पुस्तक समीक्षा : ऊहापोहयुक्त कथा— अटोग्राफ

~महेश प्रसाईं~

समकालीन नेपाली साहित्यमा गीत, कविता र कथा लिएर देखा परेका स्रष्टा पंक्तिमा विष्णु राईको नाम भिन्न ढंगबाट लिनुपर्ने हुन्छ । त्यो ‘भिन्नता’ उनले प्रयोग गर्दै आएको प्रविधि हो र उनको कथाकारले पहिल्याएको स्वत्वको खोजी हो । यी तीनै विधामा राईको साधना समान गतिमा अगाडि बढेको देखिन्छ ।

सन्दर्भमा कथाख्यानहरूले प्रयुक्त अटोग्राफ सार्वजनिकीकरणमा छ । अटोग्राफमा वर्णित ती कथाक्रम राईकै जीवन भोगाइका उपक्रम हुन् । कथ्य, घटनाक्रम र पात्रबोधमाथि प्रयोग गरिने विवेकशीलता कथाकारको आफ्नै वैशिष्ट्यमा निर्भर गर्छ । घटना, पात्र र विषयवस्तुका माध्यमबाट कथाख्यानलाई सजीव तुल्याउने राईको यो प्रवृत्ति निकै आकर्षक छ । कथाकार राईका पात्र परिचित लाग्छन् । जीवनेम्मा, पारुहाङ, सुम्निमा, छालिम्मा लिम्दे, कुलदीप, भैरव, मैना, धनाम्मा, धनाम्पा, खुसे र निनाम्माहरू यो दुवै वातावरणबाट गुज्रिएर अगाडि बढेका छन् ।

नेपालका आर्थिक, सामाजिक, सांस्कृतिक, राजनीतिक अवस्थितिहरूलाई कथाकारले प्रत्येक कोणबाट चियाएर हेरेका छन् र तिनलाई कथ्यवस्तुमा रूपान्तरण गर्दा न्याय गर्न चुकेका छैनन् । लेखकको संवेदना जति आहत छ, पाठक मनोदशाप्रति त्यति नै सचेत पनि छ ।

प्रेम–प्रणय, आस्था–अनास्था, विद्रुपीय–अविद्रुपीयता, अनुप्रेरकीय–उत्प्रेरकीयतादेखि अन्याय, अत्याचार, उँचनीच, भेदभाव, शोषण–दमन र यौन मनोविज्ञानसम्मका चासोमा केन्द्रित अटोग्राफका कथा नेपालका समकालीन परिस्थितिलाई टड्कारो रूपमा प्रतिविम्बन गर्न सफल भएका छन् ।

‘लालसलाम निनाम्मा’, ‘छापामार खुसे’, ‘ चुच्चेढुंगा’ र ‘म आतंकवादी’ जस्ता कथा माओवादी विद्रोहको परिदृश्यलाई जीवन्त चित्रण गर्न सफल छन् । ‘चिउरीको रूख’ले यौनचेतनाको अनुपम दृष्टान्त प्रदर्शन गरेको छ भने ‘हराएको आकाश’ले प्रेमानुभूतिको स्वरलाई कलात्मक व्यञ्जनामा पस्कन मद्दत गरेको छ । यौन विम्ब, प्रेमिल तरंगसँगसँगै युद्ध विभीषिका र लाहुरे जीवनका ऊहापोहलाई सचित्र चित्रण गर्न ‘एक झुप्पा लालीगुराँस पनि पछि परेको छैन । २७ वटा कथाको बटुलोमा परेका ‘पञ्जा’, ‘अन्तिम नाच’, ‘आफ्नै कथाकी नायिका’ र ‘अटोग्राफ’ संग्रहका उत्कृष्ट कथामा पर्छन् ।

कथा एक लघुरूपको तीव्रतम् वस्तु हो । यो कथनलाई ‘जीवनको छाया’, ‘राजनीति’, ‘बयान’, ‘लक्ष्य’ र ‘चुच्चेढुंगा’जस्ता गल्पीय ओजहरूले चरितार्थ गरेका छन् । यी छोटा लघुकथाका माध्यमबाट जीवनका बेग्लाबेग्लै संसारलाई चियाएर हेर्ने प्रयास गरिएको छ ।
राईका कथा त्यही पूर्णकदको आकृति निकट सन्तुष्टिउन्मुख प्रेरक प्रसंगले उभिएका देखिन्छन्, जसलाई उनका केही प्रमुख पात्रले कबुल गर्ने प्रयत्न पनि गरेका छन् । समग्रमा अटोग्राफका कथा प्रसिद्ध अमेरिकी कथाकार एडगर एलेन पोले भनेजस्तै छोटो बसाइमा पढ्न सकिने छन् र आफ्नो प्रभाव प्रेषण गर्न सक्षम पनि ।

अटोग्राफ
स्रष्टा: विष्णु राई
प्रकाशक: रावासावा प्राज्ञिक समाज
पृष्ठ: ११२
मूल्य: १३० रुपियाँ
प्रकाशित: पुस २, २०७२

This entry was posted in पुस्तक समीक्षा and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.