~भेषराज रिजाल~
कोरा कागजको अभिलेख छ जिन्सी श्रेस्तामा दाखिला छ
बिना दाखिला यो जिन्दगी कसिङ्गरमा मिल्किरहेछ
डेबिट क्रेडिटमा सन्तुलित भई हरहिसाबको मूल्य छ
बिना मूल्यको सस्तो जिन्दगी मिन्हासरि भइरहेछ ।
करोडौँ अरबौँ हिनामिनाको अडिट रिपोर्टमा बेरुजु छ
जीवनकै दुरुपयोग मुटुका घाउको खोई कहिँ कतै सुझाव छ ?
कार्यादेश छ अनेकौँ खर्चको बिल भुक्तानी भइरहेछ
बिना लेनदेन मर्नु, बाँच्नु, हाँस्नु, रुनु अर्थहीन छ ?
दृष्टि रत्नको हेलत्व छ ढुंगे रत्नको खोजी भइरहेछ
आफै विरुद्धका ऐन नियममा मान्छे स्वयं बल्झिरहेछ
धनमाल दिएको भरपाई लकरमा सुरक्षित छ
बिना मूल्यको तन मन दोबाटोमै फालिएको छ ।
खरिद आदेश भर्थेँ कतै मनका घाउको मल्हम पाइए
नत्र दिन्थेँ हस्तान्तरण गरी यी व्यथा कुनै कथालाई चाहिन्छ ?
कसले गर्ला लेखापरीक्षण जिन्दगीका श्रेस्ताहरुको
परिषद् बोलाई भनिदिन्थेँ हिसाब किताब दुरुस्त छ .
कर्मचारी मिलन केन्द्र, म्याग्दीबाट प्रकाशित पुष्पाञ्जली, वर्ष १७, अंक ११, २०५७ मा प्रकाशित
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )