~त्रिभुवनचन्द्र वाग्ले~
जग्गेमा माडघुम्न बस्दा
गतरातको बासी सितन
झुसिलो डकार डुक्रन्छ सगर्व
हिजो रात भट्टीमा
सितन थप्ने साहुनीलाई भनेको थिएँ–
“तिम्रो सितन क्या चाम्रो !
मध्यरातसम्म पनि चुरोटको धुँवा
उडाएको छु तिम्रो सितनको मोहमा”
र जग्गियामा डुक्रिएको छ त्यो सितन
जग्गे भट्टीझैं धुवाँएको छ
आखिर जग्गे पनि बेहोस साँझ जन्माउने भट्टी न हो
होमनको भेषमा धुँवाको साधु !
खुबसँग चपाइरहेकोछु भट्टी–सितन
म¥याम मर्याम, चर्याम चर्याम
यो जग्गे असम्मत भट्टी
भट्टी सम्मत जग्गे !
हुन् त आखिर दुबै मान्छेको हाट !
मान्छेको बजार !!
भट्टी टेबुलमा रक्सी थप्दैथप्दै
मद बेच्ने साहुनीको व्यापारमा
क्या जादु हो चाम्रा सेकुवाको
मांस–जादुले कति उन्नत हो उसको व्यापार
ल्यारल्यार्ती थलथले चम्चाबाट चुहिए
जग्गेको स्वयंवरमा थलथले उधिन्ने
चम्चाको पारखमा
ए ! मलाई सितन बेच्ने साहुनी
तिम्रो चाम्रो सितन
मेरा जग्गियामा होमन गर न
म तिम्रो पीरो झैं उष्ण
मद झै मस्त सितन वरण गर्न चाहन्छु
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )