युद्ध संस्मरण : जाजरकोटको एक महिने यात्रा

~मौसमजी भण्डारी~

२०६२ साउनमा माओवादी छापामारले कालिकोट सेनाको पिली ब्यारेक आक्रमण गरी ध्वस्त बनायो । एक दर्जनभन्दा बढी छापामार र सेनाका ६२ जनाले ज्यान गुमाए । कैयौँ अत्याधुनिक हतियारसहित ६० जनालाई छापामारले नियन्त्रणमा लिएको समाचार पत्रपत्रिकाहरुमा हटकेक बनिरहेको थियो । युद्ध रापतापमा भएकाले वारपारको लडाइँमा सेना र माओवादी गर्माइरहेका थिए ।

नियन्त्रणमा लिइएका सेनालाई सुर्खेतकै पूर्वतिर ल्याइएको छ भन्ने खबर हिमाल खबर साप्ताहिकका रिपोटर प्रकाश पन्तले चालपाउनु भएको रहेछ ।

६० जनालाई लडाकुहरुले सेनालाई कस्तो व्यवहार गरिएको छ भन्ने समाचार सम्प्रेषण गर्न प्रकाश दाइ र म एक हप्ताका जो निधो भयो ।

सुर्खेत वीरेन्द्रनगर धुलियाबिट हुँदै पैदलै हाम्रो यात्रा सुरु भयो । साटाखानी चौरासे हुँदै हामी नेटा भन्ने ठाउँमा स्थानीय माओवादी कार्यकर्ताको सम्पर्कमा पुग्यौँ । नियन्त्रणमा लिइएका सेनालाई कहाँ राखिएको छ भनस् सोधखोज गर्दा ती कार्यकर्ताले अनविज्ञता जनाए र त्यसका लागि एरिया इन्चार्जसमक्ष हाम्रो कुरा राखिदिने बताए । दोस्रो दिन बिहान हामी त्यहाँबाट हिँड्नुपर्ने खबर आयो ।

विभिन्न उल्झनहरु झेल्दै एक साता हिँडेर सुर्खेत काँडापोखरी पुग्यौँ । काँडा पोखरीदेखि अलि अगाडि गए जाजरकोट सुर्खेतको सीमाना पुगिन्छ । त्यहाँ पत्रकार गणेश कञ्चन भारतीसँग भेट भयो । नियन्त्रणमा लिइएका ६० जनालाई जाजरकोटमा राखिएको गणेश कञ्चन दाइले सङ्केत गर्नुभयो । उहाँ पनि उनीहरुलाई भेट्न जादै हुनुहुँदो रहेछ । हिँड्दा हिँड्दै लखतरान परेको मलाइ यात्रा जाजरकोटसम्म पुग्ने कुराले सारै बोर लागेको थियो । फर्किउँ भन्ने ढिपी गरे पनि दाजुहरुको मिसनको अगाडि म फिक्का जस्तै भएँ । उहाहरुले सम्झाइ बुझाइ गरेर जाऊँ भनेपछि मन नलागी नलागी मैले जाने कुरामा सहमति जनाएँ ।

पोखरीकाँडाबाट केही अगाडि हामी सुर्खेतलाई बाई बाई गर्यौँ र जाजरकोटतिर पाइला चाल्यौँ । त्यसपछि सुरु भयो हाम्रो चुनौती र बर्जपातहरुको यात्रा… मुख्य वर्षाद सकिए पनि मौसमले बेलाबेला वर्षिएर हामीलाई हाम्रो यात्रामा चुनौती थपिरहेको भान हुन्थ्यो ।

हाम्रो यात्रा माओवादी आधार इलाका जाजरकोट जुँगाथापाचौर पुग्यो । जुँगाथापा चौरमा मनऋषि धिताल,ओम शर्माहरुसँग भेट भयो । जुँगाथापा चौरबाट हामी माओवादी नेता तथा मध्यपश्चिम कमान्ड इन्चार्ज खड्गबहादुर विश्वकर्मा प्रकाण्डसँगै अगाडि जाने खबर आयो । बिहान हिँड्ने बेला एक भवनमा झुस्स दारी पालेका दुब्ला दुब्ला व्यक्ति फोनमा कुरा गर्दै थिए । गणेश कञ्चन भारतीले भन्नुभयो ‘उनै हुन् माओवादी लडाकु कमान्डर जनार्दन शर्मा प्रभाकर… उनलाई नजिकबाट देख्यौँ हामीले तर उनीसँग कुरा भने हुन पाएन । झट्ट हेर्दा भने निक्कै फुर्तिला देखिन्थे । आज पनि माओवादी सरकारका प्रभावशाली ऊर्जामन्त्रीको जनपक्षीय कामले मेरो त्यतिबेला आकलन सही निस्केको जस्तो लाग्छ ।

खड्गबहादुर विश्वकर्मा प्रकाण्डसँगै उनको सुरक्षाका लागि दुई जना छापामार हतियारसहित सँगै हामी त्यहाँबाट हिँड्यौ । यात्रामा झन चुनौती थपियो पहाडको यात्रा लेक लाग्ने चिसो सिरेटो अनि बाटोमा जुकाहरु टासिने । ढुंगाहरुमा जुका ठाडो भएर तन्किरहेको देखिन्थे ।

एक हप्ताका लागि भनेर ल्याएको पैसा लगभग सकिइसकेको थियो । प्रकाण्ड खबर बुझ्दै अगाडि बढिरहेका हुन्थे । सेनाले जाजरकोटमा आफ्नो मिसन सुचारु गरिरहेको छ भन्ने खबर गर्थे बाटोमा । गर्खाकोट जङ्गलमा केही अगाडि हिँडेका छापामार हतियारको पोजिसन लिँदै केही पर दौडिए । सेनाले हामीलाई भेट्नेभयो भनेर हामी आत्तियौँ । म झन् आत्तिएर खोलातिर दौडन खोजेँ तर प्रकाण्डले रोके । नआत्तिनुस केही हुँदैन भनेर हामी सबैलाई रोके ।

के भएछ भने सेन्ट्री बसेका माओवादी कार्यकर्ता हामीलाई सेना नै सोचेर भागेका रहेछन् । हामी पनि उनी सेना हुन् भनेर आत्तिएका थियौँ । उनले भाग्दा छाडेका डायरीहरु फेला परेपछि प्रकाण्डले भने उनी हाम्रै मान्छे रहेछन । हामी भ्रममा परेर आत्तियौं ।

हामी ढिमे पुग्यौँ, त्यहाँ स्थानीय बासिन्दाको घरमा पत्रकार भनेपछि सहज रुपमा बस्न खान सजिलो भयो । कार्कीगाउँबाट सेना आइरहेको छ भन्ने बेलाबेलामा खबर आउँथ्यो । एकजना रक्की गर्ने सेन्ट्रिवालाले सेना ढिमे नै पुगेको खबर ल्याए । त्यहाँ स्थानीय कार्यकर्ताको पनि भागाभाग भएपछि हामी आत्तियौँ । पत्रकार भनेर सेनाले हामीलाई पक्कै छाड्नेवाला छैन भन्ने लाग्यो । छापामार माथि जङ्गलमा अड्डा जमाएर बसेको छन् भन्ने खबर पाएपछि बरु छापामारकै सम्पर्कमा पुगे सुरक्षित भइन्छ भन्ने लागेर हामी सिमसिमे पानीमा भिज्दै ढिमेबाट उकालो लाग्यौँ ।

करिब एक घण्टा उकालो हस्याङ्फस्याङ गर्दै हिँडेपछि छापामारलाई भेट्यौँ । सेनाकै लवजमा बसेको देखेर मलाई त सेनाकै फेला परियो भन्ने लागेको थियो । हतियारसहित पलास्टिक ओढेर सेन्ट्री बसेका छापामारहरुले हामीलाई देखेर ठुलै स्वरमा को होस् ? भन्ने आवाज दिए । हामी पत्रकार भनेर आफ्नो परिचय दियौँ ।

जङ्गलमै मेस थियो । छापामारहरु पलास्टिकमा दाल, भात हालेर खान्थेँ । कोही यात्रामा खाने भनेर पलास्टिकमा हालेर राख्थेँ । छापामारसँगको यात्रा कम्ती रोमाञ्चक थियो हाम्रो लागि । पिठ्युँमा गरुङ्गो झोला साथमा हतियार कुम्लो कुटुरा बोकेर अविचलित हिँडिरहन्थे ती योद्धाहरु । त्यही लस्कर हिँड्दा हिँड्दै बाटो बनेको हुन्थ्यो जङ्गलमा… उनीहरु साँच्चै प्रचण्ड, बाबुरामको तस्बिरका दस्ताबेज बोकेर निःस्वार्थ जनताका लागि लडिरहेका थिए । आजकल ती योद्दाहरु कहाँ छन् होला ? जसले जनताको जीवन परिवर्तनको सपना बोकेर महिनाको ६०० रुपियाँले कैयौँ ब्याटलहरु भोकभोकै लडे । सयौँ बमका छर्रा देखाउँदै भन्थे जनताको शासन गर्ने सत्ताका लागि एक मुठी रगत रहुन्जेल लडिरहन्छौ ।

छापामारको बलिदानमा टेकेर सत्तामा पुग्ने सुप्रिमो प्रचण्ड अचेल भन्छन् युद्धमा सुरक्षा दिने कार्यकर्ताहरु आजकल चौतर्फी हमला गर्छन् । युद्धमा सुरक्षा कार्यकर्ताले होइन, तिनै निःस्वार्थी लडाकुहरुले दिएका थिए । प्रचण्डलाई देवत्वकरण गर्दै ती नेतृत्वलाई सोझिने सङ्गीनहरु लडाकुहरुको छातीले छेक्थे । हिजोका सुप्रिमोको सुरक्षा तिनै लडाकुहरुले गरेका थिए । समुन्नत नेपालको सपना देखेर लड्नेहरु आज लालाबालाहरुको भविष्य बनाउन अरबको खाडीमा तातो हावा खाइरहेका छन् । लडाकु समायोजन होइन लडाकु विघटन गरेर प्रचण्डले इतिहासमा गम्भीर भुल गरे ।

छापामारसँगको उल्झनको यात्रा हाम्रो जाजरकोट रामीडाँडा पुग्यो । रामीडाँडामा नेता देव गुरुङसँग एउटा सानो घरमा भेट भयो । प्रकाश दाजु र गणेश कञ्चनले देव गुरुङको अन्तर्वार्ता टिपोट गर्नुभयो । सुस्त र सालिन बोल्ने देव गुरुङले भोलि नियन्त्रणमा लिइएका ६० जनालाई अनमिनको निगरानीमा रिहा गरिने जानकारी गराए । त्यही जनअदालतका कानुनी अधिवक्ता एकराज भण्डारीसँग भेट भयो । अन्तर्वार्ता लिने भनेपछि उनी अस्कोट मिलाएर चिटिक्क परेर अन्तर्वार्ता लागि फोटा खिचाउन तयार भए ।

नियन्त्रणमा लिइएका ६० जनालाई छापामारहरुले त्यहाँ पुर्याए । उता रुकुम हुँदै अनमिनको टोली पनि रामिडाँडा पुग्यो । बन्दीहरुसँग सबै अवस्थाका बारेमा प्रकाश दाजु र गणेश कञ्चन दाजुले बुझ्नुभयो । नियन्त्रणमा लिइसकेपछि कुनै पनि अमानवीय व्यवहार नगरिएको र छापामारहरु साथीजस्तै लागेको उनीहरुले बताउँथे । कोही चप्पलसँगै थिए कोही सेनाको आधा युनिफममा थिए । कोही घाइते भए पनि हात खुट्टामा ब्यान्डेज बानिरहेका देखिन्थे । छापामारहरुले उपचारको व्यवस्था पनि गरेको देखियो ।

रिहाइ कार्यक्रमको आयोजना भयो । देव गुरुङले कार्यक्रममा सम्बोधन गर्छन् भन्ने लागेको थियो । तर उनी कतै देखिएनन् । खड्गबहादुर विश्वकर्मा बोले उनले ससम्मान रिहाइ गरिएको उद्घोष गर्दै प्रत्येक बन्दीहरुलाई ५÷५ सयका दरले बाटोखर्च उपलब्ध गराए । अनमिनको जिम्मा लगाएर नियन्त्रित सेनाका बन्दीहरुलाई अविर माला लगाएर बिदाइ गरियो । फेरि जिन्दगी पाएको सहानुभूतिले होला लामो लस्करमा कति त रुँदै हात हल्लाउँदै बिदा भइरहेका देखिन्थे ।

उनीहरुसँग भेट गर्ने हाम्रो मुख्य उद्देश्य पूरा भइसकेको थियो । माओवादी नेताले केही खर्च दिने प्रस्ताव गरे पनि प्रकाशले लिन मान्नुभएन । प्रकाशले आफ्नो घर हुँदै सुर्खेत फर्कने कुरा गर्नुभयो । यात्राभरिको सहचारी प्यारो गणेश कञ्चनसँग त्यहीँ बिदा भएर हामी रामीडाँडा झोलुङ्गे पुल तरेर तीरैतीर लहँतिर लाग्यौँ । जाजरकोट सदरमुकाम हुँदै प्रकाश पन्तको घरमा पुग्यौँ ।

जाजरकोटलाई मानसपटलमा ताजा र स्मरणीय बनाउँदै रुकुमको सिमाना हुँदै कतै बास बस्दै कैयौँ घण्टा हिँडेर हामी सल्लीबजार पुग्यौँ । सल्ली बजारले सल्यानको पनी मुहार देखायो । सल्लीबजारबाट सीधै वीरेन्द्रनगरको बसको टिकट काटेर हामी ठेलमठेल सिटमा बस्यौँ । गाडीले विस्तारै आफ्नो गति लियो । बसमा यही गीत बजिरहेको थियो ।

‘जिन्दगी एक सफर हे सुहाना
यहा कल क्या हो किसने जाना’

यसरी करिब एक महिनाको पैदल यात्रा पूरा गरेर हामी निलो भेरी नदीको किनारै किनार वीरेन्द्रनगरतर्फ हुइँकियौँ ।

(स्रोत : जनमञ्च डट कम)

This entry was posted in संस्मरण and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.