कविता : मृत्यु पचपन्न

~मञ्जुल~manjul

बिउँझिने र हिँड्ने मात्र होइन
ऊ मसँग सुत्छ पनि
अरु कसैले नसुन्ने, थाहा नपाउने भाषामा
बोल्छ पनि

उसले मसँग कुरा गरेपछि
म रङलाई मात्र होइन
रङको रङलाई पनि देख्छु
स्वादलाई मात्र होइन
म स्वादको स्वादलाई पनि अनुभव गर्छु
थरीथरीका अनुभूति मात्र होइन
म अनुभूतिका अनुभूतिहरुलाई पनि महसुस गर्छु
उसले मसँग कुरा गरेपछि

उसले र मैले कुरा गर्न
आवाजको जरुरी मात्र नपर्ने होइन
उसले बोल्नु
र मैले सुन्नु पनि पर्दैन
त्यस्तो मीठो गरी बोल्छ ऊ

उसले मलाई जीवन मात्र होइन
जीवनको पनि जीवन पनि दिएको छ
बाँच्नुको पनि बाँच्नु दिएको छ
त्यस्तो प्रिय र आत्मीय मित्र हो ऊ
यो जीवनका जति पनि मिठास छन् नि
ती सबैका लागि
म ऊसँग कृतज्ञ छु

मृत्यु–बोध
मुस्कुराउँदै जब मेरो अगाडि आउँछे
मलाई
सबभन्दा सुन्दर सूर्योदय
मेरो अगाडि आएजस्तो लाग्छ ।

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.