~राधेश्याम लेकाली~
प्रकृतिको विशिष्ट सङ्गीतमा
आह्रलादित शान्त र सुन्दर पहाडहरू
आज ज्वालामुखी बनेर
घृणा, आक्रोश र वेदना पोखिरहेछन्
हो, यतिबेला
खरानी, आँसुर टाटा रगतमा
अनूदित
पहाडहरू जलिरहेछन्
सूर्यको न्यानो अँगालो,
हिमाली हावाको मीठो अनुभूति,
बादलुको लुकामारी
र प्रकृतिको विशिष्ट नृत्यमा
आत्मविभोर ती सुन्दर पहाडहरू
आज क्रूर हुरी–बतासले
तुवाँलो र धूवाँको मुस्लोभित्र कुरूप बनेका छन्
हो, यतिबेला
खरानी, आँसु र टाटा रगतमा
अनूदित
पहाडहरू जलिरहेछन्
गुराँस र लालुपाते सिउरेर
धान, फापर र तोरीको लहै–लहैमा
मस्त ती दृढ पहाडहरू
विकृति र विसङ्गतिहरूमा बेरिएर
निर्मल आकाशमा कलङ्क अग्लिएका छन्
आज, चराहरू
दुर्गन्धित जङ्गलबाट बसाइँ सर्न थालेका छन्
हो, यतिबेला
खरानी, आँसुर टाटा रगतमा
अनूदित
पहाडहरू जलिरहेछन्
पहाडका सुन्दरताहरू
बलात्कृत युवतीको अस्तव्यस्त यौवनजस्तो
विरूप देखिएका छन्
घाँसदाउरा जाँदा
पहाड ठोक्किFदै बज्ने मायालुका गीतहरू
नारा र आक्रोशमा बदलिएका छन्
पहाडको न्यानो र आत्मीयता
मुर्दाको चिसोपनमा परिणत भएका छन्
खेतमा बर्सात रुँगेर बसेको साइँलाको
बिनाबादल
चट्याङ लागेर मृत्यु हुन्छ
प्रेमको धडकन बज्ने मेरा अटल पहाडहरू
आज, आक्रोशमा चिच्याइरहेछन्
हो, यतिबेला
खरानी, आँसु र टाटा रगतमा
अनूदित
पहाडहरू त जलिरहेछन्