~ध्रुवसत्य परियार~
राजा जयस्थितिलाई पुत्री लाभ हुन्छ ।
‘महाराजका लागि अत्यन्तै खुसीको बात छ, राजकुमारी जालिनी बत्तीसै लक्षणले युक्त छिन् । यस्तो योग लिएर जन्मेकी छिन्, उनले देशलाई समृद्ध र स्वायत्त बनाउनेछिन् । संसारमा यो देशलाई न्यायको प्रतिमूर्ति भनेर चिनाउनेछिन् । सारा दुःखी र निमुखा प्रजालाई शान्तिको श्वास फेराउनेछिन् । आफ्ना सबै प्रजा सुख र शान्तिले बाँचेको देख्न पाउनु महाराजका लागि खुसीको बात होइन र ?
राजकुमारी जालिनीको संसारभरि यश र कीर्ति फैलनछे । उनी जो बोल्छिन्, त्यो सारा प्रजाको विधि बन्नेछ । जो लेख्छिन्, त्यो विधान बन्नेछ । राजकुमारी जालिनीको अनुहार सारा प्रजाको भाग्य, भविष्य र सपना हो,’ ज्योतिषमण्डलीले घोषणा ग¥यो ।
राजा जयस्थितिको पहिलो सन्तानको रूपमा जालिनीको जन्म भएको थियो । पुत्रीलाभ भएको नवौँ दिन ज्योतिषमण्डली राजदरबारमा उपस्थित थियो— राजकुमारीको जन्मकुण्डलीबारे बताउन ।
‘महाराज † राजकुमारी जालिनी महान् चित्रकार बन्नेछिन् । उनले जीवनभरि अनेकौँ चित्र कोर्नेछिन् । तर, त्यसमध्ये एकमात्र पुरुषको आकृति उतार्र्नेछिन् । उनले अन्जानमै कोरेको त्यो पुरुषको चित्रमा अनुहार स्पष्ट खुलेको हुनेछ, शान्त तलाउमा देखिएको विम्बजस्तै । त्यो चित्र यस राज्यको कुनै न कुनै पुरुषको अनुहारसँग दुरुस्तैै मेल खानेछ । र, त्यो पुरुष समय क्रमसँगै महापुरुष बन्नेछ ।
राजकुमारी जालिनीले आफ्नै पिताको चित्र कोर्ने पनि उत्तिकै सम्भावना छ । त्यसका लागि महाराजले पुत्रीलाई सदा खुसी राख्नुपर्नेछ । पुत्रीका कुनै पनि इच्छा नफक्रँदै झर्नु हुँदैन । महाराजले राजकुमारीलाई अन्तस्करणदेखि नै खुसी राख्न सक्नुभयो भने, उनले पिताकै चित्र कोर्न पनि सक्छिन् । यदि यसो भयो भने, महाराज नै त्यो महापुरुष बन्नुहुनेछ । जसको सम्झना युगयुगसम्म गरिनेछ । कथंकदाचित यसो भएन भने, महाराजका लागि दुर्भाग्यजस्तै हुनेछ । कुनै अर्को महान् पुरुषले महाराजको यश र कीर्तिलाई पूरै छायामा पारिदिनेछ । र, जालिनीले जीवनभर कुनै न कुनै पुरुषको चित्र कोर्नैपर्छ । यसो भएन भने पनि राजसंस्था मात्र होइन, देशकै भविष्य अन्योलमा पर्नेछ ।’
ज्योतिषमण्डलीको कुराले राजालाई सन्ताप हुन्छ ।
सोध्छन्, ‘यस संकटमोचनको कुनै युक्ति छैन ?’
पूर्णरूपमा विश्वस्त बनाउने त कुनै युक्ति छैन । तर, केही आशाका साथ एउटा युक्ति अपनाउन सकिन्छ ।
‘कस्तो युक्ति ?’
‘राजकुमारी जालिनीले महाराजकै चित्र नकोर्दासम्म उनलाई अन्य पुरुषको छायासम्म हेर्न नदिइयोस् । र, महाराजबाहेक अन्य कुनै पुरुषले ठाडो शिर गरेर राजकुमारीलाई नहेरोस् । यसो भयो भने, राजकुमारीले महाराजकै चित्र कोर्ने सम्भावना बढ्नेछ ।’
दिन बित्दै जान्छ । कोपिला जालिनी फूलजस्तै फक्रँदै जान्छिन् । षोडसी जालिनीको बैंसको वासनासँगै रहरहरू पनि फैलन थाल्छन् । उडेको बादल, बगेको नदी, ताल, पहाड, हिमाल हेर्न मन गर्छिन् उनी । कहिले दरबारकै बगैँचामा उडेको पुतलीको पछिपछि दौडन्छिन् । कहिले इन्द्रेणी लागेको पहाडतिर भाग्छिन् । उनले सुसारेलाई हैरान पार्छिन् ।
ज्योतिषका कुरालाई राजाले मनमा लिन्छन् । उनले पुत्रीलाई विशेष खोपीमा हुर्काउँछन् । जहाँ आफूबाहेक अर्को कुनै पनि पुरुष जान वर्जित गरिन्छ । र, सुसारे सबै नारीमात्रै राखिन्छ । उनी बिरामी पर्दा औषधोपचारका लागि आउने वैद्य पनि मुकुन्डो लगाएर आउनुपर्ने आदेश दिइन्छ ।
दिन बित्दै जान्छ । कोपिला जालिनी फूलजस्तै फक्रँदै जान्छिन् । षोडसी जालिनीको बैंसको वासनासँगै रहरहरू पनि फैलन थाल्छन् । उडेको बादल, बगेको नदी, ताल, पहाड, हिमाल हेर्न मन गर्छिन् उनी । कहिले दरबारकै बगैँचामा उडेको पुतलीको पछिपछि दौडन्छिन् । कहिले इन्द्रेणी लागेको पहाडतिर भाग्छिन् । उनले सुसारेलाई हैरान पार्छिन् ।
यसो गर्दा कतै जालिनीले कुनै अर्को पुरुषको अनुहार हेर्न पुग्ने हुन् कि ? राजाको शान्ति र चयन खलबलिन्छ । उनी अनेक तर्कना गर्छन् । निधोमा पुग्छन्, पुत्रीका लागि एउटा भव्य दरबार बनाउने । जहाँ पुत्री सदा खुसी रहून् । त्यहीँ रमाएर बाहिर कतै निस्कन मन नगरून् । ताकि, उनले अर्को कुनै पुरुषलाई देख्नै नपरोस् ।
राजाले ‘जालिनी दरबार’ बनाउने भए । त्यसका निम्ति देशभरिका प्रत्येक घरधुरीले सहायता गर्नुपर्ने भयो ।
प्रत्येक घरधुरीबाट एकजना महिला वा पुरुष दरबार बनाउने काममा आउनैपर्ने प्रमांगी भयो । एैँचो–पैँचो, ऋण–धन गरेर भए पनि प्रत्येक घरधुरीले केही अन्न वा मोहर राजदरबारमा बुझाउनैपर्ने उर्दी गरियो ।
राजाको हुकुमबमोजिम काम सुरु भयो । यता, जालिनी जवानीले लोलाउँदै थिइन् । उता, दरबार दिन प्रतिदिन ठडिँदै थियो । त्यति नै बेला त्यहीँ काम गरिरहेकी एउटी नारीले राजाको विरोध गरिन् । रिसले आगो भएर बर्बराउन थालिन्, ‘यो राजा शोषक हो, पापी हो, असती हो । यसले गरिब प्रजाका रगत र पसिनामा रजाइँ गर्दै छ । ए, राजा † म तेरो दास भएर अब एकछिन पनि बस्न सक्दिनँ । म मुक्ति चाहन्छु । बरु मारिदे मलाई, म तेरो खटनपटन मान्दिनँ ।’
उनी भयानक रूप धारण गरेकी कुनै देवीजस्ती देखिन्थिन् । त्यहाँ काम गरिरहेका कतिले त उनको त्यो रूपलाई साष्टांग दण्डवत गरे । उनीहरूले कल्पनासम्म गरेका थिएनन्, त्यहाँ यसरी राजाको विरोध गर्न सक्ने कोही जन्मेको होला भन्ने ।
‘कुनै जलजला नाम गरेकी नारीले महाराजको चर्को विरोध गरेकी छे ।’
कुरा राजाको कानसम्म पुग्यो । आफ्नोविरुद्ध यति ठूलो आवाज उठाउने नारी को हो ? राजालाई हेर्ने इच्छा हुन्छ । उनी आफैँ दरबार निर्माण भइरहेको ठाउँमा जान्छन् ।
त्यहाँ काम गर्नेहरू सबै दीनदुःखी र झुत्रेझाम्रे देखिन्थे । उनीहरूको अनुहारमा कुनै कान्ति थिएन । उनीहरू वर्षौंदेखि गरिबी र शोषणमा बाँचेका जस्ता देखिन्थे । आफ्ना दुःखी प्रजा देखेर राजा पनि दुःखी भए । आफू कुन कामका लागि आएको हुँ भन्ने नै बिर्से ।
‘के मेरा प्रजा यति दुःखी छन् ?’ भावुक हुँदै राजाले आफैँलाई प्रश्न गरे ।
‘हो, महाराज † हजुरका प्रजा यस्तै दुःखी छन् । के महाराजले कहिल्यै आफ्ना प्रजा कसरी बाँचेका होलान् भनी चिन्ता गरिबक्सेको छ ? महाराज त दरबारको सुख–सयलमा बसिबक्सन्छ । तर, महाराजका प्रजालाई साँझ–बिहान चुलोमा दाउरा जोर्न कठिन छ †’ त्यही बेला एक भद्र देखिने मानिस विनम्रता र विश्वासपूर्वक बोले । ती भद्र मानिसको कुरामा त्यहाँ काम गर्ने सबैले ताली बजाए ।
‘को हौ तिमी ? तिम्रो नाम के हो ?’ राजाले सोधे ।
‘म जनताको छोरो हुँ । मेरो नाम प्रजातन्त्र हो । देशभक्ति नै मेरो काम हो,’ ती भद्र मानिसले निर्भयतापूर्वक जवाफ दिए ।
यो मानिस विश्वासिलो, विनम्रसाथै देशभक्त पनि देखिन्छ । यस्तो मानिस त मेरो मन्त्री हुनुपर्छ । यही सोचेर राजाले भने, ‘म तिमीलाई प्रधानमन्त्री बनाउँछु । के तिमीले मेरा प्रजालाई सुखी र सम्पन्न बनाउन सक्छौ ?
‘सक्छु महाराज । यस्तो अवसर पाउनु मेरो सौभाग्य हो । यो देशको मुहार फेर्न म मन, वचन र कर्मले कटिबद्ध हुनेछु । नैतिकता र इमानदारीपूर्वक कर्म गर्नेछु । सबै प्रजाको हितमा काम गर्नेछु,’ प्रजातन्त्र दृढतापूर्वक बोले ।
राजाले अरू केही नभनी प्रजातन्त्रलाई तत्कालै प्रधानमन्त्री घोषणा गरे ।
प्रधानमन्त्री भएको पहिलो दिन, पहिलो काम— प्रजातन्त्रले आफ्नो निवास र अड्डाका भित्तामा कोदाली खनिरहेको किसानको चित्र राखे । र, मन्त्रीहरूलाई पनि यस्तै निर्देशन दिए ।
यसअघि दरबारका भित्ता राजा–महाराजाका चित्र र मूर्तिले भरिएका हुन्थे । त्यहाँ कोदाली खनिरहेका किसानले पनि स्थान पाए ।
प्रधानमन्त्रीको यो कार्य एकान, दोकान, मैदान हुँदै दिनभरमा देशैभरि फैलियो । देशका सारा कोदाली खनेर बाँच्नेहरू प्रधानमन्त्रीप्रति आभारी भए ।
भोलिपल्ट बिहानै प्रधानमन्त्रीले राजालाई दरबार निर्माण भइरहेको स्थानमा लिएर गए । परैबाट लुकेर दुवैले काम गरिरहेका मानिसलाई नियाले । त्यहाँ काम गर्नेहरू पहिलेजस्तो दुःखी थिएनन् । अवस्था फेरिएको थियो । कोदाली खनिरहेको किसानको चित्र प्रधानमन्त्री बस्ने खोपीमा राखिएको कुराले सबै खुसी थिए । राजाले त्यहाँ सबैको अनुहारमा खुसी र उमंग देखे । सबैले हाँसीखुसी काम गरिरहेका थिए । आफ्ना प्रजाको खुसीमा राजा पनि खुसी भए ।
तर, उनको खुसी धेरैबेर टिकेन । जब उनीहरू काम गरिरहेका मानिसका बीचमा गए, त्यहाँ काम गर्ने साराले प्रधानमन्त्रीको स्वागत र सम्मानमा अघि सरे । त्यहाँ प्रधानमन्त्रीकै मात्र गुणगान गाइयो, सम्मान दिइयो । कसैले खाली हात जोडे, कसैले फूल चढाए । कोही त पाउ नै परे । राजालाई कसैले वास्तै गरेनन् ।
आफ्नो ठाउँ अर्कैले लिँदै छ— राजाको मनमा चिसो पस्यो । उनले मनमा नानाथरी कुरा खेलाए । यसअघि आफ्नोविरुद्ध आवाज उठाउने नारीलाई सम्झे । सोचे, ‘फेरि त्यो नारीले त्यसो गरी र कुरो पुत्री जालिनीको कानमा पुग्यो भने त बर्बाद हुन्छ । म पुत्रीको नजरबाट पतित हुनेछु । यसो हुनु कदापि हुँदैन ।’
त्यस स्त्रीलाई तत्काल पक्रेर ल्याउन राजाबाट हुकुम भयो । कुनै ढिला नगरी हुकुमको पालना गरियो ।
‘हे दुष्ट स्त्री † म तँलाई मृत्युदण्ड दिँदै छु । तेरो अन्तिम इच्छा के छ ?’ राजाले त्यस स्त्रीलाई सोधे ।
– महाराज † हजुरको दरबारका सबै दासलाई मुक्त गरिबक्सियोस् । मेरो अन्तिम इच्छा यही छ ।
– अरूका लागि प्रार्थना नगर् । आफ्नो इच्छा बता । तँसँग धेरै समय छैन ।
– त्यसो हो भने, मैले अहिलेसम्म कुनै व्यक्तिगत इच्छा पालेकी छैन । मलाई समय दिइयोस् । म भोलि घाम नउदाउँदै आफ्नो इच्छा बताउन आउनेछु ।
राजाले ती नारीलाई समय दिए ।
राति जालिनीले डरलाग्दो सपना देखिन् । उज्यालो नहुँदै उनले पितालाई सपनाबारे बताइन् ।
‘पिताहजुर ! सपनामा हजुरले कसैलाई मृत्युदण्ड दिन लाग्दै हुनुहुन्थ्यो । तर, मृत्युदण्ड पाउने व्यक्ति कालो कपडाले पूरै शरीर छोपेर आएको थियो । उसको अन्तिम इच्छा थियो— मर्ने बेला आफ्नो अनुहार र शरीरमा कसैले नहेरोस्, कालो कपडाले छोपिएकै अवस्थामा मारियोस् र त्यत्तिकै गाडियोस् । मलाई उसको अनुहार हेर्ने इच्छा भयो । तर, हजुरले दिनुभएन । हजुरले उसको अन्तिम इच्छा पूरा गरिदिने वाचा गर्नुभएको रहेछ । तर, मैले एकपल्ट उसको अनुहार हेर्न जिद्धी गर्दै थिएँ, यत्तिकैमा सपनाबाट बिउँझिएँ । म यो सपनालाई विपनामा पूरा गर्न चाहन्छु । बरु मेरो सपनाजस्तै नाटक देखाइयोस् । म त्यो घुम्टो खोल्ने पात्रको भूमिका निभाउँछु ।’
यसअघि जालिनीले दरबारकै नाचघरमा थुप्रै नाटक हेरेकी थिइन् । तर, उनले हेर्ने नाटकका पुरुष पात्रले मुकुण्डो लगाएका वा अनुहार रंगाएका हुन्थे ।
राजाले मुसुक्क हाँसेर भने, ‘यति जाबो कुरामा चिन्ता नगर । आजको घाम नडुब्दै तिम्रो इच्छा पूरा हुनेछ ।’
आफ्नो अन्तिम इच्छासहित जलजला हाजिर भइन् । भनिन्, ‘महाराज ! भरे घाम अस्ताउँदै गर्दा म कालो कपडाले पूरै शरीर छोपेर वधशाला आउनेछु । शरीर छोपिएकै अवस्थामा मलाई मारियोस् । र, त्यत्तिकै गाडियोस् । मर्ने बेला र मरिसकेपछि पनि मेरो शरीरलाई कसैले नहेरोस्, यही नै मेरो अन्तिम इच्छा भयो ।’
पिता–पुत्रीबीच यति कुरा भइसक्दा घाम उदाउने बेला हुन्छ ।
यता, आफ्नो अन्तिम इच्छासहित जलजला हाजिर भइन् । भनिन्, ‘महाराज ! भरे घाम अस्ताउँदै गर्दा म कालो कपडाले पूरै शरीर छोपेर वधशाला आउनेछु । शरीर छोपिएकै अवस्थामा मलाई मारियोस् । र, त्यत्तिकै गाडियोस् । मर्ने बेला र मरिसकेपछि पनि मेरो शरीरलाई कसैले नहेरोस्, यही नै मेरो अन्तिम इच्छा भयो ।’
राजाले उनको अन्तिम इच्छा पूरा गरिदिने भए ।
कस्तो संयोग ! राजाले पुत्रीको सपनाबारे सोच्न थाले । यो केको लक्षण हो ? शुभ हो कि अशुभ ? यसले के कुराको संकेत गर्दै छ ? खोपीमा बसेर सोच्दासोच्दै राजाले दिन बितेको पत्तै पाएनन् । उनले आफ्ना ज्योतिषसँग कुनै सल्लाह लिन पनि भ्याएनन् ।
घाम अस्ताउनुअघि नै जलजला कालो कपडाले मुख छोपेर वधशाला आइपुगिन् । घाम अस्ताउँदै गर्दा उनलाई मृत्युदण्ड दिनु थियो । राजाले पुत्रीको सपनाबारे सोचेर समय खेर फाल्न चाहेनन् । राजा आफ्नो वचन र निर्णयबाट पछि हट्दैन, यही सोचेर उनले जलजलालाई मृत्युदण्ड दिने नै भए ।
ठीक त्यति नै बेला असिनपसिन हुँदै राजकुमारी जालिनी आइपुगिन् । जालिनी आएपछि त्यहाँका सारा सिपाहीले शिर झुकाए । जालिनी अँध्यारो मुख लगाउँदै बोलिन्, ‘पिताहजुर † घाम नअस्ताउँदै मेरो अधुरो सपनालाई विपनामा पूरा गरिदिन्छु भन्नुभएको थियो नि !’
यसो भनेर उनले वरपर हेरिन् । नजिकै कोही कालो कपडाले पूरै शरीर छोपेर उभिएको देखिन् । फेरि खुसी हुँदै भनिन्, ‘धन्यवाद पिताहजुर, अब म उसको अनुहार हेर्छु ।’
राजा केही बोल्नै भ्याएका थिएनन् । तर, जालिनीले त्यो कालो कपडा हटाउन भ्याइन् । एक नौजवानले राजकुमारी जालिनीलाई ठाडो शिर लगाएर हेर्छ । कालो कपडाले शरीर छोपिएको व्यक्ति पुरुष थियो । उसको अनुहारमा कुनै चिन्ता नामको रेखा थिएन । भर्खरै युद्ध गरेर जितेको भूमिलाई एउटा सेनापतिले हेरेजस्तै उसले राजकुमारी जालिनीलाई हेरिरहन्छ ।
यति ठूलो धोका !
‘को होस् तँ ? तैँले मसँग कुन जन्मको बदला लिँदै छस् ?’ राजाले सोध्छन्
– मेरो नाम जयन हो । म जलजलापुत्र हुँ । जसलाई तिमीले मृत्युदण्ड दिन खोज्दै छौ, ती मेरी आमा हुन् । आमाको रक्षा गर्नु नै सन्तानको धर्म हो । म मेरी आमाको रक्षाका लागि मात्र यहाँ आएको हँु । तिमीसँग मलाई कुनै बदला लिनु छैन । बरु तिमी नै भन, मेरी आमासँग कुन जन्मको बदला लिँदै छौ ?
० मैले तेरी आमासँग कुनै बदला लिँदै छैन । उसले मेरो विरोध गरी । आफ्ना विरोधीलाई दण्ड वा माफ दिनु एउटा राजाको धर्म हो ।
– के प्रजा सधैँ राजाको दासजस्तै भएर बस्नुपर्छ ? राजाको जस्तोसुकै हुकुम सहनुपर्छ ? प्रजाका कुनै सपना हुँदैनन् ?
० मेरो दरबारको प्रत्येक भित्तामा कोदाली खनिरहेका किसानका चित्र छन् । मेरो चाहना कोदाली खनिरहेका किसानलाई खुसी पार्नु हो । ती मेरा असली प्रजा हुन् । मैले कुनै पनि प्रजालाई दासको रूपमा राखेको छैन । विकास निर्माणमा प्रजाको सहयोग चाहिन्छ नै । मैले प्रजाको सहयोग लिँदा तेरी आमाले विरोध गर्नुपर्ने किन ?
राजाले पुत्री जालिनीलाई आफू असल राजा भएको प्रमाणित गर्न चाहन्थे । तर, राजाको कुरा सुनेपछि जयन चर्को हाँसो हाँस्छ र भन्न थाल्छ, ‘तिमी जुन कोदाली खनिरहेका किसानका कुरा गर्दै छौ, ती किसान होइनन् । ती त हली, कमैया, निमुखा, निमेकी तथा भूमिहीनहरू हुन् । तिमीले त किसानको नाममा साहु–सामन्तको सेवा गर्दै छौ । गरिब र निमुखा प्रजामा तिम्रो दृष्टि पुगेकै छैन । तिम्रो ‘जालिनी दरबार’ बनाउन खटिने सबै गरिब–निमुखा नै हुन् । साहु–सामन्तका नोकर हुन् । र, सारा गरिब–निमुखालाई दास बनाउने मूल जग तिमी नै हौ । एक दिन यी गरिब–निमुखाले अवश्य नै आवाज उठाउनेछन्, तिमी र तिम्रा सहयोगीको पतन सुरु हुनेछ ।’
– यो राज्य मेरा पूर्खाको रगतले बनेको हो । राज्य तरबारको धारबाट जन्मन्छ ।
– हो, राज्य तरबारको धारबाटै जन्मछ । अर्को कुरा पनि नभुल, राज्य बनाउन जनताको साथ पनि चाहिन्छ । अझ अर्को कुरा पनि तिम्रो मस्तिष्कमा घुसोस्, राजाको छोरा राजा हुनु र गरिबको छोरा गरिब हुनु एउटै कुरा हो । यो एउटै कुरा पनि परिवर्तन हुन्छ । जसरी न सधैं दिन हुन्छ, न त रात ।
जालिनीले सबै कुरा बुझिन् ।
‘कालो कपडाले शरीर छोपेर आउने युक्ति तिमीलाई कसले दियो ?’ जालिनीले जयनलाई सोधिन् ।
‘मेरी आमालाई अन्तिम इच्छा सोच्नका लागि एक दिनको समय दिइएको थियो । मैले आफ्नी आमालाई कसरी बचाउन सकिन्छ भनेर सोच्दै थिए । सोच्दासोच्दै बिहानीपख निदाउन पुगेँ र सपना देखेँ । सपनामा मेरी आमा कालो कपडाले पूरै शरीर छोपेर मृत्युदण्डको सजाय भोग्न राजदरबार जान्छिन् । उनको अन्तिम इच्छा नै यस्तै थियो— मर्ने बेला र मरेपछि आफ्नो शरीर कसैले नहेरोस् । त्यत्तिकैमा तिमी आइपुग्यौ । र, कालो कपडा हटाएर हे¥यौ । आश्चर्य यो हुन्छ, त्यहाँ आमा नभएर म हुन्छु । र, सपनाबाट बिउँझन्छु ।
मिर्मिरेमा आमाले भनिन्, ‘मेरो कुनै व्यक्तिगत इच्छा छैन । म कुनै इच्छा नभनी मर्छु । छोरा, मेरो चिन्ता नगर्नू । आखिर एक दिन सबैले मर्नुपर्छ ।’ तर, मैले आमालाई त्यसो गर्न दिइनँ । मैले आफ्नो सपनाअनुसार गरेँ,’ जयनले भन्यो ।
० मैले पनि यस्तै सपना देखेकी थिएँ । तर, मैले त्यो घुम्टो हटाएर अनुहार हेर्न पाएकी थिइनँ ।
– यदि तिमीले सपनामा त्यो घुम्टो हटाएको भए पनि आफ्नै पिताको अनुहार देख्नुपथ्र्यो सायद । किनभने, तिमीले आफ्नो पिताबाहेक अन्य कुनै पुरुषको अनुहार देखेकै छैनौ । हे राजकुमारी † मानिसको सपना जीवनभन्दा पर हुँदैन । र, एक दिन तिमीले कुनै परपुरुषको अनुहार हेर्नु नै थियो । यो तिम्रो नैसर्गिक अधिकार हो ।
० ल यो सबै ठीक छ । तर, हामीले एउटै सपना किन देख्यौँ ? अनि, जहाँ मेरो सपनाको अन्त्य भयो, त्यहीँबाट तिमीले अर्थपूर्ण सपना किन देख्याँै ? के तिमीसँग यसको जवाफ छ ?
– जहाँ पुगेर शासक र तिनका शाखा–सन्तानको सपना अन्त्य हुन्छ, त्यहीँबाट नागरिकका सपना सुरु हुन्छन् ।
‘शिर झुका, ठाडो शिर लगाएर राजकुमारीलाई हेर्ने होइन,’ राजाले चर्को स्वर गरे ।
‘मैले जालिनीलाई ठाडो शिर लगाएर हेरिसकेँ । यो शिर काटिएर झरोस् । तर, झुक्दैन,’ जयनले ठाडै शिर गरेर राजालाई जवाफ फर्कायो । र, जालिनीलाई हेरिरह्यो ।
राजाले जयनलाई त्यही मार्न आफ्ना सिपाहीलाई हुकुम दिन्छन् । सारा सिपाहीले एकै तालमा म्यानबाट तरबार झिक्छन् । त्यही बेला जालिनी जयनलाई अंकमाल गर्न पुग्छिन् ।
राजा पुत्रीको इच्छाविरुद्ध जान सक्दैनन् ।
‘पुत्री, तिमी के चाहन्छ्यौ ?’ राजाले सोध्छन् ।
जालिनीको बोली नै हराएको हुन्छ । उनी केही बोल्ने कोसिस गर्छिन् । तर, आवाज निस्कँदैन ।
जालिनीले कलमले कागजमा लेख्छिन्, ‘पिताहजुर, आजदेखि देशका कुनै पनि नागरिकलाई कुनै पनि बहानामा नमारियोस्, यातना नदिइयोस् । जुन नागरिक जहाँ दास, कमैयाको रूपमा छ, शोषण–उत्पीडनमा परेको छ, उसलाई आजैदेखि मुक्त गरियोस् । भूमिहीन प्रजालाई जमिन दिइयोस् । र, जयनलाई पनि मुक्त गरियोस् ।’
राजाले पुत्रीको लेखेका कुरालाई पूरा गर्ने वचन दिए ।
तर, राजालाई भित्रैभित्र पोल्न थाल्छ । ‘जालिनी जो बोल्छिन्, त्यो सारा प्रजाको विधि बन्नेछ । जो लेख्छिन्, त्यो विधान बन्नेछ,’ उनले ज्योतिषमण्डलीको भविष्यवाणी सम्झन्छन् ।
‘यो के हुँदै छ । किन मेरी पुत्रीको आवाज बन्द भयो ? अब के हुन्छ ?’ राजाले ज्योतिषमण्डलीलाई सोधे ।
‘राजकुमारी जालिनीले आजसम्म जयनजस्तो वीर र साहसी नौजवानलाई देखेकै थिइनन् । जब उनले जयनका सत्य र साहसी शब्द सुनिन्, उनले त्यसमा पूरै विश्वास गर्न पुगिन् । जब मानिस एकैचोटि सत्यको अगाडि उभिन पुग्छ, केहीबेरलाई उसको वाक्य हराउँछ । अर्को कुरा, जालिनी पहिलो प्रेममा पर्दै छन् । पहिलो प्रेममा पर्दै गरेको मान्छे पनि केहीबेर निःशब्द हुन पुग्छ,’ ज्योतिषमण्डलीले भन्यो ।
‘अब के गर्ने ?’
– यो जयनप्रतिको जालिनीको मोह पनि हो । यसलाई तन्त्रमन्त्रले फुकाउन सकिन्छ । र, मध्यरातमा एउटा कालो–बोको पितृका नाममा बलि चढाउने हो भने, जालिनीको आवाज फिर्ता आउन पनि सक्छ ।
राजाले ज्योतिषमण्डलीका कुरामै धुप हाल्दै, जल चढाउँदै जान्छन् ।
त्यही रात राजाले सपना देखे । सपनामा पितृ आएर भने, ‘तैँले जुन बोकाको बलि दिइस्, त्यो म थिएँ । आफ्ना शाखा–सन्तानको आवाजका लागि बलि हुन पाएँ । म खुसी छु ।’
तर, राजा खुसी हुँदैनन् । किनभने, यता जालिनीको आवाज पनि फिर्ता आउँदैन । उनलाई ठूलो पश्चाताप हुन्छ, अन्जानमै आफ्ना पितृको बलि दिन पुगेकोमा । उनले उज्यालो नहुँदै घोषणा गर्छन्, ‘देशभरिका खसी–बोका मेरा पितृ हुन्, तिनलाई काटमार नगर्नू ।’
यी मासु खान नहुने खसी–बोकालाई के गर्नु ? किसानले खसी–बोकालाई वनमा छाडिदिए । छाडा खसी–बोकाले झनै किसानका बाली खाएर सताउन थाले ।
थोरै पनि सोच्न नसक्ने मूर्ख मानिसबाहेक धर्तीमा काम नलाग्ने अरू केही हुँदैन । किसानले युक्ति निकाले— यिनलाई नारेर जोत्नुपर्छ । किसानले खसी–बोका नारेर खेतबारी जोत्न थाले । दाइँ गर्न थाले । सानो हलो, साना–साना खेतबारीका गरा, अन्नका स–साना बोट— किसानको बाली घट्न थाल्यो । केही वर्षमै देशभरि नै अनिकाल लाग्यो । अनेक महामारी फैलियो । चोरी–डकैती बढ्यो । गरिब बस्तीका मानिसहरू अन्न खान नपाएर भकाभक मर्न थाले ।
यही बेला सुदूर बस्तीका गरिबले खसी–बोका काटेर खाए । खबर राजाको कानसम्म आइपुग्यो ।
‘खसी–बोका खानेजतिलाई तल्लो जात भए । तिनीहरूलाई छुवाछुतको व्यवहार गर्नू । र, जसले सबैभन्दा पहिले खसी–बोका काट्यो, उसलाई पक्रेर ल्याउनू,’ राजाबाट हुकुम भयो ।
राजाबाट बिहान हुकुम भएको थियो, घाम नअस्ताउँदै एक नौजवान राजासामु हाजिर भयो ।
भन्यो, ‘महाराज † मैले नै हो, सबैभन्दा पहिले खसी–बोका खान थालेको ।’ यसो भन्ने नौजवान उही जयन थियो ।
यति नै बेला जालिनी आएर जयनलाई अंकमाल गर्छिन् । र, जयनको अनुहारभरि चुम्न थाल्छिन् । जालिनीलाई सिकाइएको थिएन, आफ्ना पिताको अघि परपुरुषसँग लहसिन लजाउनुपर्छ भन्ने संस्कार ।
‘म यिनीहरूको प्रेमलीला हेर्न चाहन्न, छुटाइदेउ यो मायामोह,’ राजाले ज्योतिषमण्डलीलाई आदेश दिन्छन् ।
‘महाराज, राजकुमारी जालिनी एउटै व्यक्तिसँग दोस्रोपटक पहिलो प्रेममा परेकी छिन् । यस्तो प्रेमलाई कुनै पनि तन्त्रमन्त्रले काट्न सक्दैन,’ ज्योतिषीले भने ।
अब के गर्ने ?
ज्योतिषमण्डलीले युक्ति लगाउँछन् । जयनलाई जालिनीकै हातबाट मार्नुपर्छ । यसो गर्दा उनले कसैलाई नमार्नु भनी लगाएको नियम तोडिनेछ । यसका लागि जयनलाई जालिनी डुल्ने बगैँचामा फलामको बाकसमा राखेर उभ्याइनेछ, शिरमात्रै देखिने गरी । र, केहीपर एउटा धारिलो तरबारको पासो राखिनेछ । जसै जालिनीले पासोको डोरीलाई खुट्टाले छुनेछिन्, तरबार वेगले गएर जयनको शिर काटिनेछ ।
ज्योतिषमण्डलीको युक्तिअनुसार नै काम हुन्छ । तर, बगैँचामा कताबाट एउटा कालो बिरालो डुल्न पुग्छ । जालिनीले बिरालोलाई पछ्याउँदै खेल्छिन् । बिरालोले पासोको डोरीलाई धक्का दिन पुग्छ । जालिनीले नजिकै जयनको शिर ढल्दै गरेको देख्छिन् । त्यति नै वेला उनले आकाशवाणी सुन्छिन्, ‘मैले जालिनीलाई ठाडो शिर लगाएर हेरिसकेँ । यो शिर काटिएर झरोस् । तर, झुक्दैन ।’
यहीबेला उनको आवाज फर्कन्छ । उनले बेसरी चिच्याउँछिन्— जयनऽऽऽ ।
जालिनीले त्यही शिरको चित्र कोर्छिन् । त्यो काटिएको शिरमा घाउ नै घाउ थियो । तर, जालिनीले आफूले पहिलोपटक देखेको परपुरुषको अनुहार उतार्छिन् । पिताबाहेक उनले पहिलोपटक देखेको पुरुष जयन नै थियो । चित्रमा त्यो साहसी, धैर्यवान् र चम्किलो अनुहार संग्लो र स्थिर पानीमा उत्रेको विम्बजस्तै देखिन्छ । जसलाई उनले दरबार पस्ने मूलद्वारमा राख्छिन् । चित्रलाई द्वारमा राख्नेबित्तिकै कता–कताबाट धेरै मानिस आएर फूल बर्साउँछन् ।
००
केही दिनपछि जालिनी सुदूरबस्तीको भ्रमणमा निस्कन्छिन् । उनी रथ चढेर गाउँगाउँ डुल्दै थिइन् । उनको पछाडि हात्ती घोडामा चढेका सिपाहीले सुरक्षा दिएका थिए । जालिनीले खेतमा कोदालीले खनिरहेका किसान देखिन् । उनले नजिक गएर नियालिन् । एउटा अनुहार खुल्छ, जो जयनजस्तै देखिन्छ ।
आफ्नै आँखाअघि शिर काटिएको जयन कसरी जिउँदो हुन सक्छ ? जालिनी सत्यको खोजमा लाग्छिन् । उनले दरबार फर्केर जयनको आमालाई पक्रेर ल्याउन आदेश दिन्छिन् । राजकुमारीको आदेश भुइँमा खस्ने कुरै भएन ।
जयनकी आमा जलजलालाई पक्रेर ल्याइन्छ ।
‘तिम्रो पुत्र जयन कहाँ छ ?’ जालिनीले सोधिन् ।
जलजलाले यहाँ छ भन्दै छातीमा हात राखिन् ।
‘उसो भए ठीक छ, तिम्रो अन्तिम इच्छाबमोजिम नै तिमीलाई मृत्युदण्ड दिइनेछ,’ जालिनीले भनिन् ।
जालिनीको आदेशअनुसार नै काम हुन्छ ।
भोलिपल्ट, घाम अस्ताउने बेला । कालो कपडाले पूरै शरीर छोपेर वधशालामा मृत्युदण्डका लागि एउटी नारी उभिन्छे । वरपर राजा र राजाका सिपाही हुन्छन् ।
त्यही बेला जयन आएर भन्छ, ‘पख, एकपल्ट म यो घुम्टो हटाएर हेर्छु ।’
राजाले मान्दैनन् ।
वरपरबाट आवाज आउँछ, ‘हाम्री आमालाई मुक्त गर् । हाम्री आमा जलजला, प्राणभन्दा प्यारी छिन् ।’
जब जयनकी आमा जलजलालाई मृत्युदण्ड दिइँदै छ भन्ने थाहा पाए, जनताले वधशालालाई चारैतिरबाट घेरिसकेका थिए ।
‘यो भीडलाई हटाउ,’ राजाले आफ्ना सेनालाई आदेश दिन्छन् ।
‘महाराज, धेरै मूर्ख नबनिबक्सियोस् । जनताको बाढी पानीको बाढीभन्दा खतरनाक हुन्छ, जो उकालो चढ्न सक्छ । र, कुनै गुमराहमा जमेर बस्दैन । यो घुम्टो हटाएर हेर । यसअघिको उदाहरण बिस्र्यौ ? कतै यसभित्र तिम्रै रगत पनि हुन सक्छ,’ जयनले भन्यो ।
राजाले हतार–हतार घुम्टो हटाएर हेर्छन् त पुत्री जालिनीलाई पो देख्छन् ।
‘जयन, तिमी आउँछौँ भन्ने मलाई विश्वास थियो,’ जालिनी बोलिन् ।
बगैँचामा पासोमा पारेर मारिने जयनका सहोदर भाइ थिए । जयनकै हत्या गर्दा जालिनीलाई ठूलै चोट पर्न सक्छ । र, नसोचेको दुर्घटना पनि निम्तिन सक्छ— ज्योतिषमण्डलीले चलाखीले काम गरेका थिए ।
‘जालिनी, के गरेको ? यदि म आउन ढिला भएको भए, अहिले तिम्रो ज्यान जाने थियो,’ जयन अत्तालिँदै बोल्छ ।
जालिनी मुसुक्क हाँस्दै भन्छिन्, ‘तिमीलाई मेरो माया लाग्छ र ? मैले त्यस्तो केही गरेकी छैन । म त तिम्रै सपनाको बाटोमा हिँडेकी मात्र हुँ । जयन, म तिमीलाई पछ्याएर थाकिसकेँ । तिमी यति धेरै अघि नबढ । मलाई पनि सँगसँगै हिँडाऊ । हो, आज तिमी नआएको भए अहिले म मरिसकेकी हुन्थेँ ।’
राजाले पुत्रीलाई अंकमाल गर्छन् । ‘मलाई पनि आफ्ना सन्तान, पुर्खा, प्रजा र देशको माया छ । पुत्री, तिमीलाई केही नहोस्,’ राजाले जालिनीको हात जयनलाई थम्याइदिँदै भने, ‘मेरो राजकाज तिमीहरूलाई सुम्पन्छु । तिमीहरू नै यसका लागि योग्य छौ । सबै प्रजालाई खुसी तुल्याएर राजकाज चलाउनू