~अमर न्यौपाने~
श्यामकृष्णलाई उज्यालोले उठायो । मलाई पनि उज्यालोले उठायो । हाम्रो डेरा अगाडिका पण्डित बूढाले भने उज्यालोलाई नै उठाए ।
किनभने उनले शंखघण्ट बजाएपछि मात्र उज्यालो भयो । यस्तो लाग्यो, शंखघण्टको आवाजले नै उज्यालो ब्युँझेको हो र उठेको हो ।
पण्डित बूढाले पूजापाठ सकेर निधारमा तीनधर्के टीका लर्काए र केके स्तोत्र पाठ भट्भटाउँदै आँगनमा आएर उभिए । चारैतिर हेरे । आँखाले देखिनेसम्म परपर हेरे । माथि पनि आकाशतिर पनि हेरे र आकाश उक्लिँदै गरेको बिहानको बालक सूर्यलाई पनि हेरे । अनि सूर्य नमस्कार गरे ।
हाम्रो कोठा र उनको आँगन जोडिएको थियो । श्यामकृष्ण कहिले छातीका, कहिले पेटका, केहिले पेटभन्दा तलका रौं कन्याउँदै उठ्यो । आफ्नो गुप्ताङ्ग छाम्दै भन्यो- ‘लौजा, आज पनि नाइटफल भो यार !’
मैले भनेँ- ‘अब बिहे गर श्यामुजी, सब ठीक हुन्छ ।’
उसले आँखा मिच्दै भन्यो- ‘आफूले पत्याएकाले पत्याएनन्, आफूलाई पल्याउनेलाई पत्याइएन अनि यत्रो बिहे हुन्छ त ।’
मैले उपाय बताएँ- ‘त्यसो भए बालाई गाउँमै एउटी गतिली केटी खोज्दिने भन । बूढाले दुईचार जना हेर्लान् । गएर जुन मन पर्छ उही बिहे गर । बा पनि खुसी, तिमी पनि खुसी ।’
– ‘अब त्यही उपाए त बाँकी छ ।’
त्यसपछि ऊ नुहाउन गयो र एकैछिनमा आयो । मैले जिस्काएँ- ‘बाहुन नुहाइ गर्यौ है फेरि ।’
ऊ पनि के कम, भन्यो- ‘संगतअनुसारको फल नि… ।’
नुहाएको टाउको पुछ्दै ऊ बिहानको कलिलो घाम ताप्न कोठाबाट बाहिर निस्कियो । अगाडि पण्डित बूढालाई देखेर अलि चर्को आवाजमा करायो- ‘गुरुदेव राधे राधे !’
श्यामकृष्णको चर्को बोलाइले नै थाहा हुन्छ, पण्डित अलि कम कान सुन्छन् । उसले बूढाको ध्यान आफूतिर आकर्षित गर्न र बूढाको धार्मिक आस्थाप्रति सम्मान भाव देखाउन राधे राधे भनेको हो ।
बूढाको ध्यान राम्रैसँग आकर्षित भयो । बूढा श्यामकृष्णसँग ठट्टिन र जिस्कन पाए रौसिन्छन् । श्यामकृष्ण पनि बूढासँग जिस्किन पाएपछि सन्तुष्ट हुन्छ ।
बूढाको उमेर ६५ वर्ष जति हुँदो हो । उनी असाध्यै धार्मिक मानिस । शुद्ध शाकाहारी, निष्ठावान् ब्राह्मण । बिहान उठेर नित्य स्नान, जपध्यान र पूजाआजा गरेर मात्र मुखमा अन्न हाल्ने ।
श्यामकृष्ण र बूढामात्र भए । बाटो नजिकको ढुंगामा बसेर श्यामकृष्णले बूढाको कानैनेर मुख लग्यो र साउतीको लबजमा अरूले नसुन्ने गरी तर चर्को आवाजमा जिस्कायो- ‘के हो गरुदेव ! बूढेसकालमा पनि आमालाई दुःख देर !’
दाँत साटेको उमेर कटाउँदा झन्डै साठी वर्ष पुराना दाँत देखाएर कित्कित् हाँस्तै बूढाले भने- ‘अचेल त मान्दिन श्यामकृष्ण । यसो गर कोट्यायो, बुढेसकालाँ के मास्सिन पर्या हो भन्चे हा हा… !’
दुवै कुत्कुतिएर हाँसे ।
श्यामकृष्णले अझै रहस्य खोतल्न सोधे- ‘तपैंभन्दा त पन्ध्र वर्ष नै कान्छी होइन र भन्या आमा ? ‘
बूढाले रौसिँदै भने- ‘हुन त हो नि । आइमाईको इच्छा लोग्नेमान्छेको जस्तो बुढेसकालसम्म हुँदो रैन्च के । निरोगी छ भने त लोग्नेमान्छेलाई त सत्तरी वर्षमा पनि चाहिन्च बा । आफैंलाई भोगेर था भो हा हा…. !’
बूढा झन् कित्कित् हाँसे । श्यामकृष्णले आफ्नो दाहिने हातको चोर औंलालाई प्रतीक बनाएर ठड्याउँदै अझै उक्सायो- ‘यो उमेराँ पनि यस्सो हुन्छ र भन्या गुरुदेव ? ‘
हाम्रो कोठाअगाडि बाटो थियो । बाटोपारि एउटा सानो छाप्रे पसल थियो । पसले बाइसपच्चीसकी थिई । एकदमै सुन्दरी । उसलाई सबैले यामिनी भन्थे । ऊ चिया, चना, चाउचाउ आदि पकाउँथी । ऊ गरिब भए पनि उसको बैंस र सौन्दर्य धनी थियो । बैंस र सौन्दर्यले ऊ आफैंलाई घमण्ड देखाउँथे ।
उसलाई संकेत गरेर बूढाले भने- ‘यो यामिनीलाई देखेपछि बूढो छु भन्ने नै बिर्सिन्छु श्यामकृष्ण हा हा … ।’ कित्कित् हाँस्तै दाहिने हातको चोरऔंला ठड्याउँदै भने- ‘त्यसले मसक्क मस्केको देखेँ भने यस्सो भइहाल्छ । लोग्नेमान्छेको जात बुढेसकालमा पनि बूढो हुँदोरैन्च हा हा … ।’
यति कुरा पाएपछि श्यामकृष्णलाई के चाहियो । उसले जिस्काउन थालिहाल्यो- ‘गुरुदेवलाई समस्या पर्यो त उसोभए । हामी तन्नेरी त यहाँ इँजारले बाँधेर बेरोजगार बस्याछम् । हेर बूढाको चकचकी । आमालाई भन्दिम् !’
बुूढाले हौसिँदै भने- ‘श्यामकृष्णलाई पनि खुब ठट्टा गर्न आउँछ हा हा… ।’ हातको पार लगाउँदै उनले चुनौती दिए- ‘तिम्रो पालामा हामी यत्रो भोगटे जत्रो ढुंगा उचाल्थेम् । ढुंगामा डोरी बाँधेर याँ झुन्ड्यायो । जुरुक्कै । त्यति कडा हुन्थ्यो हाम्रो । सक्छौ तिमोरु ? ‘
– कित्कित् हाँस्तै दाहिने हातको चोरऔंला ठड्याउँदै भने- ‘त्यसले मसक्क मस्केको देखेँ भने यस्सो भइहाल्छ । लोग्नेमान्छेको जात बुढेसकालमा पनि बूढो हुँदोरैन्च हा हा … ।’
उसले लामो जिब्रो झिक्तै सोध्यो- ‘ओहो ! तेत्रो ढुंगै उचाल्ने गुरुदेव ? कसरी आयो तेत्रो बल हँ ? ‘
बूढाले अहिले पनि उचाल्छुझैं गरेर चम्किए र भने- ‘हा हा… घिउले आको बल हो ठिटा । गोठ बस्ता एक मानो घिउ त एकैचोटिमा सिनित्तै पिइन्थ्यो । अनि किन ढुंगो नउचाल्नू । अहिलेका केटाले के सक्थे हा हा… ।’
उसले भन्यो- ‘है गुरुदेव, अनि गुरुदेवले यस्सो भगवान्को लीला हेर्नुभाछ कि छैन त ? ‘
बूढा अल्मलिए- ‘बुझिनँ ।’
उसले बुझायो- ‘धेरै कुरा थाहा भए पनि यो कुराचाहिँ था रैन्छ गुरुदेवलाई । त्यसो भए राति १२ बजे फलानो च्यानल हेर्नुस् । भगवान्को लीला आउँछ ।’
बूढाले भने- ‘म त १० बजे सुतिसक्छु हा हा… ।’
