कविता : रिँगटा

~सैलेन्द्र साकार~Shailendra Sakar

रामायण, महाभारतका सम्पूर्ण ठेलीहरू
बाइबल, कुरान र पुराणका थाकहरू
ज्ञानविज्ञान किरिङमिरिङ करोडौँ अक्षरहरू
मानवसभ्यताका लाखौँ हारजितका कथाहरू
औषधीशास्त्र, नियमकानुनका थुप्रै पुस्तकहरू
फटाफट–फटाफट कसले पल्टाइरहेछ
मलाई रिँगटा लागिरहेछ ।

आँखाले नभ्याइँदा लाखौँ चीलहरू उडिरहेछन् छानामाथि
आकाशमा बादलहरू खोजिरहेछन् आड
काला प्रेतहरू हिँडिरहेछन् आँगनमा र
फूलबारीमा फैलिरहेछ सुक्खा आगो।
लाखौँ मैनबत्तीहरू बलिरहेछन् एउटा पङ्क्तिमा
काला लुगा लगाएका एक हूल मान्छेहरू
लाखौँलाख मानिसहरू भीड बनाएर
लाखौँ मानिसहरू दौडिरहेछन् च्यापेर मुखमा
एक–एकवटा कालो मैनबत्ती ।

साइकोडेलिक पेन्टिङमा झैँ
संसार नाचिरहेछ वृत्तमा ।
मानिसको मगजमा आत्तिएको मुसोझैँ
भयको रगत दौडिरहेछ ।
उज्यालो आकाशबाट खसिरहेछ अँध्यारो तारा
मानिसहरूलाई देखेर मानिसहरूलाई डर लागिरहेछ ।
कोही छ जसले यहाँ मलाई तर्साइरहेछ
हिँड्न लागेको बाटो झोलुङ्गे पुलझैँ हल्लिरहेछ
रगतमा फणा उठाएको गोमन फन्का मारिरहेछ
रिँगटामा हिँडिरहेछु।

मलाई मान्छेहरूदेखि रिँगटा लागिरहेछ ।
को शरीरभित्र पसेर पिङ खेलिरहेछ ?
कामिरहेको लेन्सबाट फोटोमा को उत्रिरहेछ ?
कसले ढोका, झ्याल र सिलिङहरूमा निर्घात घन ठोकिरहेछ ?
कसले टाउकोभरि साइरनको घण्टी बजाइरहेछ ?
म कुराहरू सडकमा ठमठम्ती दौडिरहेको देखिरहेछु
म कुराहरू नाटकमा जथाभाबी उफ्रिरहेको भोगिरहेछु
मान्छेका प्रत्येक अङ्गप्रत्यङ्गहरू
छुट्टाछुट्टै हिँडिरहेको र मरिरहेको देखिरहेछु।
म आफूसँग धुम्म रिसाएर बसेको आकाशमुन्तिर
एउटा जुलुसमा हिँडिरहेछु— भोज खाएर मात्तिएका
सम्पूर्ण देवताहरूलाई बेवास्ता गर्दै
एउटा आक्रोश हिँडिरहेछु
क्रुद्ध हिँडिरहेछु
रिँगटा हिँडिरहेछु।

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.