कविता : जिन्दगी

~भिम बहादुर थापा~Bhim Bahadur Thapa

यसको
कारण होइन म
कारक होइनौ तिमी,
यसको
म ज्ञाता होइन
तिमी विज्ञ छैनौ,
जहाँ-
म जिम्मेवार छैन भने
तिमी दोषी होइनौ भने,
बिन्दास बाँच
यो अविरल जिन्दगी
बित्न देऊ
यो अविराम जिन्दगी
व्यर्थ-
चिन्तन भरेर यो फेरिंदैन
बेचैनी बोकेर यो रोकिंदैन।
**
यसको
भाव-भङ्गी म बुझ्दिन
कुण्डली तिमी छाम्दैनौ,
यसको
म व्याख्याता होइन
तिमी विधाता होइनौ,
जहाँ-
म आफै अनभिज्ञ छु भने
तिमी आफै बेखबर छौ भने,
छिप्पिन देऊ
यो रहस्य जिन्दगी
बुत्तिन देऊ
यो अनौठो जिन्दगी
निस्सार-
भावुक बनेर यो फर्किंदैन
आँसु रोपेर यो सप्रिंदैन।
**
यसको
दिनचर्या म बुझ्दिन
ऐश्वर्य तिमी जान्दैनौ,
यसको
म लगाम बोक्दिन
तिमी सौर्य रोक्दैनौ,
जहाँ-
मैले रोजेको स्वार्थ नभए
तिमीले रोएको अर्थ नरहे,
सम्झिदेऊ
यो रसिलो जिन्दगी
केवल, भोगिदेऊ
यो सदाबहार जिन्दगी
फगत-
रोजेर यो सँच्चिदैन
रोएर यो सप्रिंदैन।
** **

भिम बहादुर थापा
वासिङ्टन, अमेरिका।

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.