– ‘आज एक दिन हेर्नुस् । मन परेन भने भोलिदेखि ९ बजे नै सुत्नुहोला । मन परे रातभरि हेर्नुहोला । शिवपार्वतीको लीला हो के गुरुदेव हा हा… । शिवपार्वती कामलीलामा मस्त हुँदा वायु आए र महादेव रिसाएर झन्डै भष्म गरेका थिए । पार्वतीले रोकेपछि शिवले वायुलाई आफ्नै वीर्य भिक्षा दिएर पठाएका थिए । हो त्यस्तै फिलिम हो के गुरुदेव ।’
बूढाले के कसरी बुझे उनै जानून् । जेहोस् बूढाले मनमनै हेर्ने योजना बनाए । श्यामकृष्णले फेरि बुझायो- ‘एक्लै हर्नुहोला है गुरुदेव । भगवान्को लीला दुक्लै हुर्नुहुन्न । एक्लै हेरेर मन परे मात्र आमालाई देखाउनुहोला । अरूलाई देखाउनुहोला हा हा… ।’
श्यामकृष्ण बूढाकै शैलीमा हाँस्यो ।
…
भोलिपल्ट ।
हामी सुतिरहेका थियौं । ढोका ढकढकाएको आवाज आयो । सुतेका हामी उठेर सम्हालिन थोरै समय लाग्यो । बूढाको आवाज आयो- ‘अझै उठ्याछैनौ श्यामकृष्ण ? ‘
अघिअघि जुन क्रियाकलापका साथ उठ्थ्यो त्यसरी नै उठ्यो श्यामकृष्ण । मैले ढोका खोलेँ । पण्डित बूढा भित्र आए । उनी अघिअघिभन्दा प्रफुल्ल देखिए । उनले हाँस्तै भन- ‘घाम उदाएपछि सुत्नुहुन्न केटा हो । पन्न आउन्न हा हा… ।’
श्यामकृष्णले अभिवादन गरिहाल्यो- ‘गुरुदेव, राधे राधे !’
अघिपछि बोल्दाभन्दा अलि धेरै दाँत देखाएर विचित्रसँग बूढाले भने- ‘तिमी त छट्टु रैचौ नि श्यामकृष्ण । कृष्णभन्दा पनि छट्टु हा हा… !’
श्यामकृष्णले सोध्यो- ‘किन गुरुदेव ? ‘
बूढाले भने- ‘उधुम देखायौ नि तिम्ले । हेरेँ श्यामकृष्ण मैले हा हा… । उल्का हुँदोरच हा हा… ! कति थोक गर्न जानेका नकचरा मुन्छेले ? ए रातै ! तीन छक परेँ म त । त्यस्तो त्यस्तो हेर्दा रचौ र पो तिमोरुले बिहे गर्दारैन्चौ । बल्ल बुझेँ । तिमोरु प्नि नकचरा नै हौ । हा हा… ।’
श्यामकृष्णले प्याच्च भनिहाल्यो- ‘भातको फोटो हेरेर भोक मेटिन्छ र बूढा ? ‘
बूढाले भने- ‘उधुम गर्दा रचन् गाँठे । त्यसरी पूरै त मैले आफ्नै बूढीको पनि देख्याथिनँ । कुन खैरिनीको देख्न पर्यो । हा हा… ।’
…
बूढाबूढी एउटै कोठामा सुते पनि अलि बुढेसकाल लागेपछि अलगअलग खाटमा सुत्थे । रमाइलो कुराभन्दा पनि घरव्यवहारका कुरामै सीमित हुन्थे बूढाबूढीका गफ ।
बूढा पहिलेपहिले भन्दा अलि चाँडै सुत्न थाले । बूढी निदाएको मौका पारेर प्रत्येक दिन मध्यरातमा उठेर अलक्क टीभी कोठामा जान थाले र एकदुई घन्टा टीभी हेर्न थाले । बूढा पल्किएछन् । उनलाई लागेछ ।
एकपटक राति १ बजेतिर बूढी ब्युँझिछन् । पिसाब फेर्न जान बत्ती बालिछन् । उनका आँखा बूढाको खाटतिर परेछन् । सुरुमा बूढा सुतिरहेका रहेछन् जस्तो लागेछ । यसो छामिहेर्नु पर्यो भनेर छाम्दा त सिरकमात्र । चतुर बूढाले सिरकलाई मान्छेजस्तै बनाएर सुताएर टीभी हेर्न गएका रहेछन् ।
बाहिर पिसाब फेर्न गएका होलान् भनेर एकछिनसम्म कुरिछन् । तर धेरै नै बेर नआएपछि डराउँदै उनी बाहिर निस्किछन् । कतै नदेखेपछि डर पनि लागेछ । केही त भएन ?
अचानक टीभी कोठातिर आँखा पर्यो । आँखा पर्नुको कारण ढोकाको चरबाट आएको मधुरो उज्यालो हो । उनले त्यतातिर नजिकै गएर हेरिछन् । बूढा चुकुल नलगाई ढोकामात्र ढप्काएर टीभी हेर्दै रहेछन् । बूढीले पनि देखिछन् । टीभीमा त्यस्तो दृश्य देख्नासाथ बूढी त दंग परिछन् । कहिल्यै त्यस्तो देखेको भए पो । टीभीमा त्यस्तो आउँछ भन्ने पनि थाहा थिएन ।
बूढी कराइन्- ‘छिः छिः ! रातिराति यस्तो हेर्न पो पल्क्या रैछ यो मान्छे त । के हुन लाग्या हो यो ? मास्सिनी काल आर हो कि किन हो ? ‘
झस्केर एक्कासि बूढाले टीभी बन्द गर्ने पनि मेसो पाएनछन् । नहेरौं भन्दा पनि दुवैले एकछिनसँगै देखे । त्यसपछि बूढी आफैंले बन्द गरिछन् । बूढा लाजले पानीपानी भएर आफ्नो कोठामा गएर सुतेछन् ।
बूढीले फेरि रिमोट थिचिन् । त्यही आयो । दुईतीन मिनेटभन्दा हेर्नै सकिनन् । उनी पनि कोठामा फत्फताउँदै आइन् ।
लाज र डरले सास पनि बिस्तारै फेरेर सुतेका रहेछन् बूढा । तर बूढेसकालको सास जति सानो बनाए पनि ठूलै हुन्छ । गन्गनाउँदै बूढी आफ्नो खाटमा सुतिछन् ।
सुतेपछि सिरकले मुख छोप्न खोजिन् तर निद्रा लागे पो । एक्लै यसै बर्बराइन्- कस्का छोरी हेलान् ती ? कस्का बुहारी होलान् ? कस्का छोरा होलान् ती ? कस्का ज्वाइँ होलान् ? कस्का स्वास्नी होलान् ती ? कस्का लोग्ने होलान् ? के जात्रा गर्न सकेका होलान् मान्छेले । कली लाको भनेको यै हो । सप्पै थोक मास्सिनलाई । मुन्छे अब पशु भएछन् । कलीमा मुन्छे पशु हन्चन भन्थे, साँच्चै हो रच । अब यी बूढा पनि पशु भएचन् ।
बूढाले सुनेको नसुन्यै गरे । बूढी बिस्तारै बर्बराइरहिन्- ‘मर्नी कालले घेरेर हो कि के हो ? यस्तो उमेराँ यस्तो पाप देख्न पर्यो ।’
बूढा मस्त निदाएजस्ता देखिए । न चल्नु न चल्मलाउनु । बूढीलाई भने निद्रा लागेन । यसै चटपट गरिन् । आफूलाई निद्रा नलागेको बूढाले थाहा पाइदिऊन् भन्ने ठानिन् । तर बूढाले थाहा नपाएजस्तो गरे । बूढीले फेरि बोलिन्- ‘यी लामखुट्टेलाई पनि कति कराउनुपरेको ? ‘
तर खासमा लामखुट्टे आएकै थिएनन् । एकछिन पछि बूढातिर हेरिन् । बूढा मस्त निद्रामा झैं देखिए । बूढी बिस्तारै उठिन्, ढोका खोलिन्, बाहिर निस्किन्, टीभी कोठामा छिरिन् र रिमोट हातमा लिएर च्यानल फेर्दैफेर्दै बूढाले हेरेको च्यानल हेरिन् । केही समय हेरेर लामोलामो सास फेर्दै बूढी फेरि आफ्नो ओछ्यानमा आएर सुतिन् ।
बूढा तीनचार दिनसम्म बूढीसँग आँखा जुधाउन पनि सकेनन् । बोल्न पनि सकेनन् । बूढी पनि बोलिनन् । कुराकानी मौन संवादमै सीमित भयो ।
भोलिपल्टदेखि बूढा मध्यरातमा टीभी कोठामा जान छोडे ।
बूढाले थाहा नपाउने गरी बूढी जान थालिन् ।
एक रात बूढाले बूढी उठेको थाहा पाए । कहाँ जाँदी रहिछे भनेर अलक्क हेरे । बाहिर निस्के । टीभी कोठामा उज्यालो देखे । बूढाले ढोका खोले ।
बूढी झस्किन् तर केही बोल्न सकिनन् । लाजले पानीपानी भइन् । बूढाले पनि केही भनेनन् । दुवै चुपचाप भए । बूढीले टीभी बन्द गरिन् । चुपचाप नै भएर दुवै आफ्नो कोठामा आए र वर्षौंपछि एउटै खाटमा सुते ।
०००
शनिवार, असोज १५, २०७३
(स्रोत : अन्नपूर्ण पोस्ट – फुर्सद)