~घनश्याम पथिक~
सप्तमीको दिन
अक्षता र फूलपाती
घर भित्र्याएर
देवीको थानमा चढाउँदै गर्दा
आकाश रुन थाल्यो
सम्झेँ- दशैँ दशा त बन्दै छैन!
र तिम्रो समाचार पढेँ
-सुनसान बन्दै राजाधानी।
संस्कार हो, आस्था हो
विचार हो, स्वतन्त्रता हो
मन पर्न सक्छ, मन नपर्न सक्छ
अष्टमीको दिनमा
आमाको इच्छा र बाको भक्तिमा
साढे सत्ताइस केजीको खसी ढल्यो।
देवी, काली, चण्डी प्रसन्न
म प्रसन्न, उनी प्रसन्न
भाइ प्रसन्न, भतिज प्रसन्न
सबै कुल देवी-देवता प्रसन्न
तर आकाश रोइरहेको छ बेलाबेला
सोचेँ- दशैँ दशा त बन्दै छैन?
र तिम्रो समाचार पढेँ
-बाइस लाखले छोडे काठमाडौँ।
केही पिस सेकुवासँगै टोनेला छ सिक्वेन्समा म्यारिज पर्ने सम्भावना छ
मन रमाइलो, धन घमाइलो
घर उज्यालो, शहर उज्यालो
पिङ मच्चिँदै छ, डाइस उफ्रँदै छ
तर आकाश रुन छोडेन
विचारेँ
-दशैँ दशा त बन्दै छैन?
र तिम्रो समाचार पढेँ
-पूर्व राजाले शाही शैलीमै टीका लगाइदिए प्रधानमन्त्रीले दशै मानेनन्
अझै सुनसान छ काठमाडौँ।
‘प्रकृतिले किन साइत हेर्दैन बा?’
बाका आँखा भरिएर आए
जसरी कन्काई माई भरिँदै छ दशैँमा
क्वाँ-क्वाँ रोइरहे बा
टीकाको भोलिपल्ट
आकाशले दशैँ मान्दिनँ नै भन्यो, भनिरह्यो
माईले बलिको बोको झैँ ढाल्यो हाम्रो घर सडकमा परिवार, छानो आकाशको
झरीमा परिवार, पाल आकाशको
हो, यसपालि साँच्चै दशैँ आयो
मैले केही सोचिनँ
र फेरि पढेँ तिम्रो समाचार
-काठमाडौँमा चहलपल सुरु।