~सैलेन्द्र साकार~
तिमी जतिसुकै पीडाले चिच्याऊ
ईश्वरका विरुद्ध उभिएर सडकमा
अथवा आनन्दले विभोर भएर
जीवनको प्रशंसामा जतिसुकै गीतहरू गाऊ
त्यसको केही मूल्य छैन
तिमी कसैकहाँ सम्प्रेषित हुन सक्दैनौ
कसैलाई ब्युँझाएर केही भन्न सक्दैनौ
सर्पझैँ आत्मरतिमा निमग्न भएकाहरू
गीत सुन्दैनन्— तिम्रो कविता सुन्दैनन्।
मलाई थाहा छ—
तिमी चिरन्तन बोलिरहेछौ
युगका सुख–दुःखका कथाहरू
तिमी बालिरहेछौ सधैँ आफ्नो अस्मिता
तिमी मुटुका भक्कानोहरूलाई पङ्क्तिबद्ध गरिरहेछौ।
तिमी कवितामा खोजिरहेछौ जीवनको लय
तिमी अन्याय र बर्बरताको कथा सुसेलिरहेछौ
तिमी आफ्नो अस्तित्वका सम्पूर्ण रागहरू बजाइरहेछौ।
तर के गर्छौ मेरा प्रिय गायक
सर्पहरू गीत सुन्दैनन्
संसारका कुनैपनि सर्पहरू
कविता सुन्दैनन्।
तिमीले जतिसुकै चिच्याई–चिच्याई गाए पनि
यी मन्दिरमा खोपिएका सर्प–प्रतीकहरू बहिरा छन्
कुनै पूर्वनिश्चित चाडको सामूहिक भोजमा बहुलाएर
यी विषदन्त गोमनहरू टोकिरहन्छन्
कुनै पनि नवजात शिशु भविष्य
र ईश्वरका सामुगर्वोन्नत रहन्छन्।
मलाई दुःख छ मेरा गायक
सर्पहरू कविता सुन्दैनन्
सर्पहरू गीत सुन्दैनन्।