक गुल्मछेउको हेलिप्याडमा केहीबेरका लागि अवतरण भएथ्यो हेलिकप्टर ।
आहा ! म रारा किनारमा उत्रिएँ ।
सुगन्धित वन फूलका चम्किला पुष्पपत्र जसरी रारा मुस्कुरायो लहरलहर बनेर । त्यसको मुस्कान माधुर्य छर्दै तरङ्गियो दिलको सुनसान ठाउँ । संगीतको धुनसरि छचल्किएछन् रोमाञ्चक पाइलाहरू । वेग हान्दै आएको नौरङ्गे डाँफेचरी छेउमै टक्क अडिएझैँ एउटा अपेक्षा जन्मेछ मनमा ‘दुई पाइला चालेर भए पनि यस्तै प्रकृतिका काखमा लडिबुडी खेल्न पाए सधैँ’ ।
हावाका झोक्काले सुस्तरी छुँदा तरङ्गित जलधिका नीला, वैजनी आदि अनेक रङका रश्मीपुञ्ज देखेर म मोहित भएँछु । वनेली छायाँ, हिमालको स्वच्छता, बतासको शितल स्पर्श पाएर मदहोश भएँछु । धारिलो चलमलाहटमा चम्किलो टलकले लोभ्याइरह्यो । खुसी र बेचैनीले भरिएको मनलाई शान्त पार्न एकअञ्जुली राराको शितल जल शरीरमा छर्केको थिएँ मैले ।
मैले आजसम्म देखेको भन्दा विछट्ट सुन्दर थियो रारा किनारको प्रकृति ।
खिचिएको थिएँ दाँजिएर रारा र त्यसको सुन्दरताका पहरेदार डाँडापाखा अनि हिमालहरूसँग । शब्द थिएन मसँग सजीव दृष्य हुँदा आँखा र हृदयभरि । मवीवि शाहको ‘राराकी अप्सरा’ का केही हरफ रहेछन् ओठमा फुस्फुसाइरहेका । सुनिरहेथ्यो ओठको चल्मलाहट निःशब्द हृदयले –
देखेँ जसै तिमीलाई …
माथिबाट …
अफसोस ! तैपनि –
कहाँ देखेँ र तिमीलाई …
न तिमीलाई न तिम्रो गहिराईलाई, न सौन्दर्यलाई !
झरि दर्केर थामिएपछिको जस्तो झिल्मिलाइरहेको आकास भेटियो रारामा, जसरी मेरो अन्तरहृदयमा पनि आँसुमा पीर बगेर गएपछि भेटिन्छ कहिलेकाहीँ यस्तो आकास । रित्तो आकास निरर्थक अन्धकार हो भन्दै त्यहाँ उर्लिरहे अनगिन्ती छाल, टिल्पिलाउँदा तारागण जसरी । तर, राराका छालमा छचल्किएको सुन्दरतामा के के नपुगेझैँ कोक्याइरह्यो मनभित्र । शायद त्यस भेगको गरिबी, अभाव, कुपोषणका चित्कारहरू उर्लिरहेथे त्यहाँ ।
सरर गुडेर आउने बाटाहरू भइदिए, नेपालको सबैभन्दा ठूलो ताल रहेको नेपालको सबैभन्दा गरिब जिल्ला मुगु र आसपासका गाउँबस्तीको मुहारमा किञ्चित खुसी फेरिँदो हो । मनले सोझो बाटो समातिरहेथ्यो तर मुलुकको बक्र राजनीतिको कलुषित ग्रहण लागिरहेथ्यो त्यहाँ पनि ।
एकातिर, सलहले निलेको आकासझैँ भएको छ नागरिकको जीवनाकास जहाँ, समस्या, पीडा, व्यथा, शोक, संवेदनाका काला छाया मडारिइरहेका छन् । आफ्ना पीडा, दुःखसँग रमाउँदै जीवनभन्दा मृत्युको भरोसा गरेर बाँच्नुपरेको छ । अर्कोतिर, शोक, रोग, भोक र अभावसमेत बोधै नहुने मूर्तिहरू बसेका छन् कुर्सीमा । पूरै मूर्तिमा फेरिए बरु ईश्वर भनेर पुज्नहुन्थ्यो तिनीहरूलाई । शासित भने अभिशप्त इतिहासले दिएको गाथा फलाकेर श्रापित जस्तै आफ्ना व्यथा छातीभित्र गाँठो पार्न विवश छन् ।
रारा छोडेर गमगढी ओर्लिँदै थियौँ हामी । नीला जस्तापाता ओढेर चङ्खेलीको लेकमुन्तिर जलवियोजन र कुपोषणले मरणान्त लडिरहेझैँ देखियो गमगढी । राज्यले उपेक्षा गरेको गुनासोमिश्रित विदीर्ण अनुहार क्षितिजतिर फर्काएझैँ लाग्यो चङ्खेलीको लेकले पनि । मुगुकर्णाली पातालमा एकधर्को नीलो सर्पजस्तै बेरिए पनि खैरा पहाडको उराठलाग्दो रङ आँखामा बिझाउन आइपुग्यो । झिँगा भन्किएको, सिंगान लत्पतिएको, फोहोरी, ख्याउटे र रूञ्चे लागेको नानी जस्तो वा रूँदारूँदै थाकेकी विधवा जस्तो देखियो गमगढी ।
घुच्चीको लेक र डाँफे लेक पार गर्दै हेलिकप्टर जुम्लामा अवतरण भयो । दोस्रोपटक जुम्ला ओर्लिँदा काञ्जिरोबाले परिचित नजरले हेरेझैँ लाग्यो । जुम्लाबजार, कर्णाली प्राविधिक शिक्षालय र चन्दननाथको आँगन टेकिसकेको छु, तिला कर्णालीको सङ्लो पानी छोइसकेको छु भन्ने आत्मगौरवले द्रविभूत भएर होला घाम ढल्केर झन् बढेको चिसो स्याँठको कुनै प्रवाह नगरी कफीको चुस्की लिँदै टहलिएको थिएँ म । जुम्ला बजार र आसपासको फुस्रो पहाडलाई पृष्ठभूमिमा राखेर क्याप्टेन किरण थापा र कुशल गुरुङसँग फोटो खिच्दै थिएँ मैले, सुदूर र मध्यपश्चिमको धेरै ठाउँ हेर्न, अझ विशेषगरी रारालाई छुन सकेको संतृप्त मन लिएर ।
कर्णाली र आसपासका पूर्वाधारविहीन गाउँबस्ती सम्झँदा भने मन कोक्याइरह्यो ।
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )