~भिमसेन थापा मगर~
वसन्त रितु
कलकलाउदो पालुवा
फुल्नै लाग्दा
आगन माथि डिलका,
सुन्तलाको कोपिला
रातभरीको असिनाले
म हिंड्ने बिहान
आगनभरी झरेको देख्दा
मन मनै भनेको थिए
बिचरा कोपिलामै झर्यो ।
अनी बढ्यो पाइला तिनै कोपिला माथि…
गृष्म मा फक्रिएर
आकार लिदै गर्दा
कती झरे, कती अडे
जती अडे, म पुग्दा बर्षा मा
झपक्क नुहुँदै थिए आगनमा
फेरी उस्तै
रातभरीको असिनाले
म हिंड्ने बिहान
आगनभरी झरेको देख्दा
टपक्क टिपी, नियाल्दै
‘बाख्रा ले खान्छ’
मन मनै भनेको थिए
बिचरा पाक्न नपाई झरेछ
अनी बढ्यो पाइला उसैगरी ।
बसन्त , गृष्म, बर्षा पार गर्दै
फक्रिएछ जवानी
म पुग्दा, सरदमा
झपक्कै नुहेछ
आहा
म हिंड्ने बिहान्
झारिएछ उसैगरी
जसरी झार्थ्यो असिनाले
त्यो पल
मन मनै भनेको थिए –
आहा आजको तिर्खा मेटाउछ ।
हेमन्त , शिशिरमा म पुग्दा
न थियो पालुवा
न थियो कोपिला
न थियो नै फल
बस
झुन्डिएको थियो
हजुरामाले मकै भुट्ने हाडी…
आमा भन्दै हुनुहुन्थ्यो
‘एक दुई छाक भात् पाक्छ’
त्यो पल सम्झिए
मैले कुल्चिएको कोपिला
मैले भनेको बिचरा
मैले भनेको बाख्रा को आहार
मैले मेटाएको तिर्खा ,
उसैगरी म हिंड्ने बिहान्
सुकेको त्यो रुख हेर्दै
मन मनै भने
जिन्दगी झर्नु त रैछ
त र म मा के फरक ?
बस
नियलि रहेछु आफ्नै जिबन ।
– भोजपुर
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )