~माधवप्रसाद घिमिरे~
झुक हे सन्ध्या ! अलसी काला परेला ढालेर
उज्ज्वल शुक्र ताराको फूल केशमा हालेर
रङ्ग र रुप मेटिद्यौ सारा वन र पाखामा
दौड र धूप रोकिद्यौ सारा भोलिको भाकामा
दुःखको भारी विसाइ देऊ सुस्केरा हालेर
झुक हे सन्ध्या ! अलसी काला परेला ढालेर
निकालिदर् नौलाख तारा आकाश-माझमा
लिएर आऊ प्रवासीलाई आजको साँजमा
म तिमीलाई स्वागत गर्छु जुन्किरी बालेर
झुक हे सन्ध्या ! अलसी काला परेला ढालेर
अतल शान्त शीतल तिम्रो छायाको संसार
विहान बेल्का पर्वतमाथि सुनौला जुवार
एकान्त सुख ल्याउँछन् त्यहाँ ताराले बालेर
झुक हे सन्ध्या ! अलसी काला परेला ढालेर
खल्बल हटी केवल गाऊन् कल्कल झरना
अल्मल हटी संलेर आऊन् झल्झल संझना
हृदय फर्कोस् माइतीदेश विरह फालेर
झुक हे सन्ध्या ! अलसी काला परेला ढालेर
मनको कुरा मुखले बोल्न हुन्न रे दिनमा
सपनामा त पुग्ला कि आज मनको जपना
रच हे बोक्सी ! जादूको लोक परदा हालेर
झुक हे सन्ध्या ! अलसी काला परेला ढालेर
थालेका काम समाप्त गरेन सकिन कहिल्यै
यो जिन्दगीमा विश्राम सुख पाइन कहिल्यै
आज म सुन्छु शरीर तिम्रो काखमा फालेर
झुक हे सन्ध्या ! अलसी काला परेला ढालेर
दिनमा दौडूँ पसीना पुछ्दै भाइको दुःखमा
साँझमा फर्कू संसार बिर्सी आफ्नै सुखमा
भोलीको निम्ति पलाओस् प्राण पालुवा हालेर
झुक हे सन्ध्या ! अलसी काला परेला ढालेर
(स्रोत : पं. बदरीनाथद्वारा सम्पादित पुस्तक “पद्य-सङ्ग्रह” बाट सभार